८ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ ।
डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम ।
प्रशिक्षक हरि खड्काले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ‘हामी उपाधि उचाल्छौं।’
भारत नेपालभन्दा कमजोर चाहिँ छैन । जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५-० र सेमिफाइनलमा बंगलादेशलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।
आयोजक नेपालको पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने उत्कृष्ट छ । भारतलाई मात्रै पछिल्लो समयमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको छ । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च आत्मविश्वास छ ।
नेपालले जारी साफमा तीन खेलबाट १० गोल गरेको छ । उद्घाटन खेलमा भुटानलाई ३-० गोलले पराजित गरेको नेपालले बंगलादेशलाई पनि ३-० गोलअन्तरले नै पराजित गरेको थियो ।
सेमिफाइनलमा श्रीलंकालाई ४-० गोलअन्तरले पराजित गरेको नेपाल फाइनलमा भारतविरुद्ध पनि यस्तै नतिजा ल्याउने लक्ष्यमा छ ।
प्रतिक्रिया 4