Comments Add Comment

त्यो दिन बुवाले सोध्नुभयो, कुन बुट किन्ने ?

जीवन सधैं आफूले सोचेको दिशामा अघि बढ्दो रहेनछ । यसको ज्वलन्त उदाहरण म आफैं हुँ ।

सानो छँदा मैले फुटबल खेलाडी बन्ने सोचेकै थिइनँ । खासमा म फुटबल त्यति रुचाउँदिनथे । मेरो सपना त डान्सर बन्ने थियो । तर, समयले भनौं या भाग्यले मलाई फुटबल मैदानमा हेलिदियो । अन्ततः यही खेलले मलाई चिनायो ।

आज जे छु फुटबलकै कारण छु ।

२०७३ कात्तिकतिर घरैमा खेलिरहेको थिएँ । मेरो खेल देखेर एक जना दाइले सातदोबाटो युथ क्लबमा लैजानु भयो । त्यतिबेला मैले फुटबल राम्ररी बुझेकै थिइनँ । त्यसपछि दैनिक अभ्यास गर्न थालेँ । अशोक राई सरले मलाई निकै प्रेरणा दिनुभयो । उहाँकै कारण फुटबलमा अघि बढेको हुँ । तर, ट्रेनिङमा जान थालेको थाहा पाएपछि बाबाले हप्काउनुभएको थियो । तर, मैले फुटबल नै खेल्छु भन्ने निर्णय लिएँ ।

अभ्यास राम्रो हुँदै गएपछि उहाँहरुले मलाई टिममा राख्नु भयो । कन्ट्रयाक पनि गरेँ । पहिलोपटक फुटबलबाट पैसा पाएको त्यही बेला हो । पाँच हजार पाएको थिएँ । ‘किट्सहरु किन्नु’ भनेर सरले दिनुभएको थियो । त्यो पैसा मैले घरमा दिएँ । बाबा खुशी हुनुहोला भनेको त मलाई उल्टै धोबी (धेरै) पिट्नुभयो ।

०००

ओखलढुंगाको रगनी भन्ने स्थानमा जन्मिएको हुँ । दुई वर्षको उमेरमा मलाई बाबा-आमाले काठमाडौं ल्याउनुभएको रहेछ । त्यसैले मलाई गाउँको माहोल केही सम्झना छैन । छोराछोरीका भविष्य खोज्दै बाबाआमा काठमाडौं छिर्नु भएको थियो । त्यसबेला बाबा ज्याला-मजदुरी गर्नुहुन्थ्यो । कामको खोजीमा पोखरासम्म पनि पुग्नुहुन्थ्यो । जहाँ जे काम पाइन्छ, त्यही गर्नुहुन्थ्यो ।

छोरालाई अब गतिलै स्कुलमा पढाउँ भनेर बाबाले डनबोस्को स्कुलमा ६ कक्षामा भर्ना गरिदिनुभयो । तर, मलाई पढ्न खासै मन लाग्दैनथ्यो । मेरो रुचि थियो डान्स ।  जसरी हुन्छ डान्सर बन्ने सोच राखेको थिएँ

हामी पाटनमा बस्थ्यौं । घरको आर्थिक अवस्था निकै नाजुक थियो । बिहान खाए बेलुका के खाने भन्ने हुन्थ्यो । बाबाले दिनरात काम गर्दा पनि खासै पैसा कमाई हुँदैनथ्यो । मलाई थाहा भएअनुसार बाबाको दैनिक ज्याला ६० रुपैयाँ थियो ।

त्यसैले सबैथोक पुर्‍याउनुपर्ने । अभावै अभावमा हुर्केको भएर भएर होला मेरो मनमा सधैं पैसा कसरी कमाउने कुरा मात्र घुम्न थाल्यो । सानो छँदा म मन्दिरमा फ्याँकिएका पैसा टिप्ने गर्थेँ । यसरी टिपेको पैसाले साइकल चलाउथेँ । ५ रुपैयाँमा केहीबेर साइकल चलाउन पाइन्थ्यो । खुब रमाइलो लाग्थ्यो ।

अब यसरी सधैं चल्दैन भन्ने लागेर बाबाले हामीलाई इमाडोलमा सार्नुभयो । तर, त्यहाँ पनि सुरुमा हामीलाई निकै गाह्रो भयो । त्यसपछि बाबाले आफ्नै फर्निचर खोल्नुभयो । अनि बल्ल आर्थिक अवस्थामा बिस्तारै सुधार हुन थाल्यो ।

त्यसपछि बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो । तर, अंग्रेजी माध्यमबाट पढ्दा मलाई निकै गाह्रो पर्‍यो । तीन पटकसम्म फेल भएँ । बिस्तारै अंग्रेजीमा सुधार हुँदै गयो । फर्निचरको व्यवसाय पनि पनि राम्रो हुँदै थियो । बाबा दिनरात काम गर्नु हुन्थ्यो ।त्यतिबेला पढ्ने भन्दा पनि काम गरेर पैसा कमाउनुपर्छ भन्ने बुझाई थियो । म स्कुल नगएर काम गरेको देखेपछि छिमेकीले बाबालाई सम्झाउनु भएछ । मलाई सरकारी स्कुलमा कक्षा १ मा भर्ना गरिदिनुभयो । दुई कक्षासम्म त्यहाँ पढेँ ।

छोरालाई अब गतिलै स्कुलमा पढाउँ भनेर बाबाले डनबोस्को स्कुलमा ६ कक्षामा भर्ना गरिदिनुभयो । तर, मलाई पढ्न खासै मन लाग्दैनथ्यो । मेरो रुचि थियो डान्स ।  जसरी हुन्छ डान्सर बन्ने सोच राखेको थिएँ । फुटबल त त्यतिबेला मेरो दिमागमै थिएन । बरु दौड प्रतियोगिताहरुमा भाग लिन्थेँ ।

स्कुल प्रतियोगितामा १००/२०० मिटर दौडमा भाग लिन थालेँ । गोल्ड मेडल जितिरहेको हुन्थे । बास्केटबल, भलिबलदेखि ब्याडमिन्टन पनि खेलियो । स्कुलले अतरिक्त क्रियाकलापहरु गरिरहन्थ्यो । म जुन खेलमा हात हाल्दा पनि कि गोल्ड कि सिल्भर मेडल जितेकै हुन्थेँ । धेरै रुची चाहीँ कि म्याराथन कि डान्समै हुन्थ्यो । म सबै प्रकारको डान्स गर्न सिपालु । त्यसबेला भारतीय टेलिभिजनमा आउने डीआईडी नेपालमा पनि धेरै पपुलर थियो । त्यो हेरेर पनि नाच्न सिकियो । मेरो बिबोइङ र हिपपमा विशेष दख्खल थियो ।

तर, खेलकुद वा डान्समा भाग लिएको घरमा थाहा दिन्नथेँ । एकपकटक थाहा पाएर खुब गाली गर्नुभयो । सबै अभिभावकको चाहना छोराछोरी डाक्टर, इन्जिनियर, हाकिम बनुन् भन्ने हुन्छ । मेरा बाबाआमाको पनि यही थियो । अन्ततः निकै कडाई गर्न थाल्नुभयो र यता जा, यता नजा, यो गर, त्यो नगर अर्डरमाथि अर्डर ।

०००

म कक्षा ९ मा पढ्दै गर्दा कोकाकोला कप फुटबल हुने भयो । दौडमा भाग लिइरहने हुँदा मेरो स्पिड राम्रो थियो । टिम नपुगेपछि दाइहरुले मलाई फुटबल खेल्न बोलाउनुभयो । मलाई फुटबल मनै पर्दैनथ्यो तर दाइहरुको आग्रह टार्न नसकेर खेलेँ । विस्तारै मलाई फुटबल पनि रमाइलो लाग्न थाल्यो ।

