Comments Add Comment

‘म राष्ट्रपतिको अभागी उम्मेदवार’

शून्य भोट पाएर घर फर्कँदा छोराछोरी रोए : रामप्रीत पासवान

१३ फागुन, काठमाडौं । १५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । त्यसबेला ०६४ चैतको निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी राष्ट्रपतिको रुपमा अघि सारीसकेको थियो ।

तर, राष्ट्रपति आलंकारिक हुने भएपछि प्रचण्ड उम्मेदवार नबन्ने भए । त्यसपछि माओवादीले घरि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला त घरि नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने भन्यो । तर अन्तिममा माओवादीले दुबैलाई समर्थन नगर्ने भएपछि दलहरूबीच राष्ट्रपतिको बिषयमा असहमति बढ्दै गयो ।

त्यही रस्साकस्सीमा माओवादीले स्वतन्त्र व्यक्तित्व भन्दै गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाउने घोषणा गर्‍यो । अनि दोस्रो ठूलो दल कांग्रेसले मधेसी मूलकै डा. रामवरण यादव र तेस्रो ठूलो दल एमालेले रामप्रीत पासवानलाई उमेद्वार बनायो ।

घर फर्किँदा छोराछोरीमा चुनावको असर परेको देखेँ, उनीहरू रोए । ‘तपाईं सधैं पार्टी पार्टी भनेर हिँड्नु हुन्छ, चुनावमा शून्य भोट किन बाबा ?’ भनेर सोधे

पहिलो चरणको मतदानमा कसैका लागि पनि आवश्यक बहुमत आएन । दोस्रो पटकको मतदानमा डा. यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचित भए । उक्त निर्वाचनमा एमालेका उम्मेदवार रामप्रीत पासवान आफैंविरुद्ध मतदान गर्न बाध्य भएका थिए । पासवानले १० वर्षपछि त्यतिबेलाको आफ्नो मनोदशाबारे अनलाइनखबरकर्मी सन्त गाहा मगरसँग खुलेर कुरा गरेः

अकस्मात उमेद्वार

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि ०६५ साउन ४ गते उम्मेदवारी दर्ता गर्ने दिन थियो, त्यो । म पेप्सीकोलास्थित निवासमै टिभी हेरिरहेको थिएँ । माओवादीले रामराजाप्रसाद सिंहलाई उम्मेदवार उठायो भन्ने समाचार आयो ।

त्यसपछि जुरुक्क उठेर कपडा लगाउँदै थिएँ, कांग्रेसले डा. रामवरण यादवलाई उम्मेदवार बनाएको समाचार पनि आइहाल्यो । अनि एमालेले मलाई उम्मेदवार बनाउँछ भन्ने लाग्न थाल्यो । प्रमुख दुई दलले मधेसी समुदायका उम्मेदवार बनाएपछि तेस्रो ठूलो पार्टी एमालेले मलाई नै उठाउँछ भन्ने मेरो अनुमान थियो ।

नभन्दै, पार्टी अध्यक्ष झलनाथ खनालको फोन आइहाल्यो । उहाँले ‘कहाँ हुनुहुन्छ, तुरुन्तै संसद भवन आउनुपर्‍यो, कमरेड’ भन्नुभयो । मलाई उम्मेदवार बनाउने पक्का भएछ भन्ने लाग्यो, तर सोधिनँ । हिड्नै लाग्दा झलनाथ कमरेडले फेरि फोन गरेर नागरिकता पनि बोकेर आउन भन्नुभयो । अब भने पार्टीले मलाई राष्ट्रपतिमा उठाउन लागेको निश्चित भयो ।

उम्मेदवारी दर्ताको समय सकिन एक घण्टा जति बाँकी थियो, सडकमा निस्केर यसो हेरेको न सार्वजनिक बस चलेका छन् न त ट्याक्सी । अब कसरी संसद भवनसम्म पुग्ने भन्ने चिन्ता लाग्न थाल्यो ।

कांग्रेस समर्थक छिमेकीलाई ‘मलाई संविधानसभा भवनसम्म पुर्‍याइदिनु न’ भन्न गएको एअरपोर्ट जाने एकजना भाइको बाइक पछाडि राखिदिए । कोटेश्वरसम्म त बाटो मिल्थ्यो । राष्ट्रपतिको उम्मेदवार बन्दैछु, समय कम छ, तर आफ्ना बाबु लिन हिँडेका ती भाइलाई संसद भवनसम्म पुर्‍याइदेउ भन्न पनि सकिनँ ।

कोटेश्वरमा ट्याक्सी पाएँ । हतार–हतार सिंहदरबार पुगेर दक्षिण गेटबाट पैदलै पार्टीको संसदीय दलको कार्यालयमा पुगेँ । त्यहाँ संसद सचिवालयका साथीहरूले ‘यहाँ के गर्दैै हुनुहुन्छ ? संसद भवनमा तपाईको खोजी भइरहेको छ’ भन्दा पो झल्यास्स भएँ । संसद भर्खरै नयाँ वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सरेको थियो, पहिलेको बानीले गर्दा म सिंहदरबार आइपुगेंछु ।

समय २०–२५ मिनेट बाँकी थियो । संसदीय दलको कार्यालय अगाडि थुप्रै गाडी थिए, तर कसैलाई पुर्‍याइदेउ भन्न मन लागेन । फेरि हुर्रिँदै दक्षिण गेट आएर ट्याक्सी चढेँ ।

संसद भवनमा पुग्दा समय पाँच मिनेट मात्र बाँकी थियो । पत्रकारहरुले घेरेर ‘तपाई उम्मेदवार हो ?’ भन्दै सोधे । एकछिनमा भन्छु भन्दै उम्किएँ । उम्मेदवार दर्ता कक्षमा पुग्दा संसद सचिवालयका महासचिवले कहाँ– कहाँबाट मेरो तस्वीरसहित सारा कागजपत्र ठीक्क पारेका रहेछन् । मनोनयन पत्रमा मेरो हस्ताक्षर मात्र बाँकी रहेछ ।

त्यसरी म गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार बनें । कुन हालतमा बनें, बुझिहाल्नु भयो । राष्ट्रपतिजस्तो पदको उम्मेदवार बनाउने विषय त्यति अकस्मात र अस्तव्यस्त थियो ।

मलाई शून्य मत

संविधान सभामा डा. यादव, रामराजाप्रसाद सिंह र मैले मन्तव्य राख्दै मत पनि माग्यौं । त्यहीबीचमा पार्टीले कांग्रेससँग तालमेल गर्ने भएछ, मलाई केही बताइएन । औपचारिकताका लागि मात्र भए पनि उमेद्वारलाई एक वचन सोधेको भए रामप्रित पासवान भन्दा राष्ट्रपति भन्ने पदको गरिमा रहन्थ्यो । मैले पार्टी निर्देशन नमान्ने भन्ने कुरा पनि थिएन ।

पार्टीले सम्झौता गर्दा उम्मेदवारी फिर्ता लिने समय पनि घर्किसकेको थियो । मैले उम्मेदवार सूचिमा आफ्नो नाम हुँदाहुँदै डा. यादवलाई भोट दिएँ ।

मलाई मधेसी जनअधिकार फोरमका सांसदहरूले तपाई पछि नहट्नुस् भनेका थिए । विश्वेन्द्र पासवान, कलावती पासवान लगायतले भोट दिन्छौं भन्दा मैले नदिनू भनें । डा. यादवले आफैंलाई भोट हाले । मैले चाहिँ यादवलाई दिएर आफू शुन्य भएँ ।

त्यसपछि मलाई लाग्यो– सबै कुरा नेताले दिए पाउने, नदिए नपाउने रहेछ । उम्मेदवारी दर्ता गर भन्ने, फिर्ता गर भन्न नपर्ने रहेछ । मैले चाहिँ बफादारी देखाइरहनुपर्ने रहेछ, ठीक । सबै कुरा आफैंले भनेजस्तै हुनुपर्छ भन्ने कुरा आएन । मैले नै भोट दिएर डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति बन्नुभयो । म चाहिँ अभागी उमेद्वार मात्र बनेँ ।

घर फर्किँदा छोराछोरीमा चुनावको असर परेको देखेँ, उनीहरू रोए । ‘तपाई सँधै पार्टी पार्टी भनेर हिँड्नु हुन्छ, चुनावमा शून्य भोट किन बाबा ?’ भनेर सोधे । मैले के भन्ने ? राजनीति भनेको यस्तै हो, आफूले भनेजस्तो हुँदैन भनेर सम्झाएँ ।

२५० रुपैँयाको सपना

वि.सं २०१० सालमा सप्तरीको शम्भुनाथमा जन्मिएँ । २०१५ सालमा विद्यालय स्थापना भएकाले पढ्ने अवसर जुर्‍यो । १० कक्षासम्म गाउँमै पढेँ । ०२६ सालमा एसएलसी पास गरेँ ।

तीन वर्षे ओभरसियर कोर्ष गर्न पाटनको पुल्चोक क्याम्पस आएपछि थाहा भयो, त्यो वर्षको एसएलसीमा गोरखाका बाबुराम भट्टराई बोर्ड प्रथम भएका रहेछन् । गाउँका हामीलाई त्यस्तो कुरा थाहा थिएन ।

कुपण्डोलमा डेरा लिएर बसेँ । त्योबेला ऐच्छिक गणित लिएको छ भने दोस्रो श्रेणीले पनि भर्ना पाउने भएकाले म ढुक्क थिएँ, पाएँ पनि । तर, भर्ना हुन २५० रुपैयाँ चाहिने रहेछ । जति गर्दा पनि त्यो रकम जुटाउन नसकेपछि ओभरसियर बन्ने मेरो सपना चकनाचुर भयो ।

अनि उदयपुर गएर मासिक ११० रुपैँया तलव खाने शिक्षक बनें । अढाई सय रुपैँया नभएर पढ्न नपाएको मैले २३ वर्ष शिक्षणमा बिताएँ ।

शिक्षण पेशामा रहेकै बेला ०२७ असारमा मुन्सीलाल दासबाट नेकपा पुष्पलाल समूहको सदस्यता लिएँ । गरिबको पार्टी, वर्गीय हितमा काम गर्ने पार्टी भनेर म कम्युनिष्ट बनेँ ।

त्योबेला कृषि मजदुरको दैनिक ज्याला अढाई सेर अन्न थियो । त्यतिका लागि कृषकहरू बिहानदेखि साँझसम्म साहुको काममा जोतिनुपथ्र्यो । गहुँ, मकै, धान जे भएपनि साढे दुई सेर दिइन्थ्यो ।


यस्तो चलनले कृषि मजदुर ठूलो अन्यायमा परेका थिए । हामीले त्यसविरुद्ध आन्दोलन गर्‍यौं । ज्याला बढाएर तीन सेर पुर्‍याउनु पर्ने र सेरमा होइन किलोमा जोखेर दिनुपर्ने हाम्रो माग थियो । तर, सरकारी तुलोमा जोखेर देऊ भन्दा पनि मान्दैनथे । पञ्च र कांग्रेसीहरू धनी थिए । पञ्चहरूले भारतीय लठैतहरू ल्याए ।

हामीलाई पनि पार्टीको सहयोग थियो । बन्दुक हानाहान भयो ।

राष्ट्रियसभा उपाध्यक्ष

 

नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ । ०५८ असारमा पूर्वाञ्चलको धनकुटा क्षेत्रबाट राष्ट्रियसभा सदस्य जितेर आएपछि पार्टीले साउनमा उपाध्यक्षमा उठायो ।

संसदमा पार्टीको बहुमत थिएन । त्यसैले मलाई उठाएका हुन् कि थाहा छैन । तर, परस्थिति यस्तो बन्यो कि राजाद्वारा मनोनित ९ मध्ये ५ सांसदको मत मलाई आयो । गजेन्द्रनारायण सिंहजीको सदभावनाले पनि मलाई समर्थन गर्‍यो । एमालेबाट विभाजित भएर बनेको माले र राप्रपाको भोट पनि मैले पाएँ । राप्रपाकी चन्दा शाहले आफंै आएर भोट दिन्छु भन्नुभयो ।

मेरो ३२ भोट आयो, कांग्रेसका उमेदवार अशोक कोइरालाले २८ भोट पाउनुभयो । त्यसरी म राष्ट्रियसभा उपाध्यक्ष भएँ ।

शाही निरंकुशता विरोधी आन्दोलनमा सडकमा आएपछि दरबारबाट ‘रोजी मन्त्रालय पाउनुहुन्छ’ भन्ने प्रस्ताव आयो । राष्ट्रियसभामा मनोनित सांसदले पनि मत दिएर उपाध्यक्ष बनाउनुमा राजाको सद्भाव छ भन्ने उनीहरुको भनाइ थियो । तर, म जाने कुरै भएन । जनआन्दोलनपछि अन्तरिम व्यवस्थापिका संसदमा आएँ ।

कम्युनिस्ट नेताले वर्गीय कुरा गर्न छाडे

पहिलो संविधानसभाले संविधान बनाउन सकेको भए दलित, मधेसी, आदिवासी जनजाति समुदायका लागि अहिलेको भन्दा राम्रो हुन्थ्यो । अहिले त कम्युनिष्ट नेताहरूले नै वर्गीय कुरा गर्न छाडे । जातीय कुरामा नेताहरूको जोड देखिन्छ । जाति व्यवस्थालाई पार्टी भन्दा ठूलो ठान्ने प्रवृत्ति देखिएको छ ।

माओवादीले गर्दा जातप्रतिको आस्था जागेर आयो । माओवादीले भनेको जातीय विशेषाधिकारको कुराले जातीय राजनीतिलाई बलियो बनायो । एक हिसाबले जाति व्यवस्था स्थायी जस्तो भइसकेको छ ।

संविधानमा सकारात्मक विभेदको व्यवस्था हुनुपथ्र्यो । राज्यले पछि पारेका समुदायलाई सकारात्मक विभेदको व्यवस्था गर्दा कसैको आँखा बिझाउनु आवश्यक थिएन । मधेसी दलित समुदायहरु दोहोरोमा विभेदमा छन्– एउटा दलित हुनुको र अर्को मधेसी हुनुको विभेद । अहिलेलाई नेतृत्वले यति बुझ्दा पुग्थ्यो ।

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment