Comments Add Comment

जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी

१६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको उक्त भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने काठमाडौं महानगरपालिकाको तयारी छ ।

भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकाले त्यसलाई भत्काएर नयाँ बनाउने तयारी थालिएको महानगरपालिकाको भौतिक पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले अनलाइनखबरलाई जानकारी दिए ।

अहिलेको भत्काएर नयाँ भवन बनाउनका लागि महानगरपालिकाले १० करोड बजेट छुट्याएको छ ।

जुद्ध बारुण यन्त्र कार्यालय स्रोतका अनुसार उक्त ऐतिहासिक भवन भत्काइ हाल्नुपर्ने अवस्था भने छैन । तर, महानगरपालिका भने अहिलेकोलाई भत्काएर नयाँ बनाउने भनिएको भवनको नक्सा बनाउन कम्मर कसेर लागिसकेको छ ।

जुद्ध बारुण यन्त्र काठमाडौंको कार्यालयमा ३४ जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै ३० जना कर्मचारी अहिले पनि नियमितरुपमा सोही भवनको माथिल्लो तलमा बस्दै आएका छन् । माथिल्लो तलामा हाल १० वटा कोठा छन् ।

ती कोठा कर्मचारीको बसोबाससँगै उपकरण स्टोर, लत्ताकपडा, विभिन्न सामग्री राख्न प्रयोग भइरहेको छ । २ रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडलको दुई दमकल संग्रहित गरेर राखिएको छ ।

तल्लो तलामा पाँचवटा दमकल तयारी अवस्थामा राखिन्छन् । तीमध्ये एउटा अहिले मर्मतको क्रममा छ ।

यस्तो छ नयाँ भवनको परिकल्पना

सम्पदा क्षेत्रमा पर्ने र उक्त भवनसमेत ऐतिहासिक भएकाले पुरातत्व विभागबाट अनुमति लिएर मात्रै काम सुरु गर्ने महानगरपालिकाका अधिकारी बताउँछन् ।

‘नयाँ भवनको नक्सा बनाएर हामी पुरातत्व विभाग जान्छौं, पुरातत्वले स्वीकृति दिएपछि काम शुरु हुन्छ’, भौतिक पूर्वाधार विभागका प्रमुख थापाले भने ।

नयाँ भवन विद्यमान शैलीकै बनाउने तयारी रहेको विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।

‘तीन तले हुन्छ, अहिले जति नै ३५ फिट अग्लो, स्वरुपमा कुनै फेरबदल हुँदैन’, उनी भन्छन् । अहिलेको भवनको भुइँ तलामा ५ वटा दमकल राख्ने गरिएजस्तै नयाँ भवनमा पनि दमकल अट्ने क्षमता भने साविककै हुने इञ्जिनियर श्रेष्ठ बताउँछन् ।

भवनको दोस्रो तलामा कर्मचारीको आवास र स्टोर तथा तेस्रो तलामा १२० जना अट्ने सभाहल बनाउने योजना छ ।

उक्त सभाहलमा कर्मचारीलाई तालिम, सेमिनार जस्ता क्रियाकलापमा सहभागी गराउने पूर्वाधार विभाग प्रमुख थापा बताउँछन् । पुरातत्वले अनुमति दिनेवित्तिकै भत्काउनु काम शुरु गर्ने महानगरपालिकाको तयारी छ ।

‘जुद्ध समशेरले खोलेको जुद्ध वारुण यन्त्र’

विसं. १९९० सालको भूकम्प गएको ४ वर्षपछि अर्थात् १९९४ मा जुद्ध बारुण यन्त्र स्थापना भएको हो ।

राणाकालका सातौं प्रधानमन्त्री जुद्धसमशेर जबराले आफ्नै नाम दिएर उपत्यकामा बारुण यन्त्र संस्था स्थापना गराएका थिए । बेलायत भ्रमणमा जाँदा त्यहाँको दमकल सेवाबाट प्रभावित भएका जुद्ध समसेरले आफ्ना समकक्षी समक्ष कुरा राखेका थिए ।

काठमाडौंमा स्थापना भएको सात वर्षपछि विसं २००१ मा उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि जुद्ध वारुण यन्त्रको सेवा विस्तार गरिएको थियो ।

जुद्ध बारुण यन्त्र भक्तपुरको भवन ०७२ को भूकम्पले धेरै नै क्षति पुर्‍याएपछि नयाँ बनाउने तयारी गरिएको हो ।

‘नभत्काउँ, बरु रेट्रोफिट गरौं’

विस १९९४ मा निर्मित उक्त भवनलाई रेट्रोफिट गरेर जोगाउन सकिने जानकारहरुको सुझाव छ । ‘यो एउटा सम्पदा पनि हो, रेट्रोफिट गरेर जोगाउन सकिन्छ’, जुद्ध बारुण यन्त्र स्रोतले अनलाइनखबरलाई भन्यो ।

विसं. १९९० सालको भूकम्पपछि बनेको र पछिल्लो ०७२ को भूकम्पले पनि त्यति धेरै असर नगरेकाले ऐतिहासिक भवन भत्काइहाल्नु नपर्ने स्रोतको दाबी छ ।

कैयौं जीर्ण भएका, चर्किएका ऐतिहासिक भवन पनि रेट्रोफिट गरेर जोगाइ राखिएको अवस्थामा जुद्ध बारुण यन्त्रको भवन भत्काउन महानगरपालिकाले हतार गर्न नहुने कार्यालयका एक अधिकारीले बताए । ‘कति जीर्ण भएका भवन पनि रेट्रोफिट गरेर जोगाइएको छ, वर्षौंदेखि हामी यहीं बसिरहेका छौं त्यस्तो भत्किने खतरा छैन’, उनले भने ।

‘कर्नरहरु चर्किएको छ, अगाडिको गारो केही भत्किएको छ, महानगरपालिकाले त्यति चर्केको देखेर पुरै भत्काइहाल्ने निर्णय गर्नुहुँदैनथ्यो’, स्रोतले भन्यो ।

कार्यालयमा कार्यरत कर्मचारी समेत उक्त भवन भत्काउने महानगरपालिकाको निर्णयबाट सन्तुष्ट छैनन् । ‘भवन भत्काउँदा बारुण यन्त्र जस्तो अत्यावश्यकीय सेवा त प्रभावित हुन्छ नै, त्यसमा पनि एउटा पुरानो सम्पदा मास्न किन यति हतार गरेको होला’, एक कर्मचारीले भने ।

तर। महानगरपालिकाका भौतिक पूर्वाधार विभागका प्रमुख थापा भने सुरक्षा खतराकै कारण उक्त भवन भत्काउने निर्णय गरिएको तर्क गर्छन् । ‘कर्मचारीहरु पनि त्रासमा बसेका छन् र दमकल पनि सुरक्षित नहुने स्थिति देखेर भत्काउने निर्णय गरेका हौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment