+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘निर्दयी’ पूर्वराजपरिवार !

हरि अधिकारी हरि अधिकारी
२०७६ वैशाख ११ गते ११:३०

११ वैशाख, बिराटनगर । इटहरी उपमहानगरपालिका- ९ पुष्पलाल चोककी ४९ वर्षीया कालिनदेवी चौधरीले इटहरी बजारको बिराटनगर लाइनमा मकै पोलेर गुजारा चलाएको १० वर्ष भयो ।

कालिनदेवीका श्रीमान रोगी छन् । उनले मकै बेचेरै तीन छोरी र एक छोरा हुर्काइन् । छोरा प्रकाशले पनि काम गरेर परिवारलाई भरथेग गर्न थालेको दुई वर्ष पुग्दै थियो । तर, २७ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर झापा फर्कंदै गरेको गाडीले प्रकाशलाई ठहरै पारिदियो ।

इटहरी-८ हटियालाइनमा चिया बेचेर गुजारा गर्दै आएकी ४८ वर्षीय आशादेवी चौधरीको आशा, भरोसा र खुशी पनि त्यही दुर्घटनाले समाप्त पारिदिएको छ ।

गाडीको ठक्करबाट एक्लो छोरा हेम चौधरीको ज्यान गएपछि कालिनदेवी जस्तै आशादेवीको दिनरात रोएरै बितिरहेको छ । उनका श्रीमान नन्दलाल ०७० सालमै बितिसकेका छन् ।

प्रकाश र हेम अल्मुनियमको काम गर्थे । कक्षा १० सम्म सँगै पढेका उनीहरु पढाई बिग्रिएपछि एल्मुनियमको काम सिकेका थिए । पछिल्लो समय आफैं ठेक्का लिएर काम गर्न सक्ने भएका थिए ।

प्रकाशले सुन्दरहरैंचामा ठेक्कामा लिएको काम २७ गते बुधबार सक्ने दिन थियो । त्यसका लागि बिहान चाँडै निस्किएका उनीहरु साँझ सात बजेतिर घर फर्कंदै थिए । त्यहीबेला पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको जिपले उनीहरु सवार को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा ठक्कर दियो ।

कालिनदेवीको घर

हेमलाई त्यही साँझ बिराटनगरको नोबेल मेडिकल कलेजले मृत घोषणा गर्‍यो भने प्रकाश पनि बैशाख २ गते बिते । पूर्वराजा वा उनको सचिवालय या परिवारले घटना भएको १४ दिनसम्म पनि दुवै युवकको विपन्न परिवारलाई भौतिक सहयोग त के मौखिक सान्तवना दिनसमेत आवश्यक ठानेका छैनन् ।

स्थानीय सरकारले हटियालाइनबाट १० वर्षअघि स्थानान्तरण गर्दा कालिनदेवीलाई पाँच धुर जग्गा दिइएको थियो । सोही जग्गामा उनले सानो घर बनाएकी छन् । आशादेवीको घर त छ, तर अर्काको जग्गामा । बुढेसकालमा छोरा गुमाउन पुगेकी उनी आफूले नसक्ने हुँदा कसको सहारामा बाँच्ने भन्ने प्रश्न गर्छिन् ।

‘हात खुट्टा लागुञ्जेल त जसोतसो गरेर खान्छौं’ प्रकाशकी आमा कालिनदेवीले अनलाइनखबरसँग भनिन्, ‘बुढेसकालमा कसरी बाँच्नू ?’

मृतक परिवारले पूर्वराजपरिवारबाट कुनै सहयोग वा सान्त्वनासम्म नपाएको गुनासो गरिरहँदा पूर्वराजाका निजी सचिव डा. फणि पाठकचाहिँ औषधोपचार आदिमा सहयोग गरिएको आफूले जानकारी पाएको बताउँछन् । साथै पूर्वराजाको गाडीले नभएर कारगेटले ठक्कर दिएको बताउँदै पाठकले अनलाइनखबरसँग आक्रोश पोखे- के तपाईंहरुले सरकार (पूर्वराजा) लाई बदनाम गर्न खोजेको ?

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?