Comments Add Comment

कोटेश्वरमा जामः कहिले जाला घाम !

३ पुस, काठमाडौं । कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । कार्यालय समयमा प‍र्‍यो भने त २/३ घन्टै जाममा बित्छ । सडक जति नै चौडा भए पनि जाम घटेको छैन, बढेको बढ्यै छ ।

केही समयअघिसम्म सबैभन्दा बढी जामको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो । अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ । तर, कोटेश्वरमा भने तीनतिरको सडक चौडा भइसक्दा पनि जाम झन् बढेको छ ।

आखिर कोटेश्वरमा जाम किन बढिरहेको छ ? जानकारहरुका अनुसार कोटेश्वरमा ट्राफिक जाम बढ्नुका केही कारण यस्ता छन्ः

अघोषित बसपार्क

धुलिखेलतर्फबाट आउने गाडीहरु भक्तपुरको ६ लेनको सजिलो बाटोबाट छिट्टै कोटेश्वरमा आइपुग्छन् । तर, चोकमा आइपुग्नुअघि नै लामो समय जाममा बस्नुपर्ने बाध्यता छ ।

खासगरी वीपी राजमार्ग भएर पूर्वतिर जाने, अरनिको राजमार्गमा चल्ने तथा भक्तपुर र काभ्रेका ग्रामीण भेगहरुमा जाने सवारी साधनको चापले कोटेश्वरमा सास्ती बढेको छ । ती रुटमा चल्ने गाडीको अघोषित बसपार्कजस्तै बनेको छ कोटेश्वर ।

बनेपा–सिन्धुली–बर्दिवास सडकखण्डमा गाडी चल्न थालेपछि कोटेश्वरमा चाप बढेको हो । सिन्धुली हुँदै झापासम्म चल्ने गाडीको स्टेशन कोटेश्वर नै हो ।

काठमाडौंबाट बाहिरिने सवारी साधन कोटेश्वर चोकमा पुगेर यात्रु ओराल्ने र पर्खेर बस्ने गर्छन् । कोटेश्वर चोक अघोषित बसपार्क बनेको छ ।

कोटेश्वर चोकको विमानस्थल कम्पाउण्ड अघिल्तिर भक्तपुरका विभिन्न क्षेत्र, बनेपा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जाने गाडी यात्रु कुरेर बसिँदा तिनकुनेसम्म असर पर्छ । ट्राफिक प्रहरीले लखेटिरहे पनि गाडीवालाले अटेर गर्ने गर्छन् । गाडीवालाहरु जाने ठाउँ पनि काहीँ छैन ।

टुँडीखेल क्षेत्रमा लागू गरिएको ‘पिक एण्ड ड्रप’ योजना कोटेश्वरमा पनि कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता देखिएको छ ।

कलंकीको अण्डरपास

कलंकी चोकमा अण्डरपास नबनुञ्जेल त्यहाँ एउटा गाडीलाई कम्तिमा आधा घण्टा जाममा बस्नैपर्ने बाध्यता थियो । पिक आवरमा त एक घन्टासम्म गाडीहरु कलंकीमै रोकिने गरेका थिए । अण्डरपास खुलेसँगै कलंकीबाट सजिलैसँग गाडीहरु पास हुन थालेका छन् र तिनीहरु चाँडै कोटेश्वरसम्म आइपुग्छन् ।

कलंकीको अण्डरपास सञ्चालनमा आएपछि कोटेश्वरबाट बालकुमारीतर्फ जाने गाडीको चाप पनि निकै बढेको छ । अण्डरपास खुलेपछि त्यताबाट आएका गाडीको लाइन पनि बालकुमारी पुलसम्मै पुगेको ट्राफिक प्रहरीको भनाइ छ । यस्तो अवस्थामा कोटेश्वरको ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

८ लेनको रिङरोड

चक्रपथको कोटेश्वर–कलंकी विस्तारको काम सकिएसँगै कलंकीबाट कोटेश्वरसम्म सहज रुपमा गाडी आउन थालेका छन् ।

पाँच वर्ष लगाएर विस्तार गरिएको चक्रपथ अन्तर्गत पहिलो चरणको कोटेश्वर–कलंकी १०.३९ किलोमिटर खण्डको निर्माण शनिबारमात्रै सकिएको छ । यो खण्ड ८ लेनको बनेको छ ।

अण्डरपास हुँदै कलंकीबाट बाहिरिएका सवारीलाई अब कोटेश्वरसम्म पुग्न धेरैबेर लाग्दैन । तर, कोटेश्वर चोकले ती गाडीहरुको चापलाई थाम्न सक्ने अवस्था छैन ।

सुरुङमार्गः गफमै सीमित

सडक विभागले तीनकुने–जडिबुटी खण्डमा सुरुङमार्ग (अण्डरपास) बनाउने रटान त्यागेको छैन । पछिल्ला दुई वर्षको बजेटमा समेत सरकारले कोटेश्वरमा अण्डरपास बनाउने योजना छुटाएको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा पनि कोटेश्वरमा अण्डरपास निर्माण गरिने उल्लेख गरेका छन् । अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अण्डरपास बनाइने उल्लेख थियो ।

सडक विभागले विमानस्थलमुनि सुरुङ तयार पार्ने काम आफ्नो इच्छाले मात्र सम्भव नरहेको राय राष्ट्रिय योजना आयोगलाई दिएको छ । तर, बजेटमा परेपछि अध्ययन अघि बढाउने योजनामा रहेको सडक विभागका अधिकारीले बताउँदै आएका छन् ।

विभागका प्रवक्ता मुक्ति गौतमको भनाइअनुसार हालसम्म सुरुङमार्ग बनाउने योजना ठोस रुपमा अघि बढेको छैन ।

विभागले अण्डरपास निर्माणको सम्भाव्यता अध्ययनका लागि जापानी नियोग जाइकालाई आग्रह गरेको छ । तर, उताबाट प्रष्ट जवाफ आएको छैन ।

‘प्रारम्भिक रुपमा हामीले जाइकालाई आग्रह गरेका छौं, उताको प्रतिक्रिया बुझेर अघि बढ्छौं, उनले भने ।

कोटेश्वरमा अण्डरपास निर्माण गर्ने विषयमा नागरिक उड्यन प्राधिकरणले भने अनविज्ञता प्रकट गर्दै आएको छ । विमानस्थल नजिकै भएकाले विभागले प्राधिकरणसँग यसबारे छलफल गर्ने बताउँदै आए पनि त्यो हालसम्म हुन सकेको छैन ।

सडक विभागले गत वर्ष नै विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव दिएको थियो ।

पूर्वाधारविदको प्रश्नः बानेश्वरमा पनि सुरुङ बनाउने ?

पूर्वाधारविदहरु भने कोटेश्वरको जाम हटाउन अण्डरपास वा आकाशेपुल बनाएर तत्काललाई जामको समस्या कम गर्न सकिए पनि यो दीर्घकालीन समाधान नहुने बताउँछन् ।

प्रा. सूर्यराज आचार्य प्रतिप्रश्न गर्छन्, ‘सुरुङमार्ग बनेपछि कोटेश्वरको जाम त हट्ला तर, बानेश्वरमा त्यस्तै जाम हुन्छ । अनि यहाँ पनि सुरुङमार्ग बनाउने ?’

‘बानेश्वर चोकमा अण्डरपास बनाए बबरमहल, माइतीघरमा उस्तै जाम होला फेरि, आचार्यले भने ।

उपत्यकाको समग्र सडक सञ्जालभन्दा धेरै सवारी हुँदा मुख्य चोकहरुमा जामको समस्या बढेको उनको भनाइ छ ।

पछिल्लो समय कार्यालय समयमा मात्रै नभएर दिउँसो १२–१ बजे पनि जाम बढेको बताउँदै आचार्यले भने, ‘यसको मतलब, सडक क्षमता र सवारी चापले सन्तुलन गुमाउँदै गएको हो ।’

सार्वजनिक यातायात भरपर्दो नहुँदा निजी गाडीको संख्या बढेकाले पनि सडकमा चाप बढेको आचार्यले बताए ।

जाम कम गर्न सहरी यातायातबारे ठोस योजना बनाएर मात्र काम गर्न आचार्यको सुझाव छ । उनी भन्छन्– ‘एउटा ठाउँमा व्यवस्थापन गरेर जामको समस्या अन्त्य हुने अवस्था छैन, सडक क्षमताभन्दा बढी सवारी ओइरिएका छन्, त्यसतर्फ पनि सोच्नुपर्‍यो ।’

तस्वीरहरुः चन्द्र आले/आनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment