+
+

लागूऔषध तस्करीका अनेक शैली : कहिले ग्रिजको बाल्टी, कहिले तेलको ग्यालिन !

ललितपुर प्रहरीले समात्यो ११ लाख बराबरको लागूऔषध

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते १८:४३

१७ साउन, काठमाडौं । लागूऔषध कारोबारीले आफ्नो धन्दा चलाउन नयाँ–नयाँ शैली प्रयोग गर्न थालेका छन् । कहिले ग्रिजको बाल्टिनमा त कहिले तेलको ग्यालिनमा लुकाएर लागूऔषध तस्करी हुने गरेको भेटिएको हो ।

ललितपुर प्रहरी परिसरले बिहीबार शिलबन्दी गरिएको तेलको ग्यालिनमा लुकाएर ल्याएको ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेसँगै तस्करीको यो शैलीको पर्दाफास भएको हो ।

परिसरका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालका अनुसार लागूऔषध कारोबार गरिरहेको अवस्थामा कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञ्ज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नियन्त्रित लागूऔषध डाइजेल्याब एम्पल ७७८ पिस, नुफिन एम्पल ७७८ पिस, फेरागन ७७८ पिस गरी जम्मा २३ सय ३४ पिस लागूऔषध बरामद भएको छ ।

बरामद लागूऔषधको बजार मूल्य ११ लाख ६७ हजार रहेको छ ।

‘उनीहरुले वीरगञ्जबाट होलसेलमा ल्याउँदा एक सेटको ५ सय रुपैयाँमा ल्याएका रहेछन्’, खनालले भने, ‘तर, यहाँ १५ सय रुपैयाँ प्रतिसेटमा विक्री हुने गरेको उनीहरुले बयान दिएका छन् ।’

कीर्तिपुरका मानन्धर ललितपुर–४, अफलडोलमा शंकास्पद अवस्थामा समातिएपछि कारोबारीको थप नेक्सस खुलेको थियो ।

परिसरका प्रमुख एसएसपी गणेश ऐनले आफूहरुले लागूऔषध कारोबारीको डिलरसम्मै पुग्न सफल भएको दाबी गरेका छन् ।

‘हामीले लागूऔषध कारोबारीको डिलरलाई नै समात्न सफल भएका छौं’, ऐनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

यसअघि काठमाडौं प्रहरीले ग्रिजको बाल्टिनमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?