पहिलोपटक खेल्दा म डिफेन्डरको भूमिकामा थिएँ । कोकाकोला कपको पहिलो खेलमा हामीले जुद्धोदय स्कुललाई पराजित गरेका थियौं । दोस्रो खेलमा गान्धी स्कुलसँग खेलेका थियौं । मेरो खेल निकै राम्रो भयो । त्यही हेरेर एन्फा एकेडेमीमा बोलाउने कुरा भएछ । त्यसका लागि अभिभावकको हस्ताक्षर चाहिन्थ्यो ।

एन्फाबाट आएको लेटर मैले बाबालाई दिएँ । तर बाबाले मलाई खेल्न जाने अनुमति दिनुभएन । यति मात्रै हैन, मलाई यो फिल्डमा कहिले नलाग्न चेतावनी नै दिनुभयो । तर, मलाई फुटबलको रस पसिसकेको थियो ।

मेरो दिदी जहिले स्कुल टपर । त्यसकारण बाबा आमाले मलाई जहिल्यै दिदीको उदाहरण दिनुहुन्थ्यो । म प्राय तेस्रो, चौथो, पाँचौ हुन्थेँ । बाबाको चेतावनीपछि मैले पनि फुटबल बिर्सेर पढाईलाई फोकस गरेँ । एसएलसी परीक्षामा राम्रो नतिजा ल्याएँ । ७६ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएको थिएँ । एसएलसीपछि तीन महिनाको समय फुटबल प्रतियोगिता खेल्ने अवसर मिल्यो । त्यो प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्दै ५ खेलमा दर्जन गोल गरेँ । अरु खेलाडीभन्दा निकै छरितो थिएँ । सबैले मलाई प्रोत्साहन दिन थाल्नुभयो ।

११ पढ्दै गर्दा मैले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई फलो गर्न थालेँ । आफ्नो घरमा टिभी थिएन । साथीको घरमा गएर हेर्थेँ । फेरि फुटबलमा मेरो सक्रियता बढ्दै गएको थाहा पाएपछि बाबाआमाले भयानक धुलाई गर्नुभयो ।

पिटाईकै बीच भनेँ, ‘म कि त फुटबलतिर जान्छु, कि डान्सतिर ।’ आमाले सम्झाउन थाल्नुभयो, ‘यो दुई वर्ष केही नगरी पढाईलाई मात्रै ध्यान दे । १२ सकेपछि जे गर्नु मन छ त्यो गर ।’

त्यसपछि मैले फेरि दुई वर्ष फुटबलबाट टाढिने निधो गरेँ ।

क्याम्पियन कलेजमा भर्ना भएर पढेँ । ११ मा मेरो एकाउन्टमा निकै राम्रो नम्बर आएको थियो । त्यसपछि अब चाहिँ म पढाईमै लाग्ने निर्णय लिएँ । म कलेजको टपर नै भएँ । कलेजमा मिस्टर एन्ड मिसेस कलेज भन्ने हुन्थ्यो । त्यसमा मोडलिङ, पब्लिक स्पिकिङ आदि हुन्थ्यो । यसमा भाग लिएपछि बोल्नेदेखि नेतृत्व क्षमता विकास भयो । कलेजमा ‘यो केटाले चाहिँ केही गर्छ’ भन्ने भएको थियो । कलेजमा भएको फुटबलमा भाग लिएर पनि मैले राम्रो प्रदर्शन गरेको थिएँ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बनेँ । त्यसपछि त फुटबल नखेल्ने भन्दाभन्दै पनि आफूलाई रोक्नै सकिनँ । मेरो खेल देखेर कलेजले प्रशिक्षक दिने प्रस्ताव गर्‍यो तर, मलाई थाहा थियो कि परिवारबाट सपोर्ट हुँदैन ।

१२ कक्षामा पढ्दा स्कुलमा बोस्को कप भयो । त्यसबेला म खाली खुट्टा नै खेल्ने गर्थें । निकै कष्टप्रद हुन्थ्यो । त्यो मैले दिदीहरुलाई सुनाउँथेँ । उहाँहरुले तिहारको पैसा बचाएर ५०० रुपैयाँ दिनु भएको थियो, जसले एकजोर जुत्ता किनेँ ।

००००

मेरो अंकलको मोबाइल पसल छ । उहाँले मलाई काम गर्न बोलाइरहनु भएको थियो । ‘पकेट मनी’ हुन्छ भनेर काम गर्न थालेँ । ओप्पोमा कामदारको रुपमा आवद्ध भएँ । विस्तारै काम बुझ्दै गएँ । काम गर्दै जाँदा कम्पनीबाट पनि राम्रो प्रतिक्रिया आउन थाल्यो । एकपटक कम्पनीको ‘इम्प्लोइ अफ द मन्थ’ पनि भएँ । त्यसपछि ग्रुप लिडर भएर काम गरेँ । मेरो एरिया ललितपुर साइडतिर हुन्थ्यो । ललितपुरमा ओप्पोको बिक्री बढाउन मैले निकै मिहिनेत गरेँ ।

कम्पनीले दिने तालिमका क्रममा मैले आफ्नो व्यक्तिगत विकास कसरी गर्ने ? अरुलाई कसरी विश्वासमा लिने जस्ता कुराहरु सिकेको थिएँ । मैले पनि यो कुरा परिवारमा लागु गर्न खोजेँ, किनकी मलाई फुटबल खेल्नु थियो । सुरुमा आमालाई सम्झाएँ । बल्लतल्ल आमाले मान्नु भयो तर, अझै बाबाले मान्नु भएन ।

कम्पनीबाट राम्रो प्रतिक्रिया पाइरहेको थिएँ । बोनस पनि आउने । घरमा पनि मेरो राम्रो कामको कुरा पुग्थ्यो । करिब नौ महिना ओप्पो मोबाइल सपमा काम गरेँ ।

एक दिन फुटबल अभ्यास गरेर घर फर्केको मात्र थिएँ, बुवाले एक्कासी सोध्नुभयो, ‘कुन बुट किन्छस् ?’

आमाले बाबालाई सम्झाउनु भएछ । तर, मलाई पूरै विश्वास भने गरिहाल्नु भएको थिएन । एकपटक मौका दिएर हेरौं न भनेर सोच्नुभएको रहेछ । अनि त विश्वासै नलाग्ने गरी बुवाले मलाई पसल लगेर बुट किनिदिनुभयो । म फुरुंग बनिहालेँ । अब चाहिँ खुलेर फुटबल खेल्न पाउने भएँ भनेर मन प्रफुल्लित बन्यो ।

मोबाइल सपबाट पनि साथ पाएँ । बेलुका तीन बजेदेखि बेलुका ६ बजेसम्म फुटबल ट्रेनिङ हुन्थ्यो । त्यो भनेको ग्राहक धेरै आउने टाइम हो । यस्तो बेलामा पनि मलाई छुट्टी मिल्यो । अब भने सातदोबाटो युथ क्लबबाट बी डिभिजन लिग खेल्ने भएँ ।

बी डिभिजनमा मैले डेब्यु गरेको पुल्चोकविरुद्ध हो । पहिलो हाफमै हामीले तीन गोल खाइसकेका थियौं । ४५ मिनेटपछि प्रशिक्षकले मलाई मैदान प्रवेश गराउनुभयो । ३ गोलले पछि परिसकेको अवस्थामा मैले कुनै चमत्कार गर्न सक्ने थिइनँ । तैपनि केही गोलका अवसर निकालेँ । लास्टमा बलले जाली चुमाएँ पनि । त्यो गोल ‘अफ साइड’ भयो । हामी यो खेलमा हार्‍यौं । त्यो ४५ मिनेट मात्रै थियो मेरो लागि बी डिभिजन । त्यसपछि खेल्न पाइनँ ।

म एकाएक फुटबलबाट टाढिएँ । चिन्ता लाग्न थाल्यो । आफैं ट्रेनिङ चाहिँ गरिरहेको हुन्थेँ । यहाँ खेल्नको लागि सम्पर्क चाहिँदो रहेछ । त्यो नभएपछि फेरि पसलमै काम गरेँ ।

२०७४ सालमै एक जना दाइले मलाई ट्रायलका लागि फ्रेन्ड्स क्लब लैजानु भयो । तर मलाई ‘बल ब्वाई’ बनाइयोे । खेलाडीले खेल्दा बाहिर गएको बल टिपेर ल्याउने । दैनिकी यसरी बित्न थाले । ट्रेनिङ किड्सदेखि सबै सामान मैले नै बोक्थेँ । त्यही बेला यू-१८ खेल्नका लागि एन्फाको नोटिस आयो । म फ्रेन्ड्सको टिममा परेँ । त्यसपछि दाइहरुले मलाई अभ्यास गराउन थाल्नुभयो ।

ललित मेमोरियल यू-१८ च्याम्पियनसिप प्रतियोगितामा म सेटमा परेको थिइनँ । पछि रविन दाइले ‘यो केटा टिममा पर्दैन भने म प्लेयर बक्समै बस्दिनँ’ भन्नु भएको छ । दाइलाई ममाथि भरोसा थियो । म पहिलोपटक सेटमा उत्रिँदा विपक्षी टिम थियो मनाङ मर्स्याङ्दी । मनाङविरुद्ध पहिलो काउन्टरमै मैले गोल हानेँ । अब बल्ल मलाई सबैले चिन्न र विश्वास गर्न थाले ।

सुदूरपश्चिमविरुद्ध मैले दुई गोल गरेँ । आर्मीसँग पराजित भयौं । तर एपीएफविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकाल्यौं । हामी सेमिफाइनलमा संकटासँग पराजित हुँदै बाहिरिएका थियौं । यू-१८ सकेपछि फेरि म पुरानै ठाउँमा आएँ, मोबाइल सप । ओप्पोबाट म जिओनीमा आवद्ध भएको थिएँ ।

यसरी नै दिन बित्दै थियो । एक दिन एन्फाबाट कल आयो । ‘साफ यू-१८ च्याम्पियनसिप’ का लागि खेलाडीको छनोट भइरहेको रहेछ । म पनि क्याम्पमा परेको थाहा पाएँ । मलाई विश्वास नै लागेको थिएन । त्यसैले एन्फामा गएरै आफ्नो नाम चेक गरेँ । त्यसबेला ७५ जना खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको रहेछ । त्यसबेला पहिलो, दोस्रो, तेस्रो राउन्ड गर्दै अन्तिम छनोट हुन्थ्यो । यतिबेला चाहिँ बाबाले मलाई पूरै साथ दिनुभयो ।

०००

पहिले कोकाकोला कप खेल्न आउँदा नै सपना बुनेको थिएँ कि कुनै दिन एन्फा कम्प्लेक्समा खेल्नेछु । हामीले यहीँ अभ्यास गर्न थाल्यौं । मैले आफ्नो मिहिनेतको पारो ह्वात्तै बढाएँ । मलाई पुष्कर शाही सरले धेरै गाइड गर्नुहुन्थ्यो ।

यू-१८ साफ च्याम्पियनसिपका लागि भुटान जानु अगाडि फाइनल स्वाक्वाड सार्वजनिक भयो । मलाई आशा नै थिएन छानिन्छु भन्ने किनकी फाइनल चरणमा म घाइते हुन पुगेको थिएँ । झिटिगुन्टा कस्न थालेको थिएँ, प्रिजेन लामाले भन्यो, ‘एकपटक हेरेर त जा ।’ अनि म हेर्न गएँ । अचम्म लाग्यो, म पनि छनोट भएछु । यसरी यू-१८ टिममा परेँ । भुटान जाने निश्चित भयो ।

भुटान पुगेपछि अनुभव गरेँ, खेलाडी हुनुको महत्व अनि गौरव । मेरो लक्ष्य नै थियो परिवारलाई एक दिन गौरवान्वित बनाएरै छाड्छु । पहिलो खेलमै मैले डेब्यु गरेँ तर, हामी हार्‍यौं । त्यसअघि नेपालले भुटानसँग कुनै पनि उमेर समूहमा र सिनियर टिममा हारेका थिएनौं । त्यसैले एकदमै नरमाइलो महशुस भयो ।

पहिलो खेलमै हारपछि सबैले इख राख्न थाले । मैले पनि राखेँ । जसरी पनि उपाधि जित्नुपर्छ भन्ने भयो । तर, त्यति सजिलो थिएन । हामीले दोस्रो खेलमा माल्दिभ्ससँग ३-० को जित निकाल्यौं । बंगलादेशलाई पनि पराजित गर्न सफल भयौं ।

अन्तिम खेल भारतसँग थियो । भारतलाई जिते हामी पहिलो हुने थियौं भने हार्दा तेस्रो । भारतलाई पराजित गर्दै हामी पहिलो हुन सफल भयौं । ट्रफी लिएर स्वदेश फर्किँदा हाम्रो वाहवाही भएको थियो । छाति गर्वले फुलेको थियो ।

त्यसपछि हाम्रो मिसन थियो, किर्गिस्तानमा हुने एएफसी यू-१८ क्वालिफायर्स । यो मिसनको लागि फेरि पहिलेकै ३० जनाको स्क्वाडलाई बोलाउने एन्फाले नोटिस जारी गरेको रहेछ । फेरि टिममा पर्नुपर्ने चुनौति खडा भयो । दशैं पनि राम्रोसँग मनाउन पाइएन । आफ्नो व्यक्तिगत तयारी थालेँ तर, अभ्यासकै दौरानमा म घाइते हुन पुगेँ । सम्भवत यही थियो मेरो टर्निङ प्वाइन्ट । मैले ३-४ दिन आराम गर्नुपर्थ्यो तर, समय थिएन । घाइते अवस्थामै अभ्यास थालेँ । तर धेरै गाह्रो हुन्थ्यो । रुन्थेँ पनि । तर, म टिममा पर्न सफल भएँ ।

मेरो लागि अर्को उपलब्धि थियो यो । किर्गिस्तानमा भने मैले कुनै पनि म्याचमा मौका पाइनँ । नेपालको प्रदर्शन पनि नाजुक रह्यो । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग हार्‍यौं । दोस्रो खेलमा ओमानसँग पनि ५-० ले पराजित भयौं । तेस्रो खेलमा युएईसँग १-० ले पराजित भयौं । तीनवटै खेलमा हामी पराजित भएपछि बाहिरियौं र एक गोल पनि नगरी स्वदेश फर्कियौं ।

०००

त्यसलगत्तै चन्द्रागिरी गोल्डकप भयो । त्यसमा मैले नसोचेको अवसर पाएँ, फ्रेन्ड्स क्लबले मलाई कप्तान बनायो । कुनै बेला यू-१८ टिमको सेटमा समेत राख्न हिच्किचाएको क्लबले अहिले सिनियर टिमकै कप्तानी दिनु मेरो लागि ठूलो थियो ।

अफिसमा बोलाएर कप्तानको जिम्मेवारी दिँदा छक्कै परेको थिएँ । किनभने मसँग अनुभव पनि थिएन । ए डिभिजन क्लबको सिनियर टिमबाट खेलेको पनि थिइनँ । तर, मेले उहाँहरुको विश्वास तोडिनँ । मेरै कप्तानीमा फ्रेड्न्स क्लबले चन्द्रागिरी गोल्डकपमा भाग लियो । पहिलो खेल हाम्रो ब्राइट युथ क्लबसँग थियो । त्यसमा मैले हृयाट्रिक गोल गरेँ । ए डिभिजन टिमबाट पहिलो खेल र पहिलो कप्तानीमा हृयाट्रिक गोल । म्यान अफ द म्याच पनि भएँ । टिमलाई जिताएँ ।

त्यसपछि सबैले तारिफ गर्न थाले । दाइहरुलाई झनै विश्वास बढेछ, मलाई निकै सहयोग गर्न थाल्नु भयो । मेरो लक्ष्य भनेको टिमलाई उपाधि दिलाउनु थियो । दोस्रो खेलमा संकटालाई हराएपछि फाइनलमा हाम्रो भेट हिमालयन शेर्पा क्लबसँग भयो ।

हामी पराजित भयौं । टिमले उपविजेतामै चित्त बुझायो तर, म टप स्कोरर भएँ ।

त्यसपछि मैले खप्तड गोल्डकप च्यासल युथ क्लबबाट खेलेँ । यो प्रतियोगिताले झनै मेरो खेल निखारेको महसुस भयो भने अन्य खेलाडीसँग व्यक्तिगत सम्बन्ध झांगियो । अनि जनजागृति क्लबबाट सिमरा गोल्डकप खेलेँ । मलाई विशाल श्रेष्ठ दाइले बोलाउनुभएको थियो । उहाँको मोटिभेसन म कहिल्यै बिर्सिन्नँ । त्यसपछि सर्लाहीमा, चितवनमा, नुवाकोटमा विभिन्न क्लबबाट प्रतियोगिताहरु खेलेँ ।

क्लबबाट खेल्दा पैसा आउँछ भन्ने कुरा मलाई थाहा थिएन । मोफसलमा खेल्न थालेपछि क्लबहरुले कति लिने ? भनेर सोध्थे । म कुनै माग राख्न सक्दिनथेँ । धेरै माग्दा टिममा नराख्ने पो हो कि भन्ने डर लाग्थ्यो । त्यसकारण म थोरै रकम भन्थेँ । उहाँहरु छक्क पर्नु हुन्थ्यो । मलाई पैसामा भन्दा पनि करिअरमा ध्यान थियो ।

मैले सम्झौता गरेर खेल्न थालेको यही ए डिभिजन लिगदेखि मात्र हो । पहिले यसरी खेलेको थिइनँ । क्लबले भनेको कुरा कहिल्यै काटिनँ । मेरो होम क्लब यही फ्रेन्ड्स क्लब हो । क्लबले पनि भरोसा गरेको छ । यो स्थानसम्म ल्याउन ठूलो भूमिका खेलेको छ । त्यो बेला मौका नपाएको भए, सायद म यो स्थानसम्म आइपुग्ने थिइनँ । मभन्दा पनि अनुभवी खेलाडी हुँदाहुँदै ह्वाई मप् ? भन्ने पनि लाग्थ्यो । यो मेरो मिहिनेतकै प्रतिफल होला सायद ।

कक्षा १२ सकेर अष्ट्रेलिया जाने तयारीमा रहेको मैले आईएलटीएसको परीक्षा पनि दिइसकेको थिएँ । तर, म यू-१८ टिममा परेपछि रोकिएँ । बल ब्वाइदेखि टिमको कप्तानसम्म भएँ । तर, पनि आफ्नो करिअरमा पूर्ण सन्तुष्ट भने छैन । अझै दुई-तीन वर्ष फुटबलमा प्रयास गर्छु । यसमा असफल भए बाहिर जाने विकल्प त छँदैछ ।

प्रस्तुतिः सरोज तामाङ

फोटोः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment