+
+

संसदीय समितिमा प्रहसन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७५ चैत १३ गते १९:२९
Photo Credit : राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक

१३ चैत, काठमाडौं । संसदीय समितिका बैठकमा सांसदहरुबीच जनचासोदेखि राष्ट्रिय सरोकारसम्मका विषयमा गहन छलफल हुन्छ । त्यस्ता छलफलबाट निस्किएको निचोड वा निर्णयले सिंगो संसदको गरिमा बढाउँछ ।

त्यस्तो मिहीन विषयगत छलफल संसदमा नभइ समितिमा हुने भएकाले संसदीय ब्यवस्थामा संसदीय समितिहरु महत्वपुर्ण मानिन्छन् । नेपालको हालको संसदीय समितिहरुले त्यो परम्परा बोक्न सकेका छन् त ? राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार भएको छलफलमा सांसदहरुको प्रस्तुतीले चाहिँ त्यो देखाउँदैन ।

यो समितिले गत फागुन ६ गते राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि प्रगति विवरण सदस्यहरुले नै अध्ययन गर्नेगरी आयोजना बाँडफाँड गरेर जिम्मेवारी लिएका थिए ।

त्यसअनुसार २१ वटै आयोजनाबारे छलफल गर्न समितिले बुधवार बैठक बोलाइएको थियो । तर, बैठकमा अधिकांश सांसदले झारो टार्ने बिचार राखे । ‘आफैं अन्योलमा परेको’, ‘नभ्याएको’ बताउने सांसदहरु पनि देखिए ।

भैरहवा क्षेत्रीय विमानस्थलको प्रगति अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी लिएका सांसद राजकुमार कुवरले भने, ‘गौत्तमबुद्ध विमानस्थल र भैरहवा क्षेत्रीय विमानस्थल, के हो यो दुई वटा …?

उनले सोधे लगत्तै, सभापति दिलकुमारी रावलले भनिन्, ‘एउटै हो ।’

सांसद कुवरले फेरि थपे, ‘कतै एउटा नाम, कतै अर्को नाम छ …।’

‘भैरहवा विमानस्थललाई नै विस्तार गरेर गौतम बुद्व अन्तराष्ट्रिय विमानस्थल भनेको हुन सक्छ’, कुँवरलाई रोक्दै सांसद सुरेन्द्रराज पाण्डेले भने ।

यसैबीच समितिका सचिव (कर्मचारी) सुदर्शन कुइँकेल सांसदहरुलाई उदाहरणसहित प्रष्ट पार्न अग्रसर भए । उनले भने, ‘हामीले निजगढलाई दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल भनेका छौं नि, त्यस्तै हो यो पनि ।’

त्यसपछि सांसद कँुवरले भैरहवा क्षेत्रीय विमानस्थलको काम भइरहेको भन्ने सुनेको तर, आफुले अध्ययन गर्न बाँकी रहेको बताए । ‘आयोजना प्रमुखहरुसँग कुरा हुन सकेको छैन, समयमै काम सक्ने भन्ने कुरा आइरहेको छ’, उनले भने, ‘आयोजना स्थलमै गएर, अध्ययन गरेर प्रतिवेदन ल्याउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै, साँसद खेमराज नेपालीले टेलिफोनमा कुरा गरेर प्रतिवेदन तयार पार्न मन नलागेर रित्तै आएको जनाए । उनले मध्य–पहाडी लोकमार्ग र कोशी करिडोर आयोजनाको प्रगती अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी लिएका थिए ।

सांसद नेपालीले दुबै आयोजना प्रमुखको टेलिफोन नम्बर प्राप्त गरेको तर टेलिफोन सम्पर्क हुन नसकेको कुरा पनि समितिमा राखे । त्यहि बेला सचिवालयका एक कर्मचारीले फोन उठाए । लगत्तै सांसद नेपालीले भने, ‘यहाँ कुराकानी भइरहेको छ, ‘डिस्टर्ब’ नगरौं न भाई !’

अन्त्यमा उनले पनि दुबै आयोजनाबारे विस्तृत अध्ययन गरेर अर्को बैठकमा प्रतिवेदन पेश गर्ने प्रतिवद्वता व्यक्त गरे ।

समिति बैठकमा फोनमा कुरा गर्न पाँइदैन । तर, के कर्मचारी के सांसद, कसैले पनि समिति सञ्चालन कार्यवधिको ख्याल गरेको देखिदैन ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधवारको बैठक चलिरहँदा सांसद रामचन्द्र राई आफ्नो मोवाइल फोनमा व्यस्त देखिए । कुराकानीले बैठकलाई बाधा पारेपछि उनले स्वर अलि सानो बनाएर सजिलो पारिदिए ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सम्बन्धी प्रतिवेदन पेश गर्ने जिम्मेवारी लिएका सांसद रामपृत पासवानले चाही आफू अलमलमा परेको बताए ।

आफैँ ‘साइट’मा गएर काम हेर्दा राम्रै देखे पनि छलफल गरेर प्रतिवेदन ल्याउन नसकेको उनको भनाइ रह्यो । ‘समितिबाट पत्राचार भएर हामीलाई खबर हुन्छ भन्ने सोचेको थिएँ, तर त्यसो नहुँदा अलमलमा परेँ’, सांसाद पासवानले भने, ‘त्यसै जाँदा मान्यता नहोला भनेर कसैसंग कुरा गरिनँ ।’

त्यस्तै, पोखरा विमानस्थलको प्रगती अध्ययन गर्ने जिम्मेवारी लिएकी साँसद दिपा गुरुङ्ले आयोजना प्रमुखलाई टेलिफोन गर्दा माटो काट्ने लगायतका काम ७० प्रतिशत सकिएको जानकारी पाएको बताइन् ।

मेलम्ची खानेपानी र बुढीगण्डकी आयोजनाको प्रगति अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी लिएका सांसद सुरेन्द्रराज पाण्डेले टिपोट आधारमा विवरण समितिसमक्ष राखे । अर्का सांसद जीवन बुढाले पनि कर्णाली करिडोर, भेरी बबई बहुउदेश्य आयोजनाको मौखिक प्रगति विवरणबाटै काम चलाए ।

मिहेनत गर्नेलाई उल्लीबिल्ली

सांसद धनाकुमारी खतिवडाले पशुपति क्षेत्र विकास आयोजनाको प्रगतिका सम्बन्धमा प्रस्तुत गरेको प्रतिवेदनलाई समितिकी सभापति रावलले ‘मिहीन अध्ययन’ भन्दै प्रशंसा गरिन् ।

लगत्तै, सांसद खेमराज नेपालीले गिज्याए, ‘राष्ट्रपति बन्ने लक्षण देखियो ।’

त्यतिले नपुगेको जस्तो लागेछ क्यार, सांसद खिमलाल भट्टराईले थपे, ‘त्यस्तै देखियो… ।’ बैठकमा हाँसोको फोहरा छुट्यो । सभापति रावलले पनि हाँस्दै भनिन्, ‘राजनीतिमा सबै कुरा सम्भव छ ।’

आफ्नो प्रस्तुतीका क्रममा सांसद खतिवडाले पशुपति क्षेत्र विकास आयोजनाको प्रगती अध्ययन गर्ने क्रममा आफुले विशेष पूजा समेत गरेको बताएकी थिइन् ।

लगत्तै कुनै सांसदले भने, ‘वरदान पनि माग्नु भयो होला !’

खतिवडाले ‘समितिका सबै सदस्य मिलेर राम्रो काम गर्न सकौं भन्ने वरदान मागेको’ बताएपछि सभापति रावलले भनिन्, ‘उहाँले धर्म र कर्म संगै गर्नुभएछ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?