Comments Add Comment

पार्टी नेतृत्वमा देखिएको असमझदारीको सुरक्षित अवतरण भयो : प्रचण्ड

२८ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् ।

नेकपाका ३ नम्बर प्रदेश कमिटी पदाधिकारीहरुसँग आइतबार भएको छलफलमा अध्यक्ष प्रचण्डले केही अविश्वास र असमझदारीको अवस्था सिर्जना भएपनि त्यसको सुरक्षित अवतरण भइसकेको बताए । उनले अहिलेको अवस्थामा सरकारको आलोचना गर्ने भन्दा पनि सरकारलाई बलियो बनाउन पार्टी एकढिक्का हुनुपर्ने बताएको एक नेताले जानकारी दिए ।

प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘वामदेवजीको चुनाव लड्ने सन्दर्भ अब समाप्त भइसक्यो । उहाँले पनि अब सम्भवतः त्यस्तो चाहना राख्नुहुन्न होला । यो कुराले केही अविश्वासको अवस्था पनि आयो तर, त्यस्तो केही थिएन ।’

वामदेवका लागि सिट खाली गर्न काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । त्यो पत्र प्रचण्ड निवासमा तयार भएको थियो । यसबारे पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुलाई समेत पूर्व सूचना नभएपछि नेकपाका शीर्ष नेताहरुमा अविश्वासको अवस्था आएको थियो ।

प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले विहान निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए । उनीहरुले यसलाई प्रदेश कमिटीको बैठक भनेका छन् । अर्का अध्यक्ष ओलीसँग पनि भेट्ने समय मिलाउन लागिएको इन्चार्ज शाक्यले बताइन् ।

बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने बताएकी थिइन् ।

अध्यक्ष प्रचण्डले यसबीचमा आफूसहित शीर्ष नेताहरु विदेश भ्रमणमा बढी केन्दि्रत हुँदा संगठन प्राथमिकतामा नपरेको स्वीकार गरेको शाक्यले अनलाइनखबरलाई बताइन् । अब पार्टीका सबै कमिटी एकीकरण र संगठन निर्माणमा केन्द्रित हुने उनले बताए ।

यसबीचमा अध्यक्षद्धय ओली, प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको विदेश भ्रमणमा गएका थिए । छलफलमा अध्यक्ष प्रचण्डले अब पार्टीलाई जलायमान बनाउनुपर्ने बताएका थिए ।

स्थानीय तह एकीकरण शुरु

यसैबीच प्रदेश ३ अन्तरगत बिभिन्न जिल्लामा स्थानीय तहको एकीकरण शुरु भएको छ । पार्टी शीर्ष नेतृत्वले माताहत कमिटी एकीकरणमा ढिलाइ गरेपछि केन्द्रको परिपत्र अनुसार नै स्थानीय तह एकीकरण थालिएको नेताहरुले बताएका छन् ।

हालसम्म सिन्धुलीका सबै स्थानीय तहको एकीकरण भइसकेको र रसुवा, नुवाकोट तथा रामेछापको लगभग टुंगो लागेको प्रदेश कमिटी सचिव आनन्द पोखरेलले बताए । उनका अनुसार दशैंपछि धेरैजसो जिल्लाका स्थानीय तहमा एकीकरण सकिनेछ ।

प्रदेश कमिटी र जिल्ला कमिटी भने केन्द्रले टुंगो लगाउने भएकाले आफूहरुले स्थानीय तहको एकीकरण टुंगो लगाउने जानकारी नेताहरुलाई गराएको शाक्यले बताइन् । प्रचण्डले प्रदेश ३ कमिटीले स्थानीय तह एकीकरण थालेर राम्रो काम गरेको बताएका थिए ।

अब प्रदेश ३ अन्तर्गत सबै जिल्लामा एउटै पार्टी कार्यालय रहने र स्थानीय तहपछि वडा कमिटीहरु पनि एकीकरण थालिने पोखरेलले जानकारी दिए । स्थानीय तह एकीकरण गर्न सम्बन्धित जिल्लामा तत्कालिन एमाले र माओवादीका पदाधिकारी, जिल्ला इन्चार्ज र सहइन्चार्ज रहेको कमिटीलाई मान्यता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment