Comments Add Comment

जनताले कांग्रेसलाई पत्याउने दिन आइसकेको छैन : नेता सिंह

२९ चैत, सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले काम गर्न नसकेका कारण जनताले कांग्रेसलाई विश्वास गर्छन् भन्ने आशा नराख्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेता सिंहले सरकारले राम्रो काम नगर्दैमा जनताले कांग्रेसलाई विश्वास गर्ने अवस्था नबनेको बताएका हुन् ।

कांग्रेस राजविराज नगर समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भने ‘यसको मतलव अब जनताले कांग्रेसलाई पत्याइहाल्छ भन्ने होइन, पछिल्लो चुनावमा पार्टीले भोगेको पीडा र भएको गल्तीको एक ठाउँमा बसेर मन्थन गर्नु जरुरी छ ।’

उनले समयमै विगतका गल्तीको मन्थन गरेर अगाडि नबढेमा आगामी दिनहरु अझै मुश्किल हुने धारणा राखे । पार्टीभित्र अन्याय बढेर गएको बताउनेहरु धेरै भेटेको भन्दै नेता सिंहले भने, ‘तेरो, मेरो र काखापाखा गर्ने गरिएका स्वरहरु पनि बढी सुनिएका छन् ।’

‘सरकार संविधानको मर्म विपरीत हिँड्दैछ’

नेता सिंहले बर्तमान सरकार संविधानको मर्म र भावना विपरीत अघि बढिरहेको आरोपसमेत लगाए । संविधानले नदिएको अधिकार प्रयोग गरेर देशमा कम्युनिष्टले निरंकुशता लाद्न खोजेको सिंहको आरोप छ ।

प्रधानमन्त्री आफैं शक्तिशाली बन्न खोज्नु संविधानको मर्म नभएको भन्दै उनले गृह, रक्षा र अर्थका सबै शक्ति आफैं नियन्त्रणमा लिनु ठीक नभएको बताए । ‘यसबाहेक देशमा सञ्चालित मुख्य परियोजनाहरु पनि आफैं नियन्त्रणमा लिएर प्रधानमन्त्रीले संघीयताबिरुद्व काम गरिरहेका छन्’ उनले भने, ‘यो संविधान विपरितको आचरण र गतिविधी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment