+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

स्वेच्छिक ‘मर्जर’ रोज्दै लघुवित्त

साधनासँग आर्थिक समृद्धि पछि वोमीमा नागरिक गाँभिदै

रोयल आचार्य रोयल आचार्य
२०७५ फागुन २७ गते ४:४५

२६ फागुन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा पनि एक आपसमा गाभ्ने/गाभिने -मर्जर) को क्रम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको कुनै दवाव बिनै लघुवित्तहरु स्वेच्छिक मर्जरमा जान शुरु गरेका हुन् ।

आइतबार वोमी माइक्रो फाइनान्स वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने निर्णय गरेर नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएका छन् । केही दिनअघि साधना लघुवित्त वित्तीय संस्था र आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने निर्णय गरेका थिए ।

मुलुकमा बैंकको अत्यधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले केहि वर्ष पहिले पुँजी वृद्धिको अस्त्र प्रयोग गरेर बैंकको संख्या घटाउने योजना बनाएको थियो ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुको पुँजी ४ गुणासम्म बढाएको राष्ट्र बैंक आफ्नो योजनामा पूर्ण तया सफल भने हुन सकेन । राष्ट्र बैंकबाट इजाजत पाएका ‘ख’ वर्गका विकास बेंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको संख्या मर्जरबाट राम्रै घटे पनि ‘क’ वर्गका वाणिज्य बैंकको संख्यामा भने खासै परिवर्तन आउन सकेको थिएन ।

क, ख र ग वर्गमा फोकस भए पनि ‘घ’ वर्गलाई राष्ट्र बैंकले त्यति चासो दिएको थिएन । यद्यपि, पछिल्लो समय लघुवित्तको संख्या बढी भएको र मर्जरमा लैजानु पर्ने बताउँदै आएको राष्ट्र बैंकले कुनै कदम चाल्नुअघि नै यी संस्थाहरुले स्वेच्छिक मर्जरको बाटो अपनाएका हुन् ।

बैंकिङ क्षेत्रमा निकै चर्चामा रहेको ‘मर्जर’ को विषय लघुवित्तहरुमा स्वेच्छिक रुपमै शुरु भएपछि राष्ट्र बैंकलाई यतिबेला कुचोले बढानुपर्ने कसिंगर हावाले उडाएको जत्तिकै भएको छ ।

गाभिने निर्णयपछि नेप्सेले रोक्यो कारोबार

आइतबारमात्रै वोमी माइक्रोफाइनान्सले नेप्सेलाई पत्र काटेर कारोबार रोक्न आग्रह गरेको छ । नागरिक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भइसकेको भन्दै वोमीले आइतबार पत्र काटेर नेप्सलाई आफ्नो कारोबार रोक्न आग्रह गरेको हो ।

दुई संस्थाहरु एक आपसमा गाभिन समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको वोमीले जानकारी गराएर आग्रह गरे पछि नेप्सेले कारोबारसमेत रोकिसकेको छ । २०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको हाल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । धादिङको नौविसेबाट केहि महिना अघिमात्रै प्रधान कार्यालय चितवनको भरतपुरमा स्थानान्तरण गरेको यस संस्थाले ३२ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

उता मर्जरमा आउन लागेको नागरिक भने नयाँ लघुवित्त हो । यस संस्थाले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरिसकेको छैन । काभ्रेपलाञ्चोकको वनेपा केन्द्रीय कार्यालय रहेको नागरिकले आफ्नो शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रहेको थियो ।

यस अघि साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाबीच पनि एक आपसमा गाभ्ने/गाभिने सहमति भएको थियो । यी दुई संस्थाले केहिसाता पहिलेमात्रै एक आपसमा मर्जरमा जाने सभा नै आयोजना गरेर घोषणा गरेका थिए ।

साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको छ भने साधना लघुवित्तको केन्द्रीय कार्यालय तनहूँको डुम्रेमा रहेको छ ।

‘फोर्स मर्जर’को चर्चापछि स्वेच्छिक मर्जरको बाटो

लघुवित्तहरुको संख्या अत्यधिक भएपछि राष्ट्र बैंकले गाभ्न/गाभिन बाध्यकारी मर्जरको तयारी गरेको थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवोकाटीले समेत विभिन्न सार्वजनिक समारोहमै समेत लघुवित्तको संख्या १ सय नाघ्न लागेको र यिनीहरुको मर्जरको विषयमा नयाँ निर्णय हुनसक्ने बताउँदै आएका थिए ।

राष्ट्र बैंकले मर्जरमा जान बाध्यकारी बनाउनु पूर्व नै आफ्नो कुरा मिल्ने संस्थाबीच एक आपसमा गाभिने क्रम सुर भएको हो । यही तरिकाले अन्य संस्थाहरु समेत मर्जरमा जाने प्रष्ट संकेत देखिएको छ ।

नेपाल सेवा लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त, कालिका लघुवित्त, उन्नति माइक्रोफाइनान्स, विजय लघुवित्त, नागवेली लघुवित्त, लक्ष्मी लघुवित्त, स्वदेशी लघुवित्त लगायतका संस्थाहरुले पनि मर्जरमा नो प्रस्ताव साधारणसभामा लैजाने तयारी गरेका छन् ।

राष्ट्र बैंकका लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक अधिकारीले बलजफ्ती मर्जरको विषयमा राष्ट्र बैंकले सोचिसकेको बताए । अहिले तत्कालै नयाँ लाइसेन्स दिने क्रम नरोकिएको र यो क्रम रोकिएसँगै मर्जरमा लैजाने नीति अवलम्बन गर्न रणनीति राष्ट्र बैंकले बनाएको कार्यकारी निर्देशक अधिकारीले बताए ।

अधिकारीका अनुसार हालसम्म ९९ वटा लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको उनले अधिकारी बताए । उनका अनुसार राष्ट्र बैंकले सञ्चालन अनुमति दिएका ९९ लघुवित्त मध्ये ७७ वटाले कारोबार सुचारु गरिसकेका छन् । बाँकी संस्थाहरु पनि कारोबार शुचारु गर्ने तयारीमा रहेका छन् ।

के भन्छन् सरोकारवाला ?

लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रकाशराज शर्माले लघुवित्तहरुले स्वच्छिक मर्जरको बाटो रोज्नु स्वागयोग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष शर्माले राष्ट्र बैंककै कारण मुलुकमा लघुवित्तको संख्या अत्यधिक भएको भन्दै यस विषयमा राष्ट्र बैंक गम्भीर हुनु पर्ने बताए ।

लघुवित्तहरु बढी भएको विषय राष्ट्र बैंकले नै स्वीकार समेत गरिसकेको तर आफैले लाइसेन्स बाडिरहेको भन्दै उनले आपत्ति जनाए । ‘संख्या बढी भएको त राष्ट्र बैंकले नै महशुस गरिरहेको छ तर लाइसेन्स दिन रोकिएन अझै ११४ वटा पुग्दैछन् यो ठीक भएन’ उनले भने, ‘सन्तान बढी भयो पनि भन्ने अनि जन्माउन पनि नछाड्ने ?’

मुलुकमा लघुवित्तको संख्या १५ वटा हुँदा अति उत्तम हुने समेत उनले बताए । ग्रामीण भेगका नागरिकलाई वैकल्पिक वित्तीय पहुँचको रुपमा विस्तार गर्नका लागि लघुवित्तको भूमिका महत्वपूर्ण भएको भन्दै उनले १५ वटा भए उत्तम हुने सुनाए ।

संख्या बढी हुँदा अनावश्यक प्रतिष्पर्धा र लघुवित्तको सेवा नै प्रभावकारी हुन नसक्ने भन्दै सीमित लघुवित्तहरुले शाखा वित्ारण गरी सेवा उपर्युक्त हुने उनले बताए । जन्मिसकेका लाई त्यसै मार्न भने नहुने उनले बताए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीइओसमेत रहेका शर्माले आफ्नो संस्थाले पनि साना संस्थालाई गाभ्ने विषयमा साधारणसभाबाट निर्णय नै गरिसकेको जानकारी दिए ।
जनउत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले पनि लघुवित्तबीच मर्जर हुनु आजको आवश्यकता नै भएको बताए । पछिल्लो समय राष्ट्र बैंकले धेरैलाई सञ्चालन अनुमति दिँदा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै सीईओ पोखरेलले संख्या घट्नु बुद्धिमत्ता हुने बताए ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?