Comments Add Comment

खुम्बु पासाङ गाउँपालिका : नघुमे पछि परिन्छ !

१९ माघ, काठमाडौं । तपाईं उच्च हिमाली क्षेत्रको भ्रमण गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंलाई सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका उपयुक्त गन्तव्य हुन सक्छ । किनभने यहाँ सर्वोच्च शिखर सगरमाथादेखि अग्लो स्थानको होटल, अग्लो स्थानको एयरपोर्ट र धेरै धार्मिक क्षेत्रहरु पनि छन् ।

सगरमाथालाई विश्वको तेस्रो धुव्र र संसारकै छानोको रुपमा पनि चिनिन्छ । सगरमाथा वरपर र यस हिमालय रेन्जमा ल्होत्से, नुप्से, चोयु, आमादब्लम, पुमोरी, थामसेर्कु आदि अनेकौं चुचुराहरु छन् । विश्वकै चर्चित खुम्बु आइसफल पनि यहीँ पर्दछ ।

यीनै चुचुरासहितको हिमाली मनोरम दृश्य अवलोकन गर्न हिमालयहरुको सेरोफेरोमा रहेर हिमाल आरोहण तथा ट्रेकिङ्ग गर्न विश्वभरिका पर्यटकहरु खुम्बु क्षेत्रको भ्रमण गर्दछन् । कालापत्थरसहित सगरमाथा आधार शिविर अधिकांशको गन्तब्य स्थल बन्दछ । यहाँ घुम्न आउनेहरु भन्ने गर्छन्, यो त स्वर्गकै टुक्रा हो ।

खरिखोला, लुक्ला, फाक्दिंग, मंजु, नाम्चे ,खुम्जुंङ, खुन्दे ,तेङबोचे, फोर्चे, पाङबोचे, फिरिचे, दिङबोचे, थामे, गोक्यो, लबुचे, गोरकछेप आदि यस क्षेत्रका मुख्यत बसोबास स्थलहरु हुन् । खुम्बु पासाङ गाउँपालिकाभित्र दुई वटा विमानस्थल छन्, स्याङबोचे र लुक्ला (तेन्जिङ हिलारी) । लुक्ला संसारकै उच्च स्थानमा रहेका चालु विमानस्थलमध्ये एक र नाम्चे सगरमाथाको प्रवेशद्वार हो

सोलुखुम्बु जिल्ला आफैमा सोलु र खुम्बु दुई शब्द मिलेर बनेको छ । जिल्लाको तल्लो भेगलाई सोलु र माथिल्लो भेगलाई खुम्बु भनिने हुँदा दुवै क्षेत्रलाई समेट्ने गरी नामाकरण गारिएको हो । यसैगरी खुम्बु भौगोलिक क्षेत्र खुम्बु र यसै क्षेत्रकी बासिन्दा नेपालको राष्ट्रिय विभूति पासाङ ल्हामुको नाम जोडेर खुम्बु पासाङ ल्हामु गाउँपालिका नामाकरण गरिएको हो । नेपालभरिको सबैभन्दा धेरै हवाई सेवा र हेलिकप्टर समेत जाने यस स्थानमा पुगेर आनन्द लिन लाखौं विदेशी र स्वदेशी पर्यटकहरु आउने गर्दछन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा रामेछाप र दोलखा, दक्षिणमा सोलुखुम्बुकै सोलुदूधकुण्ड नगरपालिका, दुधकौसीका र सोताङ गाउँपालिकासँग सिमाना जोडिएको छ । उत्तरमा चीनको तिब्वत पर्दछ । ५ वटा वडा रहेको यस गाउँपालिकाको क्षेत्रफल, १ हजार ५ सय ३९ वर्गकिलोमिटर छ ।

प्रदेश नम्बर १ को क्षेत्रफलको आधारमा दोस्रो ठूलो गाउँपालिका समेत हो यो । २०६८ को जनगणना अनुसार यहाँ ८ हजार ९८९ जनसंख्या छ । समुन्द्र सतहबाट १ हजार ९०० मिटरको उचाइमा अवस्थित यस गाउँपालिकामा विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज पनि छ ।

पर्यटकीय क्षेत्रको रुपमा लुक्ला, नाम्चे, पैयाँ, खरिखोला, फाक्दिङ, खुम्जुङ जस्ता प्रसिद्ध ठाउँहरु समेत यसै पालिकामा अवस्थित छन् । अधिकांश शेर्पा जातिको बसोबास रहेको यस क्षेत्रमा शेर्पासँग सम्बन्धित भाषा, संस्कृति, वौद्धधर्मावलम्बीहरुको पहिचानको उत्कृष्ट नमूना छ यहाँ । तेङबोचे गुम्बा, पाङबोचे गुम्बा, रिमिजुङ गुम्बा, खरिखोला गुम्बा लगायत महत्वपूर्ण गुम्बाहरु आस्थाको धरोहरको रुपमा रहेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका नेपालकै नमूना र विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र हो । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज यही गाउँपालिकामा अवस्थित छ ।

विश्वको घुम्नैपर्ने स्थानमध्ये खुम्बु पासाङ गाउँपालिका पनि एक हो । काठमाडौंबाट सिधै लुक्लाको तेन्जिङ हिलारी एयरपोर्टबाट पैदल यात्रा गरी फाक्दिङ नाम्चे हुँदै संसारको छानो सगरमाथासम्म पुग्न सकिन्छ ।

धेरै पर्यटकहरुलाई भित्राउन नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रमहरु तयार भइरहेको गाउँपालिका प्रमुख ङमि दोर्जी शेर्पा बताउँछन् । उनले छिट्टै देशकै नमूना गाउँपालिकाको रुपमा परिचित गराउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

नयाँ जोश, जाँगर र उमंगयुक्तयुवा जनप्रतिनिधि भएका कारण उनीहरुबाट यहाँका बासिन्दा धेरै आशावादी रहेको स्थानीय समाजसेवी एवं एक्सन फर नेपालका कार्यकारी प्रमुख लाक्पा छिरिङ शेर्पा बताउँछन् ।

 

शव्द/तस्वीर- पुरुषोत्तम सानु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment