Comments Add Comment

‘दुईतिहाइ सरकारको हालत के छ ? वामदेवको अभाव खड्कियो !’

१५ कात्तिक, काठमाडौं । सांसद रामवीर मानन्धरको परिचय ०७० सालसम्म वडाध्यक्षमा सीमित थियो । काठमाडौं माहानगरपालिका वडा नम्बर १६ मा दुईपटक वडाध्यक्ष निर्वाचित भएका मानन्धर तत्कालीन एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य थिए ।

राजेन्द्र श्रेष्ठले एमाले छाडेर हिँडेपछि रामवीरले ०७० मा सांसदको टिकट पाए र राम्रो मतान्तरमा जिते । पार्टीमा उनी केपी ओली पक्षमा सधैं खरोरुपमा प्रस्तुत हुन्थे । संसदीय समितिमा विशेषतः आयल निगमको जग्गा खरिद प्रकरणको अनुसन्धानमा उनले राम्रो भूमिका निर्वाह गरे ।

स्थानीय तहको निर्वाचनमा उनलाई मेयरको उम्मेदवार बनाउन पार्टीमा निकै पहल भयो । चुनाव जित्ने अनुहार खोज्दा रामवीरको नाम आएको थियो । तर, रामवीरकै आग्रह र दबावमा विद्यासुन्दर शाक्यले टिकट पाए र काठमाडौंको मेयर पनि निर्वाचित भए ।

०७४ सालको संसदीय निर्वाचनमा रामवीर झन् ठूलो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए काठमाडौं-७ बाट । यसपटक उनले मन्त्री वा राज्यमन्त्रीसम्म भइने अपेक्षा गरेका थिए । त्यो नपाएपछि संसदीय समितिको सभापति त ओलीले बनाउलान् भन्ने सोचे ।

पार्टी एकता हुँदा केन्द्रीय सदस्यको अपेक्षा पनि मानन्धरले राखेका थिए । तर, उनले आफू नभए विद्यासुन्दर शाक्यलाई केन्द्रीय सदस्य बनाउन आग्रह गरे । काठमाडौंका रैथाने नेवारभन्दा बाहिरका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएकोमा उनले असन्तुष्टि समेत जनाए ।

यसबीचमा एकाएक वामदेव गौतमका लागि रामवीरले आफू राजीनामा गर्न तयार रहेको पत्र अध्यक्ष प्रचण्डमार्फत नेकपाको सचिवालय बैठकमा पठाएपछि नेकपामा खैलाबैला मच्चियो । शीर्षनेतृत्व तहमा रामवीरका कारण अविश्वासको अवस्था सिर्जना भयो ।

यतिसम्मकी प्रचण्डले सार्वजनिक भाषणमा स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था पनि आयो । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने डिजाइन अनुसार रामवीर विदेशी शक्तिबाट समेत परिचालित भएको आरोप लाग्यो । अन्ततः रामवीरको राजीनामा अस्वीकृत भयो र वामदेवको काठमाडौं ७ बाट चुनाव लड्ने ‘च्याप्टर क्लोज’ भयो ।

पार्टी राजनीतिमा सधैं ओली लाइनमा उभिने रामवीर एकाएक कसैलाई थाहा नदिई किन वामदेवका लागि निर्वाचन क्षेत्र खाली गर्न उद्दत्त भए ? उनलाई नजिकबाट चिन्नेहरुले धेरैखाले आशंका गरेका छन् । उनकै निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित नेकपा केन्द्रीय सदस्य बसन्त मानन्धरले, व्यक्तिको बार्गेनिङ अगाडि पार्टी झुक्न नहुने भन्दै रामवीरप्रति प्रहारसमेत गरे ।

मानन्धर गुठीले सम्मान फिर्ता गरेको भन्यो । मतदाता रामवीरसँग रुष्ट भए । पार्टीमा उनलाई साथ सहयोग गर्नेहरु अचम्मित भए । उनीमाथि धेरैखाले आरोप पनि लागे । प्रधानमन्त्री ओलीसँग भेट्दा रामवीर असामान्य रुपमा प्रस्तुत भएको चर्चा पनि चल्यो । जब कि उनी ओलीका सदावहार अनुयायी मानिन्थे ।

यो प्रकरणबाट रामवीर आफ्नो निर्वाचन क्षेत्रमा ‘एक्सपोज’ मात्र भएनन्, अहिले उनलाई निकै अप्ठेरो परेको छ । उनको राजनीतिसमेत धरापमा परेको भनेर चर्चा भइरहँदा हामीले नेकपाका सांसद मानन्धरसँग लामो कुराकानी गर्‍यौं ।

कुराकानीका क्रममा उनी ओलीबाट देश र पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेको बुझ्न सहजै सकिन्थ्यो । अब प्रचण्ड र वामदेवलाई पार्टी र सरकारको नेतृत्व दिनुपर्ने लाइनमा पुगेका रामवीरले अझै पनि वामदेवका लागि आफ्नो क्षेत्र खाली रहेको अनलाइनखबरसँग दोहोर्‍याए ।

त्यतिमात्र होइन, आउने नेकपाको महाधिवेशनबाट सरकार र पार्टीको नेतृत्व फेरिने आँकलनसमेत उनले गर्न थालेका छन् । उनी किन यस्तो निष्कर्षमा पुगे त ? पार्टीभित्र जिल्ला कमिटी सदस्यको तहमा रहेका तर वामदेव प्रकरणले राष्ट्रिय चर्चामा रहेका मानन्धरसँग अनलाइनखबरले गरेको कुराकानी-

तपाईले एकएक ‘बमसेल’ गर्नुभयो दशैंअघि, यसले गर्दा बामदेव गौतमको चुनाव लड्ने च्याप्टर र तपाईको राजनीतिक जीवनको च्याप्टर दुबै क्लोज भयो भनिँदैछ, तपाईले प्रहार गरेको बम ‘ब्याक फायर’ भएजस्तो लाग्दैन ?

तपाईले भनेजस्तै धेरै कुराहरु आएका छन् । वामदेवका लागि राजीनामा गर्न चाहने सांसद म एकजनामात्र होइन, १०/१२ जनाको नाम लिस्टमा थियो । त्योभन्दा अगाडि धेरै चर्चा पनि भएको थियो । तर, पछिल्लो समय मेरो निवेदन गएपछि पार्टीमा चर्चाको विषय बनेको हो ।

मलाई लाग्छ, यो कुनै बमसेल वा तहल्का मच्चाउने कुरा थिएन । पार्टीले निर्णय गरेको भए सायद तहल्का मच्निने थियो । तर, पार्टीले जुन ढंले सेफ ल्याण्डिङ भनौं वा निवेदनलाई थाती राखौं भन्यो, त्यसपछि यो तहल्का भएन । त्यसअघि पनि बामदेव चुनाव लड्ने चर्चा धेरै थियो । तर, यो विशेष चर्चा चाहिँ काठमाडौं जोडिएकाले भएको हो ।

तपाईले सोचविचार गरेरै राजीनामा दिन खोज्नुभएको थियो कि ? के हुँदो रहेछ हेरौं न त भन्ने हो कि ? केपी ओलीसँगको असन्तुष्टिको झोंक फेर्न खोज्नुभएको मात्रै हो कि ?

त्यस्तो होइन । म पार्टीको बफादार कार्यकर्ता हुँदा । मैले ०४९, ०५४, ०७० र ०७४ सालमा चारपटक पार्टीबाट ठूलो जिम्मेवारी पाएको छु । यो क्षेत्रका जनताको बीचमा म विकासका लागि आएको भनेर चिनिन्छु । विकास हुन्छ भने म अहिले पनि भन्न चाहान्छु, पार्टीले निर्णय गरेको खण्डमा म दुई मनेट पनि सांसद पदमा बस्दिनँ ।

तर, पार्टीका लागि एउटा कार्यकर्ताले गर्नुपर्ने जिम्मेवारी बफादारीपूर्वक मैले पालना गर्न लाग्दा धेरै आरोप सहनुपरेको छ । अहिले मिडियाका कारण बढी हल्ला भएको हो । पार्टीभित्र केही कुरा मिलाउनुपर्छ भन्ने देखेर मैले गरेको हो ।

पार्टीकै लागि थियो भने त तपाईले प्रचण्डको घरमा गोप्यरुपमा राजीनामा लेख्नुपर्थ्यो र ? तपाईले जसले टिकट दिएर सांसद हुनुभयो, संसदीय दलको नेता पनि रहेका केपी ओलीलाई झुक्याएर गर्न खोज्दा कतै डिजाइन पो थियो कि भन्ने आरोप आयो नि तपाईमाथि ?

होइन । यी कुराको अर्थ छैन । म तपाईलाई भनौं, सिंगो पार्टी मिलाउन मैले यो कदम चालेको हुँ । सचिवालयमा औपचारिक-अनौपचारिक रुपमा बामदेवलाई चुनाव लडाउने कुरा भएकै हो । एकपटक मन्त्रीले नै छाड्ने कुरा पनि आएको हो नि । जनताले मानेनन् भनेर पछि ‘ब्याक’ भयो ।

मेरो भनाइ के भने जनतालाई सोध्न थालियो भने त कहाँ मान्छ र, हामीलाई ५ वर्षका लागि जिताएको जनताले । एक-एकजनासँग सोध्दै हिँडेर पनि साध्य हुने कुरा होइन यो ।

हुन त पत्र नै दिनुपर्ने त थिएन । आवश्यकता पर्दा पार्टीले ल तपाई फिर्ता आउनुस् भन्दा पनि पुग्थ्यो । तर, मलाई के लाग्यो भने वामदेव गौतमको नामै किटेर यो पत्र लेखिएन भने काम हुँदैन । मेरो त्यो मानसिकतासँग पार्टी जोडियो । पार्टी भनेको मेरा लागि घरपरिवार हो । मैले देखेँ, मेरो परिवारमा केही मिलिरहेको छैन ।

नमिलेको भन्नाले ..?

नमिलेको भन्नाले सचिवालयमा नौजनाको कुरा नै नौतिर फर्किएजस्तो भइरहेको छ नि त । त्यसलाई मिलाउने सवालमा कसैले पनि बामदेव कमरेडलाई संसदमा नल्याउने भन्दैन । तर, ल्याउँ भन्दा कोही अघि नसर्ने । त्यही भएर म अघि सरेँ । यद्यपि म अलि सानो कार्यकर्ता भएकाले तपाईले भनेजस्तो ‘ब्याक फायर’ पो भयो कि जस्तो लागेको छ ।

जनता एक-एक जनालाई सोधेर हिँड्न सकिन्न भन्नुभयो, तर जनताले त रामवीर मानन्धरलाई जिताएको हो नि ?

जनतालाई सोध्यो भने उहाँहरुले राजीनामा गर्न हुँदैन भन्नुहुन्छ नि । मैले सबैसँग सोध्न भ्याउँदिनँ नि फेरि । जनतामाथि धोका भनेको मैले विकास गर्न सकिने भने हुन्छ । जनतालाई जतिसक्दो चाँडो विकास दिन सक्नुपर्छ ।

मभन्दा अघि पनि यो ठाउँबाट धेरैजना चुनाव लड्नुभयो । प्रायः यहाँबाट जितेका सबै मन्त्री हुनुभएको छ । तर, तपाई हेर्न जानुहोला, मेरो ठाउँको विकास भयो कि भएन भनेर ।

तर, जनता रिसाएर तपाईलाई दिएको सम्मान फिर्ता गरे भन्ने कुरा पनि आयो नि होइन ? अर्को पटकलाई त तपाईलाई घाटा भयो नि ?

पटकको कुरा होइन । मसँग मानन्धर गुठीले गरेको सम्मानको कपी छ । २४ जनामा ८ जनाले फिर्ता लिएको भनेका छन् । अरु १६ जना त मेरै पक्षमा छन् नि त । मानन्धर गुठी भनेको ठहिटीका हाम्रो मानन्धरहरुले गर्नुभएको हो । ८ जनाको मात्र हस्ताक्षर छ त्यो फिर्ता लिने भन्नेमा । त्यो पनि दुई घण्टा पर्खेर मलाई सोध्न पनि सक्नुहुन्थ्यो । मानन्धर गुठीमा राजनीति पसाउने मान्छे होलान् । त्यसको अर्थ छैन ।

तर, यो प्रकरणले तपाईको राजनीति चाहिँ धरापमा पर्‍यो होइन ?

मैले राजनीति गरेका कारणले नै यो ठाउँ विकास र समृद्धि होस् भनेर हो । मभन्दा अघि पनि यो ठाउँबाट धेरैजना चुनाव लड्नुभयो । प्रायः यहाँबाट जितेका सबै मन्त्री हुनुभएको छ । तर, तपाई हेर्न जानुहोला, मेरो ठाउँको विकास भयो कि भएन भनेर ।

मैले ०७० सालमा चुनाव जितेपछि मात्र यो ठाउँको विकासको गति समातिएको छ । मेरो गति अझ धिमा भयो । मेरो पहुँच अझ पुग्न सकेन । एक करोड बजेट राख्न कति धाउनुपर्छ मलाई थाहा छ । पहुँचवाला नेता भयो भने मात्रै विकास हुने रहेछ भन्ने लाग्यो मलाई । त्यसैले पनि बामदेव ल्याउन पाए हुन्थ्यो भनेको हो ।

मान्छेको बुझाइचाहिँ के छ भने, एकाएक रामवीरले वामदेवलाई ठाउँ खाली गर्नुका पछाडि विकासभन्दा पनि ठूलो चलखेल छ । कतिपयले तपाईमाथि करोडौं रकममा सांसद पद बिक्री गरेको आरोप पनि लगाए । कतिपयले विदेशी शक्ति लाग्यो भनेका छन्, पार्टी बैठकमा कुरा उठेको छ । वास्तवमा के हो ?

एकदम ठीक भन्नुभयो । यो कुरा बैठकमा पनि उठेको छ र भन्नै नहुने कतिपय मान्छेले पनि भन्नुभएको छ । धेरै मान्छेमा अफवाह फैलाइएको छ । नेपालको राजनीतिक इतिहासमा म एउटा कालखण्डको रुपमा रहनेछु हेर्नुस् ।

जसले मसँग संगत गरेको छ, पैसाको कुरा कसैले पत्याउँदैन । पदको कुराचाहिँ अलिअलि पत्याउलान् । त्यो पनि पार्टीले दिए पाउने हो पद भनेको । मलाई चारपटक पार्टीले टिकट नदिएको भए मजति लोकप्रिय भए पनि व्यक्तिगतरुपमा चुनाव लडेर जित्छु र ? त्यसकारण मेरो सर्वेसर्वा भनेको पार्टी हो ।

पार्टीले लिखितरुपमा आरोप लगाउँछ भने स्वीकार गर्नेछु ।

तर, तपाईमाथि आरोप त लाग्यो नि पार्टीबाटै ? एउटा आरोप पैसामा बिकेको, अर्को भारतीय इशारामा चलेको र तेस्रो पनि छ केपी ओलीलाई प्रधानमन्त्री हटाउने डिजाइनमा तपाई प्रयोग हुनुभयो भन्ने त आयो नि ?

होइन, यो कुरा कसले जोडेको हो, अचम्म लाग्छ क्या । प्रधानमन्त्रीबाट केपी ओलीलाई संविधानकै धारा अनुसार कुरा गर्ने हो भने पनि दुई वर्षअघि हटाउन सकिन्न । बामदेव कमरेड चुनाव नै जितेर आए पनि कमसेकम पनि जितेर आउन ६ महिना लाग्छ । तर, अहिलेदेखि नै शंकाको भरमा कुरा गरेर हुन्न ।

राजनीतिक भूकम्प ल्याउने प्रयास गरिएको छ बेकारमा । मेरो उहाँहरुसँग विनम्र अनुरोध छ कि, नेतृत्वदायी तहमा रहेका व्यक्तिहरुले यस्ता कुरा नगरे हुने । मजस्तो मान्छेले एउटा निवेदन दिँदैमा गञ्जागोल हुने यो पार्टी तासको घर हो र ? दुई तिहाईको सरकारको औकात यत्ति हो त र ?

अनि प्रचण्डको निवासमा राति बसेर किन लेख्नुपरेको त त्यो पत्रचाहिँ ?

प्रचण्ड नभन्नुस न । हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष हो क्या ।

संसदीय दलको नेतालाई लेख्नुपर्ने होइन र सांसदले राजिनामा दिने पत्र ?

तपाईलाई नै म सोध्छु- हाम्रो पार्टीमा दुईजना अध्यक्ष हुनुहुन्न र ? हुनुहुन्छ भने यसमा किन आपत्ति ? संसदीय दलको नेता प्रधानमन्त्री कति व्यस्त हुनुहुन्छ । उहाँलाई होइन, उहाँको पीएलाई पनि मसँग कुरा गर्न फुर्सद हुन्छ र ?

त्यसकारण अध्यक्षलाई लेखेको हो । कमरेड केपी ओलीले प्रचण्ड अध्यक्ष होइन भन्नुहुन्छ भने म त्यो पत्र फिर्ता लिन्छु र गल्ती स्वीकार गर्छु । तर पार्टीको अध्यक्षको घरमा नगई म बाटोमा बसेर पत्र लेख्छु त ? मैले पार्टीको अध्यक्षमा गएर लेखेको हो ।

तर, उहाँले मलाई भन्नुभएको थियो- तपाईलाई धेरै गाह्रो हुन्छ ।

वामदेवका लागि यत्रो बलिदानी गर्न किन तयार हुनुभयो तपाई ? जब कि तपाई पार्टीभित्र कहिल्यै पनि वामदेवको लाइनमा देखिनुभएन, केपी ओलीकै विश्वासपात्र मानिनुहुन्थ्यो । एकाएक वामदेवप्रति यस्तो भावुकता कहाँबाट आयो ?

तपाईलाई एउटा कुरा भन्छु- जनताले हामीलाई दुईतिहाईको हाराहारी मत दिए । सरकार बनेको पनि दुई सय दिन पुगेको छ । यो बीचमा बजेट आयो, दशैं सकियो खै त ? तपाई एकपटक तीन करोड मान्छेको बीचमा जानुभयो भयो के भन्छन् ? सोध्नुस न ।

त्यही भएर बामदेव चाहियो ?

जबसम्म घर मिलाउन सकिन्न, तबसम्म हुँदैन । अहिले सरकार चलाउने प्रधानमन्त्री नै के भन्नुहुन्छ भने मन्त्रीले सहयोग गरेनन् । पार्टीले सहयोग गरेन । कार्यकर्ता अरिंगाल बनेनन् । यो भन्नुपर्ने कारण खोज्नुभयो भने धेरै अभाव त खड्किन्छ हेर्नुस् । वामदेव नभएर अप्ठेरो परेको महसुस भएको छ ।

यो प्रकरणले त पार्टीमा झनै अविश्वास सिर्जना भएन र ?

धेरै बिग्रेपछि फेरि पनि बनाउने प्रयास हुन्छ । आज देखियो नि, कसको हैसियत कहाँ रहेछ ? कसको नियत के रहेछ ? सबै खुलासा भयो । मलाई लाग्छ, यो अवसर पनि हो । एकपटक सँगालिने मौका पनि हो ।

राजीनामाको कुराचाहिँ वामदेवले तपाईलाई आग्रह गरेको कि तपाईले वामदेवका लागि ?

सीधा मैले भन्नुपर्छ, मेरो पार्टीलाई मैले आग्रह गरेको हो । मेरो पत्र छ नि । मैले विनम्रतासाथ पार्टीलाई आग्रह गरेको हो । मैले कुनै नेतालाई संसदीय दलको नेता वा अरुलाई सोधेको भए हुने थिएन । हुँदैहुँदैन मलाई थाहा छ ।

त्यही भएर यसबीचमा प्रचण्ड र बामदेवप्रतिमात्रै तपाईको भरोसा जाग्यो होइन ?

मैले यसो गरौं भनेर उहाँहरुसँग निवेदन लगेर आग्रह गरेको हो । सकिन्छ भने सचिवालयबाट निर्णय गराउनुस् भनेको हो । तर, उहाँहरुले सक्नुभएन ।

पार्टीको महासचिवलाई पनि थाहा भएन, एकैचोटि प्रचण्डबाट पत्र पुगेछ नि ?

योबाहेक मैले अरु विकल्पै देखिनँ । यसमा मैले अध्यक्ष (प्रचण्ड) बाहेक अरु विकल्पै देखिनँ । म फेरि पनि दोहोर्‍याएर भन्छु, प्रचण्ड कमरेड अध्यक्ष होइन भनेर भन्दिनुभयो भने म जे सजाय भोग्न र फिर्ता लिन तयार छु ।


उहाँ (केपी ओली) ले भन्दिनुपर्‍यो कि प्रचण्ड अध्यक्ष होइनन् । नत्र यो विषय किन उचाल्ने ? मैले हुलाकबाट वा कुनै अनलाइनबाटचाहिँ राजिनामाको पत्र पठाएको होइन ।

तपाईले अस्ति फेसबुकमा भाबुक स्टाटस लेख्नुभयो । लास रुँदैन, रुन्छन् जलाउनेहरु भनेर । अहिले आत्मसमीक्षाको चरणमा हुनुहुन्छ जस्तो छ, के निष्कर्षमा पुग्नुभयो हालसम्म्म ?

मेरो आत्मसमीक्षा भनेको चाहिँ के हो भने, हाम्रंो देशलाई एउटा त्यस्तो मान्छे चाहिएको छ, जसले विकास गरोस् । हामीले देखेका छौं भीमसेन थापाले बनाएको धरहराको अहिलेसम्म चर्चा गर्छौं । प्रताप मल्लले बनाएको रानीपोखरीको चर्चा गरिरहेका छौं । एउटै मान्छेले गर्ने हो रहेछ नि ।

एउटा मान्छेको खाँचो हुने रहेछ । त्यो खाँचोलाई परिपूर्ति गर्ने मेरो प्रयास हो । त्यो प्रयास भनेको फेरि पनि विकास र सम्बृद्धिनै हो । हाम्रो पार्टी मिलेको छ, तर संरचना जिल्लासम्म बन्न सकेको छैन । प्रदेश बनेको छ । तर, विवाद छ ।

जहाँसम्म मेरो कुरा छ, मलाई समस्या छैन । म बदनाम भएँ भन्ने पीर छैन । मैले राजनीति गरेको हो । हिजो पनि मलाई नेताले समातेको होइन । हिजो पनि पार्टीको लागि लागेको हो । आज पनि लागेको हुँ ।

तपाईले पटक-पटक विकास र समृद्धिको कुरा गर्नुभयो । यो सरकारबाट विकास र समृद्धि सम्भव भएन, त्यसैले म सांसद पद कुर्बान गर्छु भन्नुभएको हो ?

प्रधानमन्त्रीले भन्नुहुन्छ चित्त बुझेको छैन भनेर । मैले किन भनिरहने ? विकास र समृद्धिका बारेमा उहाँलाई सोध्नुस न ।

तपाईसँग चाहिँ प्रधानमन्त्रीले के भन्नुभयो पछिल्लो भेटमा ?

प्रचण्ड कमरेडलाई यदि वामदेव कमरेडले कन्भिन्स नगरेको भए कुनै हालतमा संविधान जारी हुने थिएन । संविधान जारी हुने सवालमा सबैभन्दा प्रमुख रोल चाहिँ उहाँ (बामदेव) को छ भन्छु ।

उहाँले एकपटक सल्लाह गर्न पाएको भए हुन्थ्यो भन्नुभयो । तपाईले दिइहाल्नुभयो यो राजीनामाचाहिँ स्वीकृत गरौंला नि त भन्नुभयो, सारमा त्यति नै हो । त्यसको बीचमा धेरै लामो कुरा भयो । ४५ मिनेट उहाँका कुरा सुनेँ । अब ती कुरा पुराना भइसके, किन कोट्याउनु ?

प्रधानमन्त्रीसँग पनि मेरो कुनै सिकायत होइन, दुई तिहाईको कम्युनिस्ट सरकारको हालत के छ हेर्नुस न । कहीँ पनि राम्रो कुरा छैन । मिडिया र सोसल मिडियामा हेर्नुस । उहाँ अहिले बिरामी हुनुहन्छ, तर कस्तो कुरा आइरहेको छ हेर्नुस त ।

संवदेनशीलता नै जाला जस्तो भयो । त्यस्तो पपुलर नेता, राष्ट्रियताको अडानमा बसेको मान्छे एकैचौटि ६/८ महिनामै सकिनु भनेको के त ? यसको मतलब के भन्दा हाम्रो परिवार नै मिलेन । तपाई मान्नुस नमान्नुस, पार्टीभित्र जब नेताहरु एक ठाउँमा हुन्नन्, यो हुन्छ नै ।

तपाईले गर्दा वामदेवको चुनाव लड्ने च्याप्टर नै क्लोज भयो, यसले तपाईलाई बेकार फण्डा गरेछु जस्तो लागेन ?

पहिलो कुरा यो फण्डा होइन । दोस्रो कुरा वामदेवको च्याप्टर क्लोज भएको छैन । उहाँका लागि यो क्षेत्रमा जहिले पनि ओपन छ । यो चाहिँ ख्याल गर्नुस् । यो क्षेत्रचाहिँ उहाँका लागि जहिले पनि खुला छ । सहज ढंगले चुनाव जिताउन सकिन्छ उहाँलाई । संगठनात्मक रुपबाट यति मजबुत ठाउँ हो, मजस्तोले चुनाव लडेर जित्छु भने बामदेव कमरेडले नजित्ने कुरै छैन ।

बामदेवलाई यहाँ चुनाव लड्न नदिने तत्व चाहिँ को भयो त ?

हा हा हा ..यो पनि एउटा प्रकरण नै भयो । पार्टीभित्रै धेरै प्रकरण हुने रहेछन् हेर्नुस न । मेरो त के कुरा भयो, तर बामदेव कमरेडका लागि चाहिँ यो प्रकरण नै भयो । किनभने, वामदेव कमरेडलाई रोक्न खोज्ने तत्व हाबी भए ।

को हुन् त तिनीहरु ?

म तपाईलाई यसमा अलिकति पृष्ठभूमि बताउँछु । ०७० सालको चुनावपछि हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष कमरेड झलनाथ खनाल संसदीय दलको नेता बन्न खोज्नुभयो । संसदीय दलको नेता जहिले पनि पार्टी अध्यक्षनै हुने प्रचलन हो हाम्रो पार्टीमा । तर, हामीले चाहिँ पार्टीको अध्यक्षलाई होइन, केपी शर्मा ओलीलाई दलको नेतामा जितायौं ।

त्यसको श्रेय कसलाई जान्छ ? मलाई जाँदैन । म एउटा मतदातामात्र हुँ । सोध्नुस तपाईले ओलीलाई कसले नेता बनायो त भन्दा वामदेव कमरेडले हो । त्यसको लगत्तै पार्टीमा नवौं महाधिवेशन भयो । ५० मतले मात्रै कमरेड केपी ओलीले अध्यक्ष जित्नुभएको छ ।

यसमा मलाई जेसुकै भन्नुस, मनमा लागेको कुरा सत्य कुरा भन्नुपर्छ । ५० मतले जित्ने अवस्था त वामदेवले गर्दामात्रै सम्भव भएको हो । त्यसपछि संविधान बनाउने सन्दर्भमा जाउँ, बामदेव कमरेडले पहल नगरेको भए संविधान जारी हुने थियो ? एकपटक छातीमा हात राखेर सोच्नुपर्छ हेर्नुस् ।

प्रचण्ड कमरेडलाई यदि वामदेव कमरेडले कन्भिन्स नगरेको भए कुनै हालतमा संविधान जारी हुने थिएन । संविधान जारी हुने सवालमा सबैभन्दा प्रमुख रोल चाहिँ उहाँ (बामदेव) को छ भन्छु । किनभने उहाँलाई धेरै आरोप थियो हिजो पनि माओवादी बन्यो भन्ने ।

पार्टी एकताका लागि पनि बामदेव गौतमकै मुख्य भूमिका रहृयो । को-को चाहिँ पार्टी मिलाउनुपर्छ भन्ने र को को हुँदैन भन्ने थिए ? सबैलाई थाहा छ । यो पार्टी एकता त बामदेव कमरेडकै जिकरमा भएको हो । त्यसकारण यत्रो कम्युनिस्ट पार्टी बनाउने कुरा चानचुने होइन ।

अब तपाईको कुरालाई यसरी संश्लेषण गरियो भने सही हुन्छ कि हुन्न ? केपी ओलीलाई संसदीय दलको नेता बनाउने, पार्टी अध्यक्ष बनाउने, पार्टी एकता गर्ने, संविधान निर्माणमा नेतृत्व गर्ने बामदेवको भूमिकालाई तपाईले सम्मान गर्न खोज्नुभयो । तर, ओलीले चाहिँ नजरअन्दाज गर्नुभयो होइन त ?

नजरअन्दाज गरे गरेनन्, म हाम्रा श्रद्धेय अध्यक्षहरुलाई यसमा जोड्न चाहान्न । तर, वामदेव जुन सात सय मतले हार्नुभयो भनिएको छ, यसमा ठूलो षडयन्त्र त भएकै हो । धेरै कुरा त बाहिर आएका छन् । ५० वटा गाउँ रहेछन्, एकपटक छिरेपछि अर्कोमा के-के भयो थाहा नहुने । धेरै खेल भए । उहाँ हारेको होइन, हराइएको थियो ।

तर, यही प्रकरणले तपाईलाई विदेशीको एजेण्ट पनि बनायो नि होइन ?

आरोप लगाउने श्रद्धेय नेताहरुले प्रमाणित गर्नुभयो भने म यो देशमा बस्दिनँ । यति मात्र होइन ममाथि चारवटा मुख्य आरोप लागेको तपाईले पनि भन्नुभयो ।

केपी ओली हटाउने, पैसामा सांसद पद बेचेको, भारतीय डिजाइनमा काम गरेको र पार्टीमा नेताहरुबीच अविश्वास सिर्जना गराउने मतियार बनेको आरोप लगाइएको छ । यी चारवटै कुरा प्रमाणित भयो भने देशमै बस्दिना म । राजनीतिको त कुरै छाडौं, देशै छाड्छु ।

केपी ओलीसँग के कुरा नमिलेर एउटा कित्ताबाट अर्को कित्तामा पुग्नुभयो त होइन ?

म हिजो नेकपा एमालेमा थिएँ, आज नेकपामा छु । प्रचण्ड अध्यक्ष होइन भनेर कसैले भन्देओस् न त ।

केपी ओलीले मन्त्री नबनाएको झोंक हो कि ?

मन्त्री बनाउन चाहेका भए अरु पनि बन्थे नि । मैले आग्रह राखेको होइन । योग्य र क्षमतावानलाई मन्त्री बनाउनुस् मात्र भनेको हो ।

दुईपटक सांसद पनि हुनुभयो तर मन्त्री पनि बन्न नपाउने, संसदीय समितिको सभापति पनि पाउनुभएन, केन्द्रीय सदस्य पनि पाउनुभएन, त्यसैले पनि तपाईमा फ्रस्टेशन आयो कि ?

होइन, मैले भनिसकेँ नि । म देशै छाड्न तयार हुने मान्छे । पार्टीले जिम्मा दिएको पूरा गर्ने हुँ । ५७ वर्षको उमेर पुग्दा फ्रस्टेशन भएर भाग्नेवाला होइन । प्रधानमन्त्री केपी ओलीको जुन कुरा गर्नुभयो, पार्टीमा उहाँले मिलाउन नसकेको चाहिँ हो ।

आज पार्टीमा लथालिंग अवस्था छ । सरकारको अवस्था त्यस्तै छ । यसको दोष कसले लिने त ? मैले यति प्रश्न गरेको हुँ । मलाई अरु लोभ होइन । वडाध्यक्ष दुई पटक, सांसद दुईपटक भइसकेँ । मैलेमात्र किन, अरु साथीले पनि पालो पाउनुपर्छ भन्ने मान्छे हुँ म त ।

तपाईलाई मन्त्री बनाउने आश्वासन दिइएको थियो रे नि प्रचण्ड र बामदेवबाट होइन ?

मन्त्री त पार्टीले बनाउन चाहे म उपप्रधानमन्त्रीसम्म पनि हुन सक्छु नि । प्रधानमन्त्री बन्नचाहिँ संसदीय दलको नेता हुनुपर्छ ।

मन्त्रीचाहिँ ग्यारेन्टी गरिएको थियो ?

पार्टीले चाहृयो भने मन्त्री पनि दिन्छ, केन्द्रीय सदस्य र राष्ट्रियसभामा पनि लान सक्छ । तर, मलाई कसैले पनि यी पद दिने भनेको होइन र मैले मागेको पनि होइन । पार्टीले आवश्यक ठान्यो भने कुनै दिन मलाई दिन्छ होला ।

तर्पाइले केपी ओलीको चाहिँ साह्रै चित्त दुखाउनुभयो होइन त ?

पाँच हजार केन्द्रीय सदस्य भएको पार्टीलाई ४४१ मा अटाउने मान्छे पनि प्रचण्ड नै हो । प्रचण्डको आधारमा चाहिँ धेरै कुरा हामीले सिक्नुपर्छ, यदि कम्युनिस्ट पार्टी बनाउने हो भने ।

चित्त दुःखाउनु नपर्ने हो । उहाँले त चित्त दुखाउनु नपर्ने हो, पार्टीका लागि त्याग गर्ने कार्यकर्ता पनि रहेछन् भनेर खुसी हुनुपर्ने हो ।

यो प्रकरणले अघि नै धेरै च्याप्टर क्लोज र चलखेलका कुरा हामीले गर्‍यौं, अर्को कुराचाहिँ प्रचण्डले कुनै पनि बेला केपी ओलीलाई छिर्के हान्छन् भन्ने देखियो भन्छन् नि, यसमा तपाई सहमत हुनुहुन्छ ?

म त मेरो पार्टीको सवालमा धेरै कुरा गर्न चाहान्न । दुई तिहाईको हाराहारीमा आएका छौं । भारतको कांग्रेस आईजस्तो जिरो हुने हो ? होइन भने हामीले यो सफलतालाई टिकाउनुपर्छ । हामीलाई आएको अवसर प्रयोग गर्नुपर्छ ।

बामदेवलाई फेरि पनि संसदमा ल्याउनुपर्छ । अहिले धेरै दम्भ नगरे हुन्छ । हेर्नुस देश चलाउन एउटा मान्छेको खाँचो छ । तपाईले जुन दृष्टिकोणले मलाई प्रश्न सोध्नु भएको छ म अब केही भन्छु ।

दश वर्षको जनयुद्ध लड्ने मान्छे त प्रचण्डनै हो नि त । तपाई मान्नुस् कि नमान्नुस् यो गणतन्त्र ल्याउने मान्छे पनि प्रचण्ड नै हो । मिलाउनुपर्छ भन्ने आशयले दुई ठाउँमा हारेको मान्छे (माधव नेपाल) लाई प्रधानमन्त्री बनाइदिने मान्छे पनि यही प्रचण्ड हो । र, आज प्रचण्डले जुनसुकै मूल्य चुकाएर पनि पार्टी एकता गरेको हो ।

पाँच हजार केन्द्रीय सदस्य भएको पार्टीलाई ४४१ मा अटाउने मान्छे पनि प्रचण्ड नै हो । प्रचण्डको आधारमा चाहिँ धेरै कुरा हामीले सिक्नुपर्छ, यदि कम्युनिस्ट पार्टी बनाउने हो भने । हामीले यस्तो नेता प्राप्त गरेका छौं । नराम्रो कुरा सोच्ने हो भने धेरै कुरा आउँछ हेर्नुस । तर, राम्रो सोचौं ।

देश बनाउने एउटा व्यक्ति चाहियो भनेर पटक-पटक भन्नुभयो, त्यो एउटा व्यक्ति प्रचण्ड हो कि वामदेव ?

मैले ठ्याक्कै नाम भन्न अहिले चाहान्न हेर्नुस । तर, हाम्रो पार्टीको सचिवालयका नौजना नेताले देश चलाउने हो । उहाँहरुमध्येबाटै आउनुपर्छ । हामीले अन्त खोजेर हुँदैन । हामीले अहिले विकल्पको कुरा पनि नगरौं ।

दुई वर्षपछि महाधिवेशनमा जान्छौं भनेकै छौं । त्यसपछि त दृश्य स्पष्ट हुन्छ । एकजना मान्छे मात्रै अध्यक्ष हुने भनिएकै छ । अध्यक्ष पनि, प्रधानमन्त्री पनि एउटै व्यक्ति हुनुहुँदैन भन्ने हाम्रो पार्टीको सिस्टमभित्रै परेको छ । भोलि त्यो सिस्टमले त बताइहाल्छ ।

त्यसकारण मलाई लाग्छ, अलिकति समयचाहिँ कुर्नुपर्छ । जुन ठाउँमा हामी आएका छौं, त्यो अवस्थामा केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । अर्को ठाउँमा हामीले त्यो व्यक्ति भेटाउँछौं । त्यो व्यक्ति प्रचण्ड पनि हुन सक्छ,बामदेव पनि हुन सक्छ । अहिले नै भन्यो भने फेरि अर्को कुरा हुन्छ ।

तपाईले अनलाइनखबरमार्फत् आफ्ना कुरा राख्नुभयो, धन्यवाद…

तपाईलाई पनि धन्यवाद । अहिले जे भयो, यस्ता कुराबाट डिप्रेसनमा कोही नआइदिए हुन्थ्यो भन्ने आग्रह पनि छ ।

को डिप्रेसनमा आयो र यो प्रकरणबाट ?

कोही पनि भएको पनि हुन सक्छ । तर, म चाहिँ हुन्न । मैले केही संकेत पाएको छु, कोही नेता डिप्रेसनमा आएको कुरा उनीहरुका अभिव्यक्तिबाट थाहा हुन्छ ।

होइन, पार्टी सचिवालय बैठकमै यो कुरा उठेको छ नि, तपाईले शीर्ष नेतृत्वलाईनै लक्षित गर्नुभएको हो ?

हो, बैठकमै पनि यो कुरा आयो रे । म यतिमात्र भन्छु- जजसले यो प्रकरणमा आलोचना गर्ने काम गर्छ, ऊ डिप्रेसनमा जान्छ । मैले आफ्नो कुरा काहीँ पनि फेरेको छैन । मैले त नेता कमरेडहरुलाई पनि भनेको छु- मलाई सचिवालय बैठकमै बोलाएर सफाइ दिने अवसर दिलाउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment