Comments Add Comment

द्वन्द्वपीडितको गुनासो : बाह्र वर्षमा पनि खोलो फर्किएन

४ मंसिर, काठमाडौं । तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको औपचारिक अन्त्य भएको बाह्र वर्ष पुगेको छ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भनिन्छ ।
तर, जनयुद्धका पीडित परिवारहरुले अहिलेसम्म पनि न्यायको अनुभूति गर्न सकेका छैनन् ।

०५१ सालदेखि सुरु भएको जनयुद्धका क्रममा दुवै पक्ष गरी १७ हजारभन्दा बढीको मृत्यु भएको थियो । कैयौं वेपत्ता भए भने कैयौं अङ्गभङ्ग भएका छन् । द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट परिवारका सदस्य गुमाएकाहरुको आँशु अझै सुकेको छैन ।

घाइते/अपाङ्ग भएका वा दुबैपक्षबाट चरम यातना पाएहरु कष्टकर जीवन बाँचिरहेका छन् । यत्रो बलिदानीबाट आएको गणतन्त्रको फल उनीहरुले चाख्न सकेका छैनन् ।

०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादीबीच १२ बुँदे शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौता भएको बाह्र वर्ष पुगेको अवसरमा ‘द्वन्द्वपीडित साझा चौतारी’ ले राजधानीमा मंगलबारदेखि दुई दिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा सहभागी द्वन्द्वपीडितहरुले बाह्र वर्षमा समेत खोलो नफर्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्मेलनमा सहभागी केही पीडितहरुसँग तत्कालिन घटना, राजनीतिक परिवर्तन र राज्यसंगको गुनासाहरुबारे कुराकानी गरेका थियौं । उनीहरुको भनाइ जस्ताको तस्तैः

हिरा भण्डारी, कञ्चनपुर

०५८ साल पुष १७ गते साँझ मेरो श्रीमान (रजनाथ भण्डारी) र म खाना बनाउने तयारीमा थियौं । बच्चाहरु कोही खेल्न निस्केका थिए भने कोही स्कुलको गृहकार्य गर्दै थिए ।
त्यत्तिकैमा आँगनमा एक हुल सैनिक जवानहरु आए र केही सल्लाह गर्नु छ भन्दै श्रीमानलाई पल्लो घर हिँड्न आग्रह गरे । पल्लो घर टेकराज पाण्डेको थियो र उनका छोरा नेपाल प्रहरीमा जागिरे थिए । उनीहरुले मेरो श्रीमानलाई लगे । केही बेरपछि श्रीमानसहित अन्य पाँच जनालाई मेरो घरमा लिएर आए । अनि आँगनमा लस्करै उभ्याएर हाम्रै अगाडि कुट्न थाले ।

‘तिमीहरु माओवादीलाई सहयोग गर्ने ? हाम्रो सुराकी गर्ने ?’ भन्दै यातना दिए । हामी रोइकराई गरिरह्यौं । पेशा के–के हो भन्दै टिपे । फेरि एकछिन सल्लाह गर्न भन्दै पाण्डेको घर जाउँ भने । मैले ‘यो राति किन लैजाने ?’ भन्दै प्रतिवाद गर्न खोजेँ । उल्टै मलाई ‘मर्न मन छ ?’ भन्दै बन्दुकको नालले हिर्काए ।

त्यही बेला एउटाले भन्यो, ‘अहिले रुने बेला भएको छैन । भोलि सिन्दुर पुछ्ने बेला रोलिस ।’

अर्कोले थप्यो, ‘रुन पर्दैन, हामी आउँछौं नि ।’

म श्रीमानको खुट्टामा भुन्डिरहेँ । बन्दुकको नालले मलाई धकेले र श्रीमानलाई लगे । अलि परसम्म पछि–पछि गएँ । मलाई फेरि बन्दुकले हिर्काए, त्यसपछि म बेहोस भएछु ।

राति नै ३६ राउण्ड हवार फायर भयो । त्यहि आवाजले ब्युझिएँ । अत्तालिँदै श्रीमानलाई लगेको भनिएको पाण्डेको घरमा पुगेँ । तर, त्यहाँ कोही थिएनन् । सैनिकहरुले त्यहाँबाट पनि मलाई लखेटे । भोलिपल्ट सदरमुकाम जान्छु भनेर हिँड्दा खोला किनारमा कसैको जुत्ता, कसैको ज्याकेट, कसैको घडी फेला पर्‍यो । म जिल्ला प्रहरी कार्यालय पुगेँ । त्यो बेला जिप्रकामा ईश्वरी खरेल हुनुहुन्थ्यो । उहाँले घटना सुनाउँदा सुनाउँदै म फेरि बेहोस भएँ ।

मेरो श्रीमानको हत्या भइसकेछ । त्यो रात उहाँसहित पाँच जनाको हत्या भएको रहेछ । घरभित्रै बसेर किरिया गर्‍यौं । किरिया सकिएपछि सेतो लुगा लगाएर हिँड्दा माओवादीहरुले टर्चर दिइरहे । श्रीमानलाई त मारे, मलाई पनि मारे मारुन् भनेर घर भने छोडिनँ ।

शान्ति प्रक्रियामा आएपछि आफू जस्तै द्वन्द्वपीडितका अनेकन समस्याहरु समाधानका लागि संगठित हुनुपर्छ भन्ने लाग्यो । अहिले न्यायको लागि द्वन्द्वपीडित समाजकी उपाध्यक्ष र द्वन्द्व प्रभावित महिला सञ्जालको अध्यक्ष छु । संगठित भएपछि आफ्ना छोरीछोरी पढाउन र अन्य कुरामा सहज भएको छ ।

पीडितको हड्डीको कलम, रगतको मसी र छालाको काजजमा लेखिएको संविधानले हामीलाई सम्बोधन गर्नुपर्छ । युद्ध अपराधमा भएका घटनाहरु हुन् भनेर राज्य पन्छिन मिल्दैन ।

शिवहरि पोखरेल, दोलखा

९ फागुन, ०५६ मा घरमै सुतिरहेको थिएँ । १५/१६ जना माओवादीहरु आएर उठाएर लगे । नजिकैको गोल्मेश्वर स्कुलमा लगेर सुराकीको आरोप लगाउँदै धेरै कुटे । मेरो देब्रे गोडा भाँच्चियो । अहिले पनि देब्रे गोडाको घुँडाभन्दा तलको भाग लाटो छ । देब्रे हात, बायाँ करङ, दाहिने हातको कान्छी र बुढी औंला समेत भाँच्चिएको छ । औंलाले अहिले पनि काम गर्दैन ।

यस्तो चरम यातना दिएर मलाई छाडिदिए । त्यो बेला उजुरी गर्ने अवस्था थिएन । उजुरी गरिस् भने मारदिन्छु भनेर पनि धम्क्याए । म भोलिपल्टै काठमाडौं हिडेँ । लगत्तै मेरो परिवारका सबै सदस्य काठमाडौं आए । त्यो घटना लगत्तै हाम्रो ६ जनाको परिवार गाउँबाट विस्थापित भयो । केही समय आफन्त कहाँ बस्यौं । सामान्य उपचार पनि गरेँ ।

पछि जग्गा बेचियो र त्यो पैसा बैंकमा राखेर आएको ब्याजले परिवार चल्न थाल्यो । देशमा शान्ति आयो भने तर, मलाई फर्किएर जान डर लाग्थ्यो । तैपनि ०७२ मा आफ्नो घर पुगेँ ।

हामीलाई विस्थापितको सूचीमा राखिएको छैन । जबकि मैले विस्थापितको सूचीमा नाम लेखाएको थिएँ । जिल्लाले सिफारिस पनि गरिदिएको थियो तर, माथिको कार्यदलले नाम काटिदिएको भनियो । मेरो शरीर अहिले पनि अशक्त छ । तर, मेरो अपांगता १५ प्रतिशत मात्रै भनेर ३० हजार दिइयो । सरकारी राहत पाएको यत्ति हो ।

चन्द्रमान गिरी, सल्यान

मेरो छोरो लोकेन्द्र माओवादी युद्धमा होमिएको थियो । अधिकारका निम्ति भनेर माओवादीमा लाग्यो तर, ०५६ सालमा मेरो २५ वर्षको लक्का जवान छोरासहित ६ जनाको तत्कालीन शाही सेनाले हत्या गर्‍यो । त्यो घटना हुँदा बुहारी पनि सँगै रहिछन् ।

बुहारीसँग चार महिनाको नाति थियो । छोरा र बुहारीको सम्बन्ध थाहा नपाएर उनीहरुलाई छाडिदिएछन् । युद्धमा के–के भए भन्ने भन्दा पनि अब फेरि त्यो खालको अवस्था नदोहोरियोस् । हिजो टाउकोको मोल तोक्नेहरु अहिले सँगै बसेर खान्छन् । यसैगरी देशमा शान्ति कायम रहोस् र जुन पक्षले मारेको भए पनि तिनका परिवारलाई राज्यले हेरिदियोस् भन्ने नै हाम्रो चाहना छ ।

यिनै कुरा राखौं भनेर काठमाडौं आएको हुँ । दुई दिन आउन, दुई जान, दुई दिन यो सम्मेलन भन्दा ६ दिन वित्ने भो ।’

उदयकुमार साह, सर्लाही

०५८ सालमा घरमै सुतिरहेको अवस्थामा मेरो बुबालाई ३०/४० जना प्रहरीको समूह आएर उठाएर लग्यो । राम्रोसँग कपडा पनि लगाउन नदिई प्रहरीले लगेको मेरो बुबाको अवस्था अझै अज्ञात छ ।

करिब एक महिनापछि प्रहरीकहाँ गएर बुझ्दा छोडिसक्यौं भन्ने जवाफ दिए । कसको रोहबरमा छोडेको भनेर सोध्दा प्रष्ट जवाफ दिएनन् । धेरै सवालजवाफ गर्न सक्ने अवस्था थिएन ।

शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका छौं तर, बुबाको मृत्यु भएको हो वा होइन भन्ने प्रष्ट जवाफ अझै कतैबाट आएको छैन । अहिले म द्वन्द्वपीडित साझा चौतारीका प्रदेश नम्बर दुईको संयोजक छु । प्रदेश दुईमा मात्र करिव ७० जना वेपत्ताको सूचीमा छन् । अझै पनि बुबाको अवस्था पत्ता लगाएर छोड्छु भनेर लागिपरेको छु ।

मोहितनारायण साह, सिराहा

मेरो भाइ शुकदेव ०५८ मा माओवादी सेनाको पूर्वी डिभिजन कमाण्डर भएर सेनासँग लड्न भोजपुर गएको थियो ।

तर, कहिल्यै फर्केर आएन । उ जिवित छ वा छैन भन्नेसम्म पनि हामीलाई थाहा छैन । माओवादीलाई भन्यौं, सिडियो कार्यालयमा गएर भन्यौं तर केही पत्तो लागेको छैन ।

शान्ति सम्झौता भएको पनि १२ वर्ष भइसक्यो तर, मेरो भाइ अझै वेपत्ताको सूचीमै छ । सँगै गएका उसका साथीहरुले भने शुकदेवको मृत्यु भएको भनेर त्यतिबेलै भनेका थिए । तर, आधिकारिक पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment