Comments Add Comment

गाउँ पसे बाबुराम ! कतै च्याब्रुङ ठोक्दै, कतै लौरो टेक्दै !

जनताको आँखामा आफ्नो अनुहार हेर्न गाउँ पसेको भनाइ

१९ माघ, बिराटनगर । न चुनावको मौसम, न कुनै राजनीतिक सरगर्मी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला दुरदराजका गाउँ वस्तीमा पसेका छन् । देशको कार्यकारी प्रमख भइसकेको मानिसलाई लठ्ठी टेक्दै आफ्नै घरआँगनमा आएको देखेपछि पूर्वी पहाडका स्थानीयबासीले दलगत स्वार्थ नहेरी डा. भट्टराईको टोलीलाई स्वागत सत्कार गरेका छन् ।

माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङस्थित उत्तरी सीमानामा पुगेर राष्ट्रिय गान गाउँदै यात्रा सुरु गरेका पूर्वप्रधानमन्त्री भट्टराई शनिबार भोजपुरमा आइपुगेका छन् ।

यसवीचमा उनले पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका विभिन्न गाउँहरुमा स्थानीयवासीसँग भेटघाट, छलफल र कोणसभाहरु गर्दै हिँडेका छन् ।

लिम्बु संस्कृतिको धनी मानिने पाँचथर र तेह्रथुमको यात्रामा डा. भट्टराईले च्याब्रुङ बजाएका तस्वीरसमेत सार्वजनिक भएका छन् ।

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले माघ १५ गतेदेखि फागनु १५ सम्म ‘पहाडी लोकमार्ग जनसम्वाद अभियान’ सुरु गरेको छ । पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघामा टुंगिने यो लोकमार्गलाई एक महिनामा छिचोल्ने डा. भट्टराईको योजना छ ।

संसदमा एक सीटको मात्रै प्रतिनिधित्व गर्ने सानो पार्टीले आयोजना गरेको यो अभियान खासै ठूलो समाचार होइन । तर, देशको प्रधानमन्त्री भइसकेको व्यक्ति लामो समयसम्म पहाडी गाउँहरुको यात्रामा निस्किनु नेपाली राजनीतिको एउटा रोचक परिघटना हो । त्यसैले हामीले यहाँ डा. भट्टराईको पाँचथरदेखि भोजपुरसम्मको यात्रालाई पछ्याउने प्रयास गरेका हौं ।

सुरुमा पाँचथर, तेह्रथुम र भोजपुरका गाउँको अभियानबारे नयाँशक्ति पार्टीकै प्रवक्ता डम्बर खतिवडाको शब्दमा यात्रा वर्णन सुनौं-

आज हाम्रो यात्रा सुरु भएको पाँचौं दिनको बिहान । हामीले १५ गते बिहान ८ बजे पाँचथरको चिवाभञ्ज्याङबाट यो कार्यक्रम सुरु गरेका हौं ।

यहाँहरुलाई थाहा छ, जसरी पुरानो ठूलो राजमार्गको सबैभन्दा पुरानो विन्दूलाई काँकडभित्ता भन्ने गर्छौं । त्यसैगरी यो मध्यपहाडी राजमार्गको सबैभन्दा पूर्वी विन्दू वा नेपालतिरको भागलाई चिवाभन्ञ्याङ भन्ने गरिन्छ । चिवा भन्ञ्याङको पारिपट्टी सिक्किम छ ।

चिवाभञ्ज्याङ अलिकति अग्लो, करिब ३१ सय मिटर अग्लाइमा रहेको भन्ञ्याङ हो । त्यहाँ हामी पुग्दा हिउँ परिरहेको थियो । डाँडाहरु सेताम्मे थिए, बाटो छेकिएको थियो र गाडीहरु चिप्लिएर त्यहाँ पुग्न अप्ठ्यारो भइरहेको थियो ।

तथापि, हामी तोकिएको समयमा १५ गते बिहान ८ बजे त्यो भन्ञ्याङमा पुगेका थियौं । र यो ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने अभियानलाई त्यहाँबाट सुरुवात गरेका थियौं ।

यो यात्रा एक महिना लामो छ । ठीक फागुनको १५ गते यसरी नै हामी यो राजमार्गको सबैभन्दा पश्चिमी विन्दू महाकालीको किनार झुलाघाट भन्ने ठाउँमा पुग्ने छौं । यी विन्दू मध्यपहाडी राजमार्गका दुई विन्दूहरु हुन् । यी विन्दूबीचको यात्रा माघ १५ गते तय गरेर फागुन १५ गतेसम्म यात्रामा गइरहेका छौं । फागनुन १५ गते दिउँसो २ बजेतिर बैतडी जिल्लाको गोठाला भन्ने ठाउँमा पुग्ने छौं । त्यहाँ पुगेर हामीले कार्यक्रमलाई समापन गर्ने छौं ।

हामी करिब २७ वटा जिल्लालाई छोएर यो यात्रामा जाने छौं । र, करिब ८६ वटा स्थानमा जनसंवाद हुनेछन् । भेटघाट र छलफल कार्यक्रम गर्ने छौं । ८६ स्थानमा करिब १५० सयवटा भेटघाट र छलफल गर्ने छौं । अन्तरसम्वाद कार्यक्रमहरु हुनेछन् । यी कार्यक्रमको मुख्य लक्ष्य भनेको असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद भन्ने रहेको छ ।

पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति मानवता महत्वपूर्ण कुरा हो । त्यसर्थ, यसलाई केवल नयाँ शक्ति पार्टीको राजनीतिक अभियान भन्ने मात्रै नबुझिदिनु होला । यो एउटा जनतासँग वृहत संवाद हो । देशको एउटा स्थापित भइसकेको नेता, जो एउटा ठूलो पार्टीको तर्फबाट प्रधानमन्त्री भइसक्नुभयो उहाँले जीवनको उत्तरार्धतिर एउटा नयाँ राजनीतिक आन्दोलन सुरु गर्नुभयो ।

राजनीति भनेको केबल एउटा पार्टीको झण्डा बोकेर जुलुसमा जिन्दावाद मूर्दावाद गर्नु मात्रै होइन । राजनीतिको मुख्य उद्देश्य भनेको देशको तत्कालीन अवस्थामा तत्कालीन परिस्थितिमा तत्कालीन विश्व परिस्थितिमा त्यो राष्ट्रको भविष्य कतातिर मार्गनिर्देश भइरहेको छ ? त्यसमा के समस्या छन् र ती समस्यालाई चिन्ने र ती समस्याको समाधान दिने अन्तरविरोधको हल गर्ने पद्धतिको नाम नै राजनीति हो ।

त्यसैले आज नेपालमा समस्याहरु के हुन् ? अब नेपाललाई अगाडि बढाउन हामीले अब कस्तो बाटो तय गर्नुपर्छ ? यसमा एउटा गहिरो संवाद हुनुपर्छ । कुनै एउटा पार्टीले एउटा समूहको मान्छेले नेताले दुईचार जना मान्छेले लेखेर, भनेर, बोलेर हुँदैन । दुरदराजका गाउँलेले यसमा के सोच्नुहुन्छ ? तपाईहरुको धारणा आउनुपर्छ । हामी तपाईंको यो धारणालाई संकलन गर्न आएका छौं । यसलाई हामी कलेक्शन गर्छौं । प्रतिवेदन बनाउँछौं । तपाईंका कुराहरु सुन्छौं । र, राष्ट्रिय बसहमा यो मुद्दालाई उठाउने प्रयास गर्छौं ।

हाम्रो पार्टीको संयोजक बाबुरमजी जो संसदको सदस्य पनि हुनुहुन्छ । उहाँले यो यात्रापछि संसदमा विशेष समय लिएर यो मध्य पहाडी क्षेत्रका जनताको समस्याबारे संसदमा सम्बोधन गर्नु हुनेछ । यस क्षेत्रका समस्यालाई राष्ट्रिय बसहमा ल्याउने प्रयास पनि गर्नेछौं ।

दोस्रो, यो मध्यपहाडी राजमार्गको समस्या के छ ? यसको विकासको कुराहरु के भइरहेछन् ? चिवाभन्ञ्याङबाट यता लाग्दा विभिन्न कुराहरु सुन्यौं । पहाडमा जनसंख्या घट्दै गइरहेको छ । श्रमशक्तिको अभाव छ । जमीनहरु बाँझो हुँदै गइरहेका छन् । ठूलो मानवबस्ती, जस्तै- तेह्रथुमको संक्रान्ति बजारमा पुग्दा त्यहाँ हामीले सुनेका थियौं कि संक्रान्ति बजार पहिला ठूलो बजार थियो । तर, अहिले जनसंख्या ह्रास भइरहेको छ । त्यसको महत्व घट्दै गइरहेको छ ।
यहीँ, हामीले भोजपुरको जरायोटार आइपुग्दा सुन्यौं, त्यसलाई एउटा सुख्खा डाँडाको रुपमा हेरिन्छ । यहाँ पानीको व्यवस्था कसरी गर्न सकिन्छ ? यो बीचको जनजीवनका समस्या के छन् ? यी सबै कुरालाई संकलन गर्ने, बुझ्ने छौं ।

डा. भट्टराईको टोलीले अहिलेसम्म पाँचथरको याङवरक, च्याङथापु, तेह्रथुमको चुहानडाँडा, संक्रान्ति बजार, पोक्लाबाङ, औंसीबजार, साबला, म्याङलुङ, जिरिखिम्ती र बसन्तपुर लगायतका स्थानमा सभा र भेटघाटहरु सम्पन्न गरेको छ ।

बसन्तपुरमा लाली गुराँस नगरपालिकाले कार्यक्रममो संयोजन गरिदिएको थियो भने धनकुटामा पत्रकार महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर डा. भट्टलाईलाई स्वागत गरेको थियो ।
धनकुटाबाट भोजपुर जाने क्रममा डा. भट्टराईले लुगुवामा उसिनेको तरुल खाँदै गरेको तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । गाउँगाउँमा भेटघाट भएका तस्वीरहरु डा. भट्टराईले सामाजिक सञ्जालमा नियमित रुपमा पोस्ट गर्ने गरेका छन् ।

जेल बस्दैमा देश बनाउन जानिँदैन – डा. भट्टराई

यसैवीच पूर्वप्रधानमन्त्री डा. भट्टराईले यति वर्ष जेल बसेको छु भनेकै भरमा मात्र देश बनाउन नसकिने बताएका छन् । शनिबार भोजपुरमा आयोजित कार्यक्रममा बोल्दै डा. भट्टराईले शासकीय असक्षमताका कारण स्वर्गजस्तो देशमा गरिब भएर कहिलेसम्म बस्ने भन्दै प्रश्न गरे ।

भोजपुरको च्यांग्रेमा पौवादुङ गाउँपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले भने- ‘हाम्रा नेताहरु जेल बसेको र अन्य इतिहासका कुरा गरेर बस्नुहुन्छ, त्यसरी केही समय सम्मान पाउन त सकिएला, तर देश बनाउन सकिँदैन ।’

डा. भट्टराईले अगाडि भने, ‘अहिले हाम्रोमा चल्ते चलाते ढंगले सबै कुरा चलिरहेको छ, हाम्रो पुस्ताले ७ दशक लामो लड्ने, भिड्ने, जेल जाने आदि गतिविधि गरेर व्यवस्था परिवर्तनमा ठूलो योगदान दिइसक्यो । तर, विकास र समृद्धि अर्कै काम भएकाले हिजोको योग्यता र क्षमताले मात्रै यो नयाँ काम गर्न यथेष्ट हुँदैन ।

उनले भने- ‘हाम्रो पुस्ताले एउटा काम गर्‍यो । विकास र समृद्धि अर्कै काम हो । घर भत्काउन धेरै सीप चाहिँदैन, बनाउन धेरै सीप चाहिन्छ ।’

डा. भट्टराईले आफूहरु जनताबाट सिक्न आएको र आफूले भनिरहेको कुरा गलत रहेछ भने फेर्न र फेरिनसमेत तयार रहेको बताए ।

त्यसैगरी धनकुटाको कार्यक्रममा बोल्दै उनले शासकका आसेपासे र टाठाबाठाले मात्रै विकासको प्रतिफल लिएकाले नेपालमा सन्तुलित विकास नभएको बताए । धनकुटाको कागतेमा आयोजित जनसंवादमा बोलदै उनले राणा र राजाका पालादेखि नै आˆना आसेपासेलाई मात्रै ध्यान दिने प्रवृत्ति रहेको बताए ।

विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको डा. भट्टराईको भनाई थियो । उनले भने, ‘अधिकार केन्द्रमा राख्ने होइन, संघलाई भन्दा प्रदेशलाई र प्रदेशलाई भन्दा स्थानीय तहलाई अनि स्थानीय तहलाई भन्दा वडालाई बढी अधिकार दिनुपर्छ । त्यसो भएमात्रै विकास जनताको घरदैलोमा पुग्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले पहाडबाट बसाइँ सराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान जानुपर्नेमा जोड दिए । अबको युगमा पहाडमा नै कृषिको व्यवसायीकरण कसरी गर्ने, पर्यटन प्रवर्द्धन कसरी गर्ने र औद्योगीकरण कसरी गर्ने भन्ने योजना बनाउँदै कार्यान्वयन गर्ने बेला आएको उनले बताए ।

पाँचथरको चिवाभञ्ज्याङमा बोल्दै डा. भट्टराईले जनताको ऐनामा हाम्रो अनुहार कस्तो देखिन्छ भनेर हेर्न आएको बताए । उनले नागरिकहरुलाई निर्मम भएर सल्लाह, सुझाव र आलोचना गर्न आग्रहसमेत गरेका छन् । डा. भट्टराईले भने, ‘विकास र समृद्धिको लागि राजनीति असल हुनुपर्छ । यसका लागि नेपालमा राजनीतिको शुद्धीकरण हुन आवश्यक छ ।’ डा. भट्टराईले चिवाभञ्ज्याङको हिँउमा उभिएर भने, ‘क्रान्तिको रापताप सेलाएपछि नेताहरुमा पनि पशुवत् र दानवी गुण मुखर हुँदोरहेछ, गुलियोमा झिंगा लत्पिएजस्तो नेताहरु सत्ताको वरिपरि लुटपुटिएको देख्दा दुःख लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment