६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
विराटनगरको शहिद रंगशालामा विहान ११ बजे हुने खेलमा नेपाल स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ले लक्ष्यमा रहेको छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार हो ।
दर्शक र मैदानको भरपुर फाइदा उठाउँदै फाइनल पुग्ने प्रशिक्षक हरि खड्काले यसअघि नै बताउँदै आएका छन् ।
नेपाल प्रतियोगिताकै बलियो टिमको रुपमा गनिएको छ । नेपालले समूह ‘ए’ को विजेता बन्दा कुनै पनि गोल खाएको छैन । उदघाटन खेलमा भुटानमाथि ३-० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३-० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो ।
तर श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५-० गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले नेपालविरुद्ध रक्षात्मक खेल खेल्ने छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापा उनीहरुको लागि टाउको दुखाई बनेका छन् । यता, प्रशिक्षक खड्का भने नेपालको हतियार नै सावित्रा र निरु भएको बताउँछन् ।
सेमिफाइनलको अर्को खेलमा आजै भारत र बंगलादेशबीच दिउँसो तीन बजे खेल हुँदैछ ।
प्रतिक्रिया 4