Comments Add Comment

गौरव आयोजनाहरुको प्रगति कमजोर

२२ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेट खर्च ३५ प्रतिशत पुर्‍याउने लक्ष्य भेट्टाउन सरकार असफल रहृयो । अब राष्ट्रिय गौरवका आयोजनाहरुको काम द्रुत गतिमा गराएर विकास बजेट खर्च बढाउने प्रयास गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको दाबी छ ।

तर, तर, गौरवका आयोजनाहरुको हालत पनि उस्तै छ । सरकारले चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि ८८ अर्ब ५५ करोड ५७ लाख बजेट छुट्याएको छ । तर, पहिलो ६ महिनामा मुस्किलले २२ अर्ब ८ करोड ७१ लाख मात्र खर्च भएको छ । यो गौरव आयोजनाहरुको लागि विनियोजन गरिएको कुल रकमको २४.९ प्रतिशत मात्र हो ।

अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, उत्तरदक्षिण कोशी र कालिगण्डकी करिडोरमा अन्यत्र भन्दा उत्साहजनक प्रगति देखिएको छ ।

तर, बबई, रानीजमारा कुलरिया सिँचाई आयोजना, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण आयोजना, रेल विकास आयोजना लगायतको प्रगति निकै कमजोर छ । सडक आयोजनाहरुमा वित्तीय प्रगति सन्तोषजनक देखिएपनि भौतिक प्रगति अपेक्षा गरिएजस्तो पाइएको छैन ।

६ महिनाका बीचमा बुढीगण्डकी आयोजनाले मुआब्जा वितरण लगायतमा ४ अर्ब १ करोड खर्चेको छ । जुन कुल विनियोजित बजेको २२. ३ प्रतिशत मात्रै हो । यस्तै बबई सिँचाई आयोजनामा पनि १९.९ प्रतिश मात्रै खर्च हुन सकेको छ । यो आयोजनाले ६ महिनाको अवधिमा २४ करोड मात्रै खर्चन सक्यो ।

सिक्टा सिँचाई आयोजनाले ४३ करोड खर्चियो, जुन कुल विनियोजनको २९ प्रतिशत मात्रै हुन आउँछ । यस्तै रानीजमरा कुलरिया सिँचाई आयोजनामा पनि खर्च ज्यादै न्युन भएको देखिन्छ । यो आयोजनाले २० करोड मात्रै खर्च गरेको छ, जुन कुल बजेटको ९.७ प्रतिशत मात्रै हुने मन्त्रालयले जनाएको छ ।

भेरी-बबई डाइभर्सन परियोजनामा चालु आर्थिक वर्षको पुससम्म १ अर्ब ७९ करोड खर्च भएको छ, । यो विनियोजित बजेटमा जम्मा २९.४ प्रतिशत मात्रै हो ।

मेलम्ची आयोजनाको प्रगति निराशाजनक छ । उसले ६ महिनमा ४७ करोड मात्रै खर्च गरेको छ । यो रकम कुल मेलम्चीको प्राप्त गरेको बजेटको ६.७ प्रतिशत मात्रै हो । यसैगरी पशुपति क्षेत्र विकास कोषले ८ करोड ९६ लाख (२५.७ प्रतिशत) र लुम्बिनी विकास कोषले ३८ करोड -६५.९ प्रतिशत) खर्चिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ७ करोड ४२ लाख खर्चिएको छ, जुन कुल विनियोजनको ४.४ प्रतिशत मात्रै हो ।

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनमाले ४१ करोड ५८ लाख खर्च गरेको छ ।

मध्यपहाडी राजमार्गमा ३ अर्ब ९८ करोड खर्च भएको छ, आयोजनाले प्राप्त गरेको बजेटसमा पुससम्म ७१ प्रतिशत खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । काठमाडौं-तराई द्रुतमार्गमा १०.१ प्रतिशत बजेट खर्च भएको छ । सेनामार्फत निर्माण भइरहेको यो परियोजनाले ६ महिनामा १ अर्ब ५५ करोड खर्च गरेको छ ।

उत्तरदक्षिण राजमार्ग (कोशी, कालीगण्डकी र कर्णाली)मा ६ महिनामा १ अर्ब २३ करोड खर्च भएको छ । जुन कुल विनियोजनको ५३ प्रतिशत हुन आउँछ । हुलाकी राजमार्गमा २ अर्ब ६२ करोड खर्च भएको देखिन्छ । जुन कुल बजेटको ४७ प्रतिशत हो ।

यसैगरी रेल, मेट्रोरेल तथा मोनो रेल विकास आयोजनामा १३.५ प्रतिशत मात्रै बजेट खर्च हुनसकेको छ । यो आयोजनाले पुससम्म ६० करोड ७० लाख बजेट खर्च गरेको हो ।

माथिल्लो तामाकोशीमा पनि खर्च अपेक्षा अनुसार भएको छैन । पुसम्म आयोजनाले  १६ करोड ६७ लाख खर्चिएको छ, जुन कुल विनियोजनको ३३.३ प्रतिशत मात्रै हो ।

दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल)ले ३ अर्ब ३८ करोड खर्चेको छ । यो आयोजनाको वित्तीय प्रगति ४९.५ प्रतिशत छ । यो आयोजनमा भौतिक प्रगति पनि उत्साहजनक छ ।

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० करोड खर्च भएको छ, जुन कुल विनियोजित बजेटको १.५ प्रतिशत हो । यस्तै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा  ३० करोड खर्च भएको छ, जुन कुल विनियोजनको २१ प्रतिशत हुन्छ ।

आयोजना प्रमुखहरुसँग पटक-पटक छलफल भएको भन्दै अर्थमन्त्री खतिवडाले दोस्रो चौमासिकसम्म प्रगतिमा सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment