५ कात्तिक, काठमाडौं । नयाँ सिजनका लागि बार्सिलोनाले रोमा जान ठिक्क परेका मालकोम र इन्टर मिलान जान तयार रहेका आर्टुरो भिडाललाई ‘हाइज्याक’ नै गर्यो । तर, अहिले दुवै खेलाडी बार्सिलोनामा अवसरको खोजीमै छन् ।
२१ वर्षका मालकोमसँग त समयको अभाव छैन । उनले आफूलाई प्रमाणित गर्ने अवसर अझै पाउलान् नै । तर, ३१ वर्षका भिडाललाई भने बेञ्चमा बसिरहन सहज छैन । यसैले उनको असन्तुष्टि सामाजिक सञ्जालमै देखिन थालेका छन् ।
भिडाल स्वभावैले पनि चुप लागेर बस्न सक्ने खालका छैनन् । मैदानमा मात्रै होइन मैदानबाहिर पनि उनको उग्रता बेला बेला देखिइनै रहन्छ । उदाहरणका लागि, गएको वर्ष सेप्टेम्बरमा एक नाइट क्लबमा भोड्काको बोतलले एकजनाको टाउकोमा हान्दा भिडालले ८ लाख पाउण्ड त जरिवाना नै तिर्नुपरेको थियो ।
भिडालको व्यक्तिगत स्वभाव जस्तो भए पनि खेलमा उनी खराब छैनन् । बायर्न म्युनिखमा हुँदा र त्यसअघि युभेन्टसमा हुँदा पनि भिडालले मिडफिल्डमा आफूलाई प्रमाणित नै गरेका हुन् । तर, बार्सिलोनामा भने सुरुवाती ११ मा पर्न नै उनी संघर्षरत छन् ।
उनले मेहनत गर्दै जाँदा त्यो अवसर त आउला नै । कठिन के छ भने, उनले प्लेइङ सेटमा नपर्दाको असन्तुष्टि भने खेलाडी र प्रशिक्षकसँग पनि देखाइरहेका छन् । त्यसले उनलाई अझ पछाडि सारिरहेको छ ।
च्याम्पियन्स लिगमा टोटनहृयामसँग ४-२ ले जितेको खेलमा भिडाल ८७ औं मिनेटमा मात्रै मैदान प्रवेश गर्न पाएका थिए । खेलपछि उनले आफ्नो इन्स्टाग्राममा रिसाएको इमोजी राखे । उनले त्यसलाई केहीबेरमा हटाएर ‘कहिल्यै हार मान्नु हुँदैन, राम्रा कुरा अझै आउँदै छन्’ लेखेका थिए ।
ला लिगामा भ्यालेन्सियासँग बराबरी भएको खेलपछि पनि उनले खेल्न नपाएको असन्तुष्टि सामाजिक सञ्जालमा नै पोखे । यसैले बार्सिलोना पछिल्लो समय भिडालले देखाइरहेको व्यवहारदेखि सन्तुष्ट छैन ।
बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर पेप सेगुरा पनि भिडालले आफ्नै खुट्टामा आफैले बञ्चरो हानिरहेको बताउँछन् ।
‘मुख्य कुरा त उनी खेल्न चाहन्छन्, बार्सिलोनामा आफ्नो उपस्थिति प्रमाणित गर्न चाहन्छन् । तर उनीसँग एक व्यावसायिक खेलाडीमा हुनुपर्ने गुण छैन । खेलाडी र प्रशिक्षकप्रति उनी सम्मानजनक व्यवहार नै गर्दैनन्’ उनले भनेका छन्,
‘बार्सिलोना जस्तो क्लबमा आफूले गल्ती गरिरहेको छु भन्ने भिडाललाई ज्ञान पनि छ । आउँदो दिनमा उनले त्यसलाई सुधार्ने नै छन् ।’
सर्जियो बुस्केट्स, इभान र्याकिटिक, फिलिप कोटिन्हो जस्ता खेलाडी रहेको ठाउँमा मिडफिल्डमा नै आर्थरले निकै राम्रो गरिरहेका छन् । यसैले भिडाललाई हरेक खेलमा प्लेइङ सेटमा पर्न यसै पनि सहज छैन । अझ व्यवहार यस्तै हुँदै जाने हो भने त त्यो झन् कठिन हुने छ ।
शनिबार सेभिल्लालाई हराएको खेलमा त भिडाल बेञ्चमा पनि थिएनन् । त्यसको २४ घण्टाअघि प्रशिक्षक भालभर्देले भिडालसँग केही समस्या रहेको सार्वजनिक प्रतिक्रिया नै दिएका थिए ।
अवस्था जे सुकै भए पनि बार्सिलोना आइसकेका भिडाल अब यसै हराएर पनि जाने छैनन् नै । त्यो उनको स्वभावले पनि दिँदैन ।
‘मैले पहिलेदेखि जे गरिरहेको छु, त्यही मेहनत गरी नै रहने छु । किनभने, केही कुरा पनि सजिलो छैन’ उनले भनेका छन्, ‘जीवनमा अठोट र त्यागले चाहेक हरेक कुरा पाउन सकिन्छ ।’
प्रतिक्रिया 4