Comments Add Comment

सिन्धुपाल्चोकका विद्यालयमा पक्की शौचालय

७ असोज, चौतारा । सिन्धुपाल्चोकमा भूकम्पबाट भत्किएका विद्यालयमा भवनसँगै सुविधायुक्त शौचालय पनि निर्माण हुन थालेका छन् ।

भूकम्पका कारण भत्किएका विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा काम गरिरहेको संस्था जनहित ग्रामिण सेवा समितिले साझेदार संस्था अक्सफामसँग मिलेर यस वर्ष निर्माण सम्पन्न गरेका मध्ये तीनवटा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार सेतीदेवि पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डेमा निर्मित ६ कोठे पक्की शौचालय, सिंहमाई आधारभूत विद्यालय कदमबासमा निर्मित ४ कोठे पक्की शौचालय र कल्लेरी आधारभूत विद्यालय कल्लेरीमा निर्मित ४ कोठे पक्की शौचालय भवन विद्यालय व्यबस्थापन समिति मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

तीनवटै विद्यालयको शौचालय हस्तान्तरणका बेला सार्वजनिक लेखा परीक्षण गरिएको थियो । गत वर्ष सम्झौता भई काम सुरु गरिएका विद्यालयहरुमा छात्र, छात्राका लागि फरक फरक शौचालयको व्यवस्था गरिएको, सबै शौचालय अपांगमैत्री रहेको, शौचालयमा हात धुने धारा र पानीको व्यवस्था गरिएको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
सबै माध्यमिक विद्यालयमा महिनावारीका बेला छात्राहरुले प्रयोग गर्ने स्यानीटरी प्याड फाल्ने र जलाउने इन्सिनेटरको समेत व्यवस्था गरिएको छ ।

न्यौपानेका अनुसार यो वर्ष मात्रै जनहितले अक्सफामसँगको साझेदारीमा मात्रै विभिन्न ११ वटा विद्यालयमा शौचालय निर्माण गरिरहेको छ । जसमध्ये ७ वटा विद्यालयमा शौचालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकिएको छ । एकसाता भित्रै बाँकी ४ वटा विद्यालयमा निर्माण सम्पन्न भएको शौचालय हस्तान्तरण गरिने छ ।

जनहितका जनस्वास्थ्य प्रवर्द्धन इन्जिनियर मदन सुवेदीका अनुसार कार्यक्षेत्रका विद्यालयको माग र तत्कालीन जिल्ल्ाा शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालयमा शौचालय निर्माण गरिएको हो ।

सबै विद्यालयमा निर्माण गरिएका शौचालय नेपाल सरकारको शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड अनुरुपका छन् । जनहितले शौचालय निर्माण गरेका विद्यालयमा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रम पनि संचालन गरिरहेको छ ।

भूकम्प अघि र पछि खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रका अग्रणी संस्थाको रुपमा काम गरिरहेको जनहितले वर्ल्ड भिजन, युनिसेफ, कारीतास नेपाल, अक्सफाम, सेवक नेपाल लगाएतसँगको साझेदारीमा काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माको भनाइ छ ।

यसैबीच जनहितले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ मा रहेको कल्लेरी आधारभूत विद्यालयमा जनहित र अक्सफामको साझेदारीमा सञ्चालीत नेपाल भूकम्प पुनर्लाभ र पुनर्निर्माण कार्यक्रम अन्तरगत वास इकाईले आकासे पानी संकलन गरी जम्मा गर्ने प्रविध जडान गरेको छ ।

पानीको अभाव हुने सो विद्यालयमा रेन वाटर हार्भेस्टिङ्गको काम सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाकी जनस्वास्थ्य प्रवर्द्धन अधिकृत सुरुची पाण्डेले जानकारी दिइन् । जिल्लामा कार्यरत अन्य संघसंस्था, जिल्ला आयोजना कार्यान्वयन इकाइ लगाएतले विद्यालय भवन र शौचालय निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment