Comments Add Comment

सचिवहरुलाई मुख्यमन्त्रीले भने–कर्णालीको नाङगो छाती हेरर कर्तव्य पूरा गर्नुस्

वजेट कार्यान्वयन तीव्र बनाउन निर्देशन

९ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वजेट कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

विषयगत मन्त्रालयका सचिवहरुलाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन् ।

‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होइन,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारको सोच बमोजिम जनताले अनुभूति गर्नेगरी परिणाममुखी काम गर्नुस ।’

६ वटै विषयगत मन्त्रालयका सचिववाट वजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखापरेका चुनौती र आगामी योजनाको व्रिफिङ्ग सुनिसकेपछि मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको समयसिमा सहितको ठोस कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सामाधान गर्नुपर्ने योजनाहरुको विवरणसमेत पेश गर्न मनत्रालयका सचिवहरुलाई भनेका छन् ।

प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए ।

कर्मचारी समायोजनपछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिठी हातमा नपरुन्जेलसम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री शाहीले कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर राष्ट्रसेवक हुनुको कर्तव्य पूरा गर्न आग्रह गरे ।

सचिवहरुले मुख्यमन्त्री शाही समक्ष वजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाइएको, योजना छनौटको लागि सूचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौता भई कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भइरहेको र कतिपय योजना छनौटको चरणमा रहेको प्रगति विवरण पेश गरेका छन् ।

त्यसैगरि सचिवहरुले मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव रहेको, ऋण र आन्तरिक राजश्वमा रहेको बजेटको श्रोत सुनिश्चित नभएको लगायतका समस्या राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment