+
+

मौसमी सूचनाको भर लागेन ? मोबाइल निकाल्नूस्, वैज्ञानिक बन्नूस् !

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ भदौ ७ गते १०:२०

७ भदौ, काठमाडाैं । धेरैले भन्छन् नि, माया र मौसमको भर हुँदैन । हुन पनि हो, कुनै दिन कुनै समय नयाँ बानेश्वर चोकमा मुसलधारे पानीले तपाईँको यात्रा रोक्छ । केही समयपछि पानी हल्का हुन्छ र तपाईँ आफ्ना पाइला अगाडि बढाउनुहुन्छ । बिजुलीबजारको पुल कटेपछिको सडक पूरै सुख्खा देख्दा तपाईँलाई साँच्चै नै मौसम बेइमानी भएकै महसुस हुन्छ ।

बेलुका घर पुगेर रेडियो सुन्नुहोस् त समाचारले “आज काठमाडौँ उपत्यकाभरि पानी पर्‍याे” भन्छ । तपाईँ सोच्नुहुन्छ, “ए बाबा, बबरमहलमा एक थोपा पानी परेको छैन । काठमाडौँ उपत्यकाभरि कसरी पानी पर्छ ?”

जलस्रोत इन्जिनियर राजाराम प्रजापतिका अनुसार काठमाडौँमा वर्षाको ‘पकेट’ सानो तथा साँघुरो भएकाले यस्तो भएको हो । पकेट सानो भए अनुसार काठमाडौँमा वर्षा मापनका लागि धेरैभन्दा धेरै मौसमी स्टेसनहरू राखिनुपर्ने हो । तर जल तथा मौसम विज्ञान विभागले जम्मा २० वटा यस्ता स्टेसनका आधारमा सूचना सङ्कलन गरेर त्यसैलाई समाचारमा प्रसारण गर्दै आएको छ ।

प्रजापतिका अनुसार यस्तो सूचनाले सिङ्गो उपत्यकाको समग्र अवस्थाको सही प्रतिनिधित्व गर्न सक्दैन । “अझ कहिलेकाँहि त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचनाका आधारमा मध्यमाञ्चल विकास क्षेत्रभरि यति मिलिमिटर पानी परेको छ भनेर प्रचार गरिन्छ,” उनी भन्छन्, “त्यसैले यस्ता सूचनालाई सधैँ पत्याइहाल्ने अवस्था छैन ।”

बीसौँ शताब्दीको उत्तरार्धमा संयुक्त राज्य अमेरिकाबाट ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) को अवधारणा सुरु भएको प्रजापतिको भनाइ छ । सामान्य भाषामा भन्नुपर्दा, विभिन्न वैज्ञानिक सिद्धान्तहरूलाई आफ्ना दैनिक जीवनमा प्रयोग गर्नका लागि सर्वसाधारण नागरिकलाई उत्प्रेरित गर्नु नै यस धारणाको चुरो कुरो हो

त्यसो भए के गर्ने त ?

प्रजापतिको सहज जवाफ छ : अब नागरिक नै वैज्ञानिक बन्ने । तर, कसरी ? यसको उत्तरका लागि भने प्रजापति अलिक लामै समय खर्चन्छन् ।

को हुन् नागरिक वैज्ञानिक ?

करिब दुई वर्ष अगाडिदेखि प्रजापति आफ्ना केही साथीहरूसँग मिलेर सर्वसाधारण नागरिकलाई वैज्ञानिक बनाउने अभियानमा जुटेका छन् । त्रिभुवन विश्वविद्यालयको पुल्चोक क्याम्पसबाट स्नातकोत्तर सकेपछि प्रजापति अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित एउटा परियोजनामा सामेल हुन पुगे । त्यसबीचमा उनले ‘नागरिक वैज्ञानिक’को अवधारणासँगै हामी वरिपरिको पानीको मात्राको मापन र पानीका स्रोतको व्यवस्थापनमा यसलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर सिके ।

आफूले सिकेको कुरा व्यवहारमा कार्यान्वयन गर्नका लागि उनले गत वर्ष ‘पानीका लागि स्मार्टफोन नेपाल’ (स्मार्टफोन्स फर वाटर नेपाल) नामको एक गैरनाफामूलक अनुसन्धान संस्था स्थापना गरेका छन् । सर्वसाधारण नागरिकका बीचमा मोबाइल फोनमा उपलब्ध प्रविधिको प्रयाेग गरी देशको जलस्रोत व्यवस्थापनमा योगदान गर्ने उनको कम्पनीको उद्देश्य छ ।

कम्पनीले हाल करिब १५० जना सर्वसाधारणलाई ‘नागरिक वैज्ञानिक’का रूपमा परिचालित गरी आफ्नो अनुसन्धान अगाडि बढाएको छ । यसभन्दा अगाडि नै यस कार्यक्रममा संलग्न हुनेहरूको सङ्ख्या करिब ३५०को हाराहारीमा छ । अधिकांश सहभागीहरू काठमाडौँ उपत्यकाभित्र नै काम गर्दछन् ।

उनीहरूले आफू रहेको स्थान वरिपरि हुने वर्षाको मात्रा मात्र नभई खोलानालाका पानीको स्तर, बहाव गति र भूमिगत पानीको मात्रा लगायतका तथ्यहरू नियमित मापन गरी तिनको अभिलेख राख्ने गरेका छन् ।

त्यसैले त प्रजापति र उनको समूहले गत असार २८ गते भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबारे सरकारभन्दा पहिला सूचना सङ्कलन गर्‍याे । प्रजापति भक्तपुरकै रैथाने भएका कारणले पनि उनको संस्थाका लागि स्वयंसेवी रूपमा सूचना सङकलन गर्ने नागरिक वैज्ञानिकको भक्तपुरमा उल्लेख्य उपस्थिति छ । उनीहरूकै कारण बाढी मापनका लागि जल तथा मौसम विज्ञान विभागले हनुमन्तेमा कुनै उपकरण नै नराखेको अवस्थामा पनि आफूले विश्वसनीय सूचना प्राप्त गरेको उनको दाबी छ ।

सुरुवात कसरी भयो ?

बिसौँ शताब्दीको उत्तरार्धमा संयुक्त राज्य अमेरिकाबाट ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स)को अवधारणा सुरु भएको प्रजापतिको भनाइ छ । सामान्य भाषामा भन्नुपर्दा, विभिन्न वैज्ञानिक सिद्धान्तहरूलाई आफ्ना दैनिक जीवनमा प्रयोग गर्नका लागि सर्वसाधारण नागरिकलाई उत्प्रेरित गर्नु नै यस धारणाको चुरो कुरो हो ।

“म सानो हुँदा कसैले वैज्ञानिकको कुरा गर्दा म सम्झन्थेँ उनीहरूका लामालामा दाह्री होलान् । साँघुरो र अँध्यारो प्रयोगशालामा दिनभरि बसेर विभिन्न रङ्ग, गन्ध र स्वाद भएका रसायनसँग खेल्दा हुन्,” प्रजापति सुनाउँछन् । हुन पनि हो, वैज्ञानिक भन्नासाथ आम सर्वसाधारणभन्दा छुट्टै प्रकारका मानिस भन्ने बुझिन्थ्यो ः न सर्वसाधारण वैज्ञानिक हुन सक्थे, न वैज्ञानिक सर्वसाधारण । “खेलकुद कसैका लागि पेसा त कसैका लागि रुचि हुन सक्छ । तर विज्ञान पनि त्यस्तै हो भनेर हामीले कहिल्यै पनि सोचेनौँ ।”

तर वैज्ञानिकहरू नयाँनयाँ क्षेत्रमा संलग्न हुँदा उनीहरूलाई आफ्ना काममा थप मानिस संलग्न भइदिए अझ सजिलो हुन्थ्यो जस्तो लाग्यो । उदाहरणका लागि, मौसम अनुसार एक ठाउँका चरा अर्का ठाउँमा बसाइ सर्दा तिनको गणनाका लागि थप जनशक्ति आवश्यक पर्‍याे । यो आवश्यकताले नै विज्ञानलाई प्रयोगशालाको अँध्यारो कोठाबाट निकाल्यो र आम जनताका घरआँगन, चोटाकोठासम्म पुर्‍यायो ।

मोबाइल प्रविधिसँग समायोजन

यसै अवधारणाको प्रवद्र्धनका लागि मोबाइल फोनको प्रयोग विश्वभर नै भइरहेको छ । सर्वसाधारणको सहज पहुँचमा भएका विभिन्न वैज्ञानिक प्रविधिमध्ये मोबाइल उन्नत स्तरकै आविष्कार हो । फोटो तथा भिडियो खिच्न अनि अक्षरयुक्त सन्देश लेख्न मिल्ने भएपछि यसको उपयोगिता अझ बढेको छ ।

त्यसैले प्रजापतिको संस्थाले पनि आफ्ना नागरिक वैज्ञानिकलाई सूचना सङ्कलनका लागि मोबाइल प्रविधि प्रयोग गर्न सिकाएको छ ।

संस्थासँग आबद्ध स्वयंसेवीले आफ्ना एन्ड्रोइड मोबाइलमा ‘ओडिके’ (ओपन डाटा किट) नामको एप डाउनलोड गरेर संस्थाको नाम छनोट गरेपछि सूचना पठाउन सकिन्छ ।

यसभन्दा बाहेक सकेसम्म स्थानीय स्तरमा उपलब्ध सामग्रीकै प्रयोग गरिन्छ । उदाहरणका लागि, नागरिक वैज्ञानिकले कोकको बोतल प्रयोग गरेर वर्षा मापक यन्त्र बनाएका छन् ।

अर्थात्, यस कार्यक्रममा सहभागी हुनेका लागि पैसा खर्च गर्न कम्पनी तयार छैन । “उनीहरूलाई खास चाहिने त प्रेरणा मात्र हो । प्रेरणाका लागि पैसाको लेनदेन हुनु आवश्यक नै छैन,” प्रजापति भन्छन्, “मुख्य कुरा जनताले आफू के गर्दै छु र यसले आफू एवं आफ्नो समुदायलाई के फाइदा हुन्छ भन्ने कुरा बुझ्नुपर्‍याे ।”

होइन सरकारसँगको प्रतिस्पर्धा

वर्षा लगायतका मौसमी क्रियाकलापबारे सूचना सङ्कलन गरी थप अध्ययनका लागि प्रयोग गर्ने प्राथमिक जिम्मेवारी सरकारको हो । यसकै लागि भनेर सरकारले जल तथा मौसम विज्ञान विभाग समेत गठन गरेको छ । त्यसो भए नागरिकले चाँहि किन कति पानी परेको छ अनि कत्रो खोलो बगेको छ भनेर नाप्दै हिँड्नुपर्‍याे ? किन कुनै संस्थाले सरकारको काममा हस्तक्षेप गर्नुपर्‍याे ? प्रजापतिले यी प्रश्नको सामना पहिला पनि नगरेका होइनन् ।

तर यी इन्जिनियर के कुरामा स्पष्ट छन् भने उनी सरकारसँगको प्रतिस्पर्धामा छैनन् । आखिर सरकारसँग कुनै निजी कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने कुरा पनि भएन । मात्रा तथा गुणस्तर दुबै हिसाबले सरकारले हाल गरिरहेका काम पर्याप्त नभएकाले आफूले सरकारलाई नै सहयोग गरेको प्रजापतिको दाबी छ ।

माथि उल्लेख गरिएजस्तै राजधानीमै त पर्याप्त मौसमी स्टेसन नभएको अवस्था छ भने राजधानी बाहिरको हालत सजिलै कल्पना गर्न सकिने प्रजापति बताउँछन् । अझ कहिलेकाँहि सूचना सङ्कलनका लागि खटाइएका कर्मचारीले यथार्थमा वर्षा मापन नै नगरी अनुमानका भरमा सूचना पठाएको हुन पनि सक्ने उनको आशङ्का छ । उनको आशङ्का मेटाउने कुनै चित्तबुझ्दो जवाफ छैन किनकि विभागसँग आफूलाई जिल्लाबाट प्राप्त सूचनाको विश्वसनीयता तेस्रो पक्षबाट जाँच्ने कुनै तरिका नै छैन ।

“एकपटक भूमिगत पानीबारे काम गर्ने कुनै सरकारी निकायसँगै अनुसन्धानका सिलसिलामा मेरा प्राध्यापक तराईको एक जिल्ला पुग्नु भएछ” प्रजापति सुनाउँछन्, “त्यस क्रममा उहाँलाई स्थानीय कर्मचारीको तथ्याङ्क नमिलेजस्तो लागेछ । अनि उहाँले ती कर्मचारीलार्ई सूचना सङ्कलन गरिएको इनार देखाइदिन भन्नुभो । तर उनले दिउँसोभरिको प्रयासमा पनि त्यो इनार भेट्टाउन नसकेपछि हामीलाई पनि शङ्का लाग्यो ।”

तर मोबाइल प्रविधिमा सूचना सङ्कलन गरिएको वास्तविक मिति, समय र स्थानको पनि अभिलेख रहने भएकाले कसैले पनि ढाँट्न नसक्ने उनको दाबी छ । यस बाहेक सूचना सङ्कलन गर्ने व्यक्तिले आफ्नो सूचना स्रोतको फोटो पनि खिचेर पठाउनुपर्छ तथा कि सूचनाको पुनर्पुष्टि गर्न सकियोस् ।

उच्च स्तरको सूचना व्यवस्थापनका लागि सहकार्य

कुनै अनुसन्धानशालासँग जत्तिसुकै सही र वास्तविक तथ्याङ्क भए पनि सरकारी निकायसँग भएका सूचनालाई मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिइन्छ । प्रजापतिलाई पनि यो कुरा थाहा नभएको होइन । त्यसैले उनले पनि आफ्ना संस्थाका कार्यक्रमलाई सरकारी निकायसँग जोड्न जत्तिसक्दो प्रयास गरिरहेका छन् ।

“केही सरकारी अधिकारीहरूले स्वीकार गरिसक्नुभएको छ कि हामीले प्रयोग गरेको प्रविधि उहाँहरूको भन्दा राम्रो छ र उहाँहरूले पनि यसलाई अवलम्बन गर्नु आवश्यक छ,” यो कुरा सुनाउँदा प्रजापति मुसुक्क हाँसेका देखिन्छन्, “तर समग्र प्रणालीमै परिवर्तन ल्याउन भने उहाँहरूलाई पनि समस्या छ ।”

सरकारले आफ्ना प्रायः सबै निकायका लागि उपलब्ध गराउने पुँजीगत बजेट बढाउँदै र चालू बजेट घटाउँदै लगेको छ । यसको अर्थ के हो भने जल तथा मौसम विज्ञान विभागले नयाँनयाँ भवन स्थापना गर्न र नयाँ पूर्वाधार विकास गर्न बढी तथा नियमित क्रियाकलाप सञ्चालनका गर्नका लागि कम पैसा पाउँदै आएको छ । अन्य क्षेत्रमा पुँजीगत र चालू खर्चको यो वितरण उपयुक्त देखिए पनि यसले मौसमी सूचना सङ्कलन र प्रशोधनमा संलग्न हुने दक्ष जनशक्तिको तलबभत्तामै पनि प्रभाव पारेको हुनाले जल तथा मौसम विज्ञान विभागका लागि यो बजेट संरचना अनुपयुक्त रहेको प्रजापतिको बुझाइ छ ।

तर पनि जहाँजहाँ जुनजुन तहमा हुन्छ, सरकारसँगको सहकार्यका लागि भने उनको कम्पनीले ढोका खुलै राखेको छ । योजना तर्जुमा तथा कार्यान्वयनका लागि अनुभव आदानप्रदानको सम्बन्ध जल तथा मौसम विज्ञान विभागसँग मात्र नभई काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पनि उत्तिकै राम्रो रहेको प्रजापतिको भनाइ छ । नयाँ संविधान जारी भएपछि स्थानीय सरकारले पनि स्थानीय अर्थ व्यवस्थाको नियन्त्रणमा बलियो हैसियत बनाएकाले अबको आफ्नो ध्यान उनीहरूसँग काम गर्नमा केन्द्रित रहेको प्रजापति बताउँछन् ।

उनको संस्थाले सहकार्य गर्न चाहेको अर्को क्षेत्रमा शैक्षिक संस्थाहरू पर्दछन् । प्राज्ञिक क्षेत्रका विशेषज्ञलाई संलग्न गराउने हो भने हाम्रो देशले भोगेका समस्यामध्ये आधाजसो एकदमै सजिलोसँग समाधान गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । “तर हाम्रोमा भने प्राज्ञिक क्षेत्रलाई सबैतिरबाट छुट्याएर कक्षा कोठाहरू भएको स्कुलका रूपमा मात्र सीमित गरिएको छ,” उनी दुखेसो पोख्छन्, “यसले हामीलाई कतै पुर्‍याउँदैन ।”

प्रजापतिकै विश्वास अनुशरण गर्दै उनको संस्थाले प्राज्ञिक सहकार्यका लागि भक्तपुरको ख्वप इन्जिनियरिङ् कलेजसँग हात बढाएको छ । कलेजका विद्यार्थीलाई आफ्ना अनुसन्धान कार्यक्रममा संलग्न गराउने गरी सम्झौता भइसकेको छ । अन्य शैक्षिक संस्थासँग पनि यस्तै सहकार्यका लागि कुराकानी भइरहेको छ ।

“अबको करिब एकदुई वर्षभित्र हामी र सरकारी एवं शैक्षिक संस्थाबीचको सहकार्य आजको भन्दा बलियो हुनेछ । यसको प्रभाव देख्न सकिने हुनेछ,” प्रजापति आशावादी नै छन् ।

लोकतन्त्रको प्रवर्द्धन

आफूले हाल सञ्चालन गरिरहेको कार्यक्रमले देशको लोकतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको प्रजापतिको दाबी छ । लोकतन्त्रको मर्म भनेको आफ्नो जीवन स्तरमा सुधारका लागि नागरिकलाई आफैँ जिम्मेवार बनाउनु रहेको र आफ्नो कार्यक्रमले ठ्याक्कै यही नै गरिरहेको उनी बताउँछन् ।

विश्वव्यापी तापमान वृद्धि लगायत जलवायु परिवर्तनका विभिन्न असरका कारण हालको मौसमी अवस्था समस्याग्रस्त छ । वातावरणका हरेक पक्षमा यिनको प्रभाव छ । वर्षा मात्र होइन, भूमिगत पानीको बहाव ढाँचामा पनि परिवर्तन आएको छ । यी सबै परिवर्तनलाई सही रूपमा मापन गर्न सकियो भने मात्र तिनको प्रभावकारी समाधान गर्न सकिने प्रजापतिको दाबी छ ।

स्कटल्यान्डका गणितज्ञ लर्ड केल्बिनको भनाइ सम्झँदै प्रजापति भन्छन्, “मापन गर्न नसकिने स्रोतको व्यवस्थापन पनि गर्न सकिँदैन ।” त्यसैले स्थानीय स्रोतको मापनमा स्थानीयबासीको संलग्नता जति प्रभावकारी भयो स्रोत व्यवस्थापन त्यति नै लाभकारी हुने उनी तर्क गर्छन् ।

प्रजापति भन्छन्, “हाम्रो समाजमा त्यस्तो संस्कृतिको विकास होस् कि सबैलाई आफ्नो समुदायप्रति अपनत्व महसुुस होस् र सबैले यसका लागि आआफ्नो स्थानबाट योगदान गरून् ।” तर सहरी समुदायसँग काम गर्दा उनले आफ्नो इच्छाभन्दा विपरीत अवस्थाको सामना गरेका छन् । भन्छन्, “सहरका मान्छेलाई समुदायप्रति जिम्मेवार बनाउनु खुबै गाह्रो छ ।”

अर्कातर्फ लोकतन्त्रमा सङ्ख्याले ठुलो अर्थ राख्छ । बहुमतले अल्पमतमाथि शासन गर्दछ । यस्तो अवस्थामा जुन समस्याको समाधानका लागि सिङ्गो मानव जगत नै लागिपरेको छ, केही दर्जन तथा केही सय मान्छेले तिनको सामना गर्छन् भनेर सोच्नु मूर्खता मात्र हुन्छ । त्यसैले प्रजापतिलाई पनि आफ्नो कार्यक्रममा संलग्न ‘नागरिक वैज्ञानिक’को सानो सङ्ख्या नै सबभन्दा ठुलो चुनौती होजस्तो लागेको छ ।

तर फेरि, हजार माइलको यात्रा पनि एकल पाइलाबाटै त सुरु हुन्छ । जस्तोसुकै परिवर्तनका लागि पनि कोही न कोहीले नेतृत्व त लिनैपर्छ । एक पाइलाले नै सबैलाई परिवर्तनतिर डोर्‍याउने कुरा पुष्टि गर्न प्रजापति फेरि लोकतन्त्रकै कुरा गर्छन् ।

“मतदान गर्न जाँदा हामी के सोच्छौँ ? कहिलेकाहीँ लाग्छ जाबो एक भोटले के पो हुन्छ र ? जुन नेताले जिते पनि मेरो आधारभूत अवस्थामा के परिवर्तन आउँछ र ? तर हामी फेरि सोच्छौँ एकएक मिलेर त सय अनि हजार बन्छ । हजार मतको अन्तरले कुनै नेताले जित्नु त मेरो जीवनको लागि सबभन्दा महत्वूर्ण कुरा पनि हुन सक्छ ।”

“नागरिक वैज्ञानिकको कुरा पनि त्यस्तै हो । एक जना नागरिक वैज्ञानिकले के नै पो गर्न सक्छ र ? तर उनीहरू सय वा हजार भए भने तिनले गर्न नसक्ने के पो छ र ?”

तस्वीरहरू: स्मार्टफोन्स फर वाटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?