११ वैशाख, दोलखा । बालकृष्ण समको मुकुन्द इन्दिरामा उल्लेखित पंक्ति ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ यिनीहरुले पढ्न पाएका छैनन् । तर १४ वर्षीय समीर र १२ वर्षीय सुशील नेपाली दाजुभाइको जीवनमा ठ्याक्कै मिल्छ, समको त्यो नाटक कृतिको दुई लाइन ।
दाजुभाइले एक वर्षअघि बुबा गुमाए । बुबाले आत्महत्या गरेको ६ महिना नपुग्दै आमाको पनि मृत्यु भयो । अहिले काका काकीको संरक्षणमा रहेका समीर र संयोगको जीवनमा सुखको क्षण आएन । ‘टुहुराका दिन आउँछन् भन्छन्, एक दिन त हाम्रो पनि आउलान् नि’ टाउको कन्याउँदै दाजुले यसो भन्दा भाइ लजाउँदै कान्ला मुनि उफ्रिए ।
चार वर्षअघि विनाशकारी भूकम्पले घर भत्किदा समीर १० र संयोग ८ वर्षका थिए । यसबीचमा समीर सुन पसलमा काम गर्न काठमाडौंतिर लागे । बुबा र आमा दुवैको मृत्यु भएपछि भाइको जिम्मा लिन गाउँ फर्किए । काका काकीसँग बस्दै आएका छन् ।
उनीहरुको आफ्नो घर त चाहियो । तर घर बनाउन आएको अनुदानको पहिलो किस्ता बुबाले नै मासिसकेका थिए ।
जसको कोही हुँदैन उसको भगवान हुन्छ भनिन्छ । वडा कार्यालयको सिफारिसमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तगृत विपद जोखिम व्यवस्थापन परियोजनाको सहयोगले कम्तीमा बस्नका लागि छानो पाएका छन् । अनलाइनखबर टीम इन्द्रावती गाउँपालिका वडा नम्बर ८ ज्यामिरे पुग्दा उनीहरु निर्माणाधीन घरको झ्यालबाट चियाइरहेका थिए ।

उनीहरुको घर कति बन्यो भनेर निरीक्षण गर्न वडाध्यक्ष बखानसिंह तामाङ बेला बेला त्यहाँ पुग्छन् । परियोजनाले दिएको ५० हजार रुपैया बराबरको निर्माण सामाग्री र डकर्मी तालिमकै क्रममा उनीहरुको घर निर्माण सम्पन्न हुने चरणमा छ । ‘५० हजारको निर्माण सामाग्री सहयोग नपाएको भए यिनीहरुको घर बन्ने अवस्था थिएन’ वडाध्यक्ष तामाङले भने ।
करीव दुई आना जग्गामा बन्दै गरेको घर बाहेक उनीहरुको अरु कुनै सम्पत्ति छैन । यो घर बनेको जग्गासहित पाखोबारी पनि हजुरबाकै नाममा छ । समीर स्कूल गएनन् ।
भाइ चार कक्षामा पढ्दैछन् । अब उनको लक्ष्य भनेको गाउँमै केही काम गरेर भाइलाई पढाउने छ । खेतिबारी गर्ने जमिन नभएका उनीहरु भन्छन्–घर त बन्यो अब के खाएर बाँच्ने होला ?
समीरले दुईचार वटा बाख्रा कतैबाट पाए त्यही पालेर जीविकोपार्जन गर्ने चाहना व्यक्त गरे । छिमेकी गाउँतिर विभिन्न संघ संस्थाले गरीव परिवारलाई निःशुल्क बाख्रा तथा खोर उपलब्ध गराएको सुनेका उनले बाख्रा पाए हुन्थ्यो भनेका हुन् ।
इन्द्रावतीपछि दोलखाको काटाकुटीमा पुग्दा ७५ वर्षीय नरबहादुर तामाङ नजिकैको जस्ताको टहरोबाट नयाँ घरमा सर्दै थिए । दृष्टिविहीन तामाङ भतिजी बुहारीको रेखदेखमा बसेका थिए ।
भूकम्प पीडितले पाउने अनुदानको पहिलो किस्ता रकम छोराले काठमाडौंमा लिएर गएपछि उनको घर बनेको थिएन । वडाको सिफारिसमा राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा उनको घर बन्यो ।
नरबहादुर जस्तै अपांगता भएका र विपन्न मानिएका काटाकुटीका दश परिवारले ५० हजार रुपैयाँ बराबरको निर्माण सामाग्री पाएपछि घर बनाउन थालेका छन् । पहिलो किस्ताको रकम अन्यत्र खर्च गरेर घर नबनाएकाहरुले घुम्ती कोष र निर्माण सामाग्री सहयोगपछि धमाधम घर निर्माण सुरु गरेर दोस्रो किस्ताको अनुदानका लागि निवेदन दिइरहेको वडा सचिव चीन तामाङले बताए ।
पहिलो किस्ता अनुदान लिएर पनि घर बनाउनै नसक्ने आर्थिक तथा व्यवहारिक समस्या झेलिरहेका भूकम्प पीडितलाई संयुक्त राष्ट्रसंघीय कार्यक्रमले स्थानीय गैरसरकारी संस्थाहरुको समन्वयमा र वडाको सिफारिसमा घर बनाउन सघाएको रहेछ ।
सिन्धुपाल्चोक र दोलखाका केही स्थानीय तहमा प्रत्येक वडाका १० विपन्न परिवारलाई ५० हजार रुपैयाँ बराबरको निर्माण सामग्री, डकर्मी तालिम तथा खाजा र घुम्ती कोषमार्फत थप १० परिवारलाई घर बनाउन ५० हजार निर्ब्याजी ऋण सहयोग गरिएको छ । असहाय, विपन्न, एकल महिला र अपांगता भएका व्यक्तिहरुका घर बनाउन स्थानीय सरकार र परियोजनाहरुले सहकार्य गरेका हुन् ।

घर बनाउनै नसकेर टहरमा बसेकाहरुलाई छानामुनि त ल्याइयो, अब उनीहरुलाई मानोको व्यवस्था कसरी गर्ने ? गाउँतिर पुनर्निर्माणको काम सकिँदै गर्दा जीवनयापनबारे छलफल चल्नुपर्ने आवश्यकता औल्याउँछिन् भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पा लामा । भूकम्पपछि जसरी धेरै मान्छे गाउँ छाडे, पुनर्निर्माणपछि जीविकोपार्जन सहज भएन भने पलायन हुनेको संख्या बढ्ने उनको चिन्ता छ ।
भूकम्पले भत्काएका घर त जसोतसो ठडिए तर अब जिविकोपार्जन के ? भन्ने प्रश्न अहिले स्थानीय जनप्रतिनिधिदेखि गाउँमै कार्यरत संघ संस्थाहरुले झेलिरहेका छन् । यो प्रश्न बारम्बर उठेपछि दोलखाको शैलुङमा यिनै परियोजनाबाट जिविकोपार्जनका उपाय पनि अबलम्बन गर्न थालिएको वडा नम्बर ४ का वडाध्यक्ष भरत ढुंगेलले बताए ।
बाख्रापालन, व्यवसायिक तरकारी खेती जस्ता कार्यक्रमले जिविकोपार्जनमा सहयोग गरेको उनको अनुभव छ ।
युरोपियन युनियनको मानवीय सहायता कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विपन्न तथा असहायहरुलाई घर बनाउन तथा जिविकोपार्जनमा सघाइरहेको छ । यस अन्तर्गत दोलखाको शैलुङका स्थानीयले टनेलबाट तरकारी खेतीमा राम्रो प्रगति गरेकाछन् भने कतिपयले बाख्रापालन गरेका छन् ।
स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने जिम्मा गाउँपालिकाले लिने गरी पुननिर्माणपछि स्थानीयलाई जिविकोपार्जनमा केन्द्रित गर्न थालिएको इन्द्रावती गाउँपालिकाका वडाध्यक्ष तामाङले बताए । गाउँमै जिविकोपार्जनका उपाय नखोजिने हो भने पुनर्निर्माणपछि गाउँको जनशक्ति झन् ठूलो संख्यामा बाहिर पलायन हुने जोखिम छ ।
भुकम्पपछिका चार वर्षमा पुनर्निर्माणको काम चल्यो । अधिकांश स्थानीय जो गाउँमै बस्ने बाहेक अन्यत्र विकल्प थिएन, उनीहरुले सरकारबाट अनुदान लिएर र नलिईकन पनि आफू बस्ने घर बनाइसके । अहिले प्रायः गाउँमा निजी आवासतर्फ पुननिर्माणको काम ७० देखि ९० प्रतिशतको बीचमा पुगेको छ । अब यी ठाउँका विपन्न भूकम्प पीडितहरुका लागि जिविकोपार्जनमा सघाउनुपर्ने देखिएको छ ।
स्थानीय सरकारहरु योजना बनाउन लागेका छन् । कृषिलाई व्यवसायिकरण गर्ने र नगदे कृषि तथा पशुपालनमा लगानी गर्ने बाहेक जिविकोपार्जनका लागि स्थायी विकल्प अरु नहुने उनीहरुको निष्कर्ष छ । तत्कालका लागि मानवीय सहायता कार्यक्रमहरुबाट गरिएको बाख्रापालन तथा व्यवसायिक तरकारी खेतीलाई स्थानीय तहले पनि साथ दिएका छन् ।
तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया 4