Comments Add Comment

प्रजिअको दाबीः सप्तरीबाट प्रश्न पत्र लिक भएको छैन

१६ चैत, सप्तरी । एसईई परीक्षा समन्वय समिति, सप्तरीका पदाधिकारीहरुले जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको दाबी गरेका छन् ।

परीक्षा समन्वय समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रश्नपत्र एक दिन अगाडि देखा परेपनि सप्तरीबाट लिक नभएको बताए । ‘विज्ञान बिषयको प्रश्नपत्र परीक्षा शुरु हुनुभन्दा अगाडि नै बाहिरिएको फेला पर्‍यो’ उनले भने, ‘सामाजिक बिषयको प्रश्नपत्र एक दिन अगावै बाहिरिएको भएपनि सप्तरीबाट यस्तो काम भएको छैन ।’

पत्रकार सम्मेलनमा जिल्लाका प्रहरी प्रमुख राजेन्द्र बिष्ट, सशस्त्र प्रहरी उपरीक्षक खेमबहादुर थापा, शिक्षा विकास तथा समन्वय विकास इकाईका प्रमुख शंकर लुइँटेलसहित परीक्षा केन्द्रका अध्यक्षहरु समेत उपस्थित थिए ।

अनुसन्धानको क्रममा यहाँका प्रहरी, शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारी, केन्द्राध्यक्षसहित कुनै पनि निकायबाट प्रश्नपत्र लिक नभएको देखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, ‘सप्तरीबाट लिक भएको छैन, अन्य जिल्लाबाट भएको हुनसक्छ ।’

‘विज्ञान बिषयको प्रश्न पत्र परीक्षा समय अगावै फेला परेपछि परीक्षा रद्दका लागि हामीले सिफारिस गरेका हौं’ उनले भने, ‘यसको मतलव सप्तरीबाटै प्रश्न पत्र लिक चाहीँ भएको होइन ।’

प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सप्तरीबाटै अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी बिष्टका अनुसार प्रश्न पत्र सामाजिक संजालबाट आदान प्रदान भएको देखिन्छ । प्रश्नपत्र आदान प्रदान गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment