Comments Add Comment

भरतपुरको नमूना बस टर्मिनलः तन्नेरी नहुँदै बुढो भयो

४ वैशाख, चितवन । एकदशक अघि भरतपुरमा निर्माण गरिएको ‘दक्षिण एसियाकै नमूना बस टर्मिनल’ तन्नेरी नहुँदै बुढो भयो । एसियाली विकास बैंक (एडीबी)को अनुदान तथा ऋण र भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख लगनीको बसपार्क महानगरपालिकाले न चलाउन सक्यो, न त संरक्षण गर्न ।

भरतपुर महानगरपालिकाको तीन र राष्ट्रिय सहकारी विकास बोर्डको साढे दुई बिघा गरी पाँच बिघा जग्गामा बनेको बसपार्क अहिले अस्तव्यस्त छ । भरतपुरमा सुविधासम्पन्न बसपार्क त बन्यो तर, बसहरुको मुख देख्न पाएन । नारायणगढ बजारमै जथाभावी बसहरु पार्किङ गरेर ट्राफिक जाम गराउने चलन रोकिएन ।

ट्राफिक जाम र अस्तव्यस्ता हटाउन बनाइएको बसपार्क चाहीँ अवाञ्छित गतिविधिको अखडा बन्यो ।

भरतपुर महानगरपालिकाले नारायणगढ बसपार्कसहित केन्द्रीय बस टर्मिनललाई ठेक्कामा लगाउँदै आएको छ । नारायणगढ बसपार्कका १४ र केन्द्रीय बस टर्मिनलका ३८ वटा सटरको भाडा ठेकेदारले उठाउँछ । ठेकदार कम्पनी एन के इन्टरनेशनल कन्र्सन संचालक शिवचन्द्र उप्रेतीले ३२ जनालाई रोजगारी दिएको बताए ।

कन्र्सनले महानगरपालिकालाई तीन वर्षमा १० करोड पाँच लाख रुपैयाँ बुझाउने गरी लिएको पछिल्लो ठेक्काको ९ महिना बितेको छ ।

बसपार्कको पार्किङ-वेमा ३०० बस अटाउँछन् । बसपार्कमा ५०० बस अट्छन् । कन्सर्नले स्थानीय रुटका सवारीसँग ५० रुपैयाँ र लामो दूरीका बससँग दैनिक ७० रुपैयाँ उठाउँदै आएको छ ।

बसपार्कमा रहेका दुईसय जना अट्ने प्रतिक्षालय प्रायः खाली देखिन्छ । पोलहरुमा रहेको बत्ती बल्दैन, शौचालय पसिनसक्नु छ । टर्मिनलको माथिल्लो तलामा ठेकदार कम्पनी, यातायात समिति र प्रहरी बसेका छन् ।


सडक वरपर फोहोर थुपि्रएको छ । सुविधा सम्पन्न बसपार्क ‘बादरको हातमा नरिवल’ बन्यो र छिट्टै थोत्रियो पनि । केन्द्रीय वस टर्मिनललाई शून्य विन्दु मानेर सवारी साधान यही लैजाने भनिएपनि कार्यान्वयन भएन ।

बसपार्क व्यवस्थापन गर्ने सातजनाको समितिमा प्रमुख जिल्ला अधिकारी पनि छन् तर, समितिको बैठक नै नबसेको धेरै भइसक्यो ।

यस कारण चलेन टर्मिनल

आधुनिक बसपार्क नचल्नुमा नारायणगढका घरवाला ब्यापारीको ठूलो हात छ । पूर्व-पश्चिमबाट आउने बसहरु केन्दि्रय टर्मिनल गयो भने उनीहरुको ब्यापार घट्छ । त्यसैले केही यातायात व्यवसायीसँग मिलेर उनीहरुले बसपार्कको उद्देश्यलाई बिफल बनाए । नारायणगढ क्षेत्रमा ‘पिक एण्ड ड्रप’ मात्र गराउने ट्राफिक प्रहरीको प्रयासलाई पनि उनीहरुले असफल बनाए ।

नारायणगढको पुल्चोकदेखि पोखरा वसर्पाकसम्म सडक बिस्तार गर्ने कुरा चलेपछि उनीहरु फेरि सक्रिय भए । नेताका घर चाहारेर सडक विस्तार नगर्ने मागलाई चुनावी राजनीतिक मुद्धा बनाए ।

गोरखा-नारायणगढ सडकको जिरो प्वाइन्ट पूल्चोक हो, जहाँको साँघुरो सडकमा जाम र दुर्घटनाको खतरा बढेको छ । माइक्रो र विभिन्न क्षेत्रबाट आएका बसहरु पुल्चोकमै पार्क हुन्छन् ।

बसपार्कको ठेकदारले टर्मिनल प्रवेश नगर्ने बसलाई ढाँटमा जरिवानासहित शुल्क लिन्छ । जरिवाना तिरेपछि बसपार्क छिर्नुपदैन । नारायणगढको पुल्चोकबाट केन्ऽीय बस टर्मिनल करीव दुईकिलोमिटर टाढा भएकाले आँपटारी हुँदै काठमाडौं, पोखरा जाने बसहरुले पनि जरिवाना तिर्न सजिलो मानेका छन् ।

बसपार्क खाली हुँदा मेला महोत्सव र राजनीतिक दलहरुलाई आमसभा गर्न सजिलो भएको छ । यसरी बेकाम बनाईएको केन्दि्रय बस टर्मिनललाई अहिले शहरी विकास तथा भवन निर्माण आयोजनाको १४ करोड २४ लाख खर्चमा मर्मत गरिँदैछ । रविना कन्स्ट्रक्सन प्रालि काठमाण्डौंले २०७७ पुसमा मर्मत सक्नेगरी ठेक्का पाएको छ ।

अब कसरी चलाउने ?

बस टर्मिनल बनाउँदा लागेको एडीबीको ऋण भरतपुर महानगरपालिकाले लगभग तिरिसकेको छ । महानगरले टर्मिनलको पहिलो ठेक्काबाट करीव तीन करोड, दोस्रोबाट सवा पाँच करोड, तेस्रोबाट सवा छ करोड उठाएको छ । अहिले चौंथो ठेक्काबाट १० करोड ५ लाख रुपैयाँ उठाउँदैछ ।

तर, शहरी विकास आयोजनामार्फत सरकारी पैसामा मर्मत हुने लागेको संरचनालाई अब कसरी चलाउने भन्ने प्रश्न उठेको छ । महानगरपालिकाले समिति बनाएर बसपार्क चलाउने बहस पनि चल्न थालेको छ ।

टर्मिनलको मर्मत, रंगरोगन जस्ता कुरामा ठेकेदारको ध्यान नपुग्ने हुनाले महानगर अन्तरगत समिति बनाएर चलाउनुपर्ने चितवन पर्यटन विकास समितिका अध्यक्ष बद्री अधिकारीको मत छ । ‘नाफा मात्र कमाउने ध्याउन्नले ठेकेदारलाई दिदा हालत फेरी अहिलेकै जस्तो हुनसक्छ’, उनी भन्छन्, ‘बस टर्मिनललाई चितवनको चिनारी बन्ने गरी चलाउने हो अधिकार सम्पन्न समिति बनाउनपर्छ ।’
सिसिटिभी, स्तरीय फुड कोर्ट, जिल्लाका पर्यटकीय गन्तब्यहरु झल्काउने डिजिटल डिस्प्ले, होडिङ बोर्ड, आर्कषक बगैंचा आदीले यसलाई देशकै नमूना बसपार्क बनाउन सकिने अधिकारीले बताए ।

नारायणी यातायात व्यवसायी संघका सदस्य सचिव शंकर गिरी पनि बसपार्क सञ्चालनमा ठेकदारी प्रथा हट्नुपर्ने बताउँछन् । महानगरपालिकाले समाजका प्रवुद्व व्यक्तित्वहरुलाई समेत रहने अधिकार सम्पन्न संचालक समिति बनाएर अगाडी बढ्ने हो भने सहयोग गर्न यातायात व्यवसायीहरु तयार हुने उनले बताए ।

तस्वीरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment