Comments Add Comment

मे महिनाभित्रै तातोपानी नाका खुल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

१९ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकको तातोपानी नाका यही मे महिनाभित्र सञ्चालनमा आउने दाबी गरेका छन् ।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि भौतिक संरचना निमार्णको काम भइरहेको बताए । भौतिक संरचनाको निर्माण कार्य चीनतर्फ सकिएको र नेपालतर्फ भइरहेको जानकारी दिए ।

‘हामीले केही समय पहिले अवलोकन पनि गरेका थियौं । उहाँहरु (चीन) को पाटोबाट काम (भौतिक पूर्वाधार निर्माण) सुचारु हालतमा छ । हाम्रैतिर यतापट्टि (बाह्रबिसेको वारिपट्टि) काम भइरहेको छ’, उनले भने, ‘जे होस् मे महिनाभित्रै यो (तातोपानी नाका) खुल्छ ।’

गत चैत २६ गते परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नि सापकोटा, घनश्याम भुसाल, पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको टोलीले तातोपानी नाकाको स्थलगत निरीक्षण समेत गरेका थिए ।

विस २०७२ को भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका बन्द रहेको छ । मन्त्री ज्ञवालीका अनुसार हाल अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम भइरहेको छ ।

‘चीनबाट समुद्रसम्मको पहुँच खुल्यो’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले औपचारिक रुपमा चीनको भूमि हुँदै समुन्द्रसम्म नेपालको व्यापारको ढोका खुलेको बताएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालले चाहेको खण्डमा भोलिदेखि नै चीनको भूभाग भएर समुन्द्रसम्मको पहुँच उपयोग गर्न सक्ने बताए । तर, ब्यवहारिक कठिनाई रहेको उनको भनाइ थियो ।

‘कानुनी हिसाबले चीनसँगको यातायात तथा पारवहन सम्झौताको कार्यान्वयन सुरु भयो । चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको ढोका खुलेको छ । हामीले चाहने हो भने भोलिदेखि नै चीनको भूभाग भएर समुन्द्रसम्मको पहुँच उपयोग गर्न सक्छौं’, उनले भने, ‘तर, ब्यबहारिक रुपले हाम्रा पूर्वाधारहरुका हिसाबले भने चुनौती थपिएको छ । दायित्व थपिएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा यातायात पारवाहन प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतासँगै चीनको भूभाग भएर नेपालको समुन्द्रसम्मको पहुँच कानुनी रुपमा कार्यान्वयनमा आएको मन्त्री ज्ञवालीले बताएका हुन् ।

त्यसका लागि हाम्रो पक्षबाट पूर्वाधार निर्माण गर्न आवाश्यक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले चीनसँगको यातायात पारवाहन प्रोटोकल सम्झौतालाई भारतसँगको सम्बन्ध र चाइना कार्डका रुपमा प्रचार नगर्न पनि आग्रह गरे ।

सम्झौताले भारतसँगको सम्बन्धमा कुनै अर्थ राख्छ कि ! चाइना कार्डका रुपमा प्रयोग गरियो भनेर ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘कसैका विरुद्ध कार्ड भन्ने प्रश्न नै रहेन । नेपाल स्वतन्त्र देश हो । आफ्नो आवश्यकता अनुसार सम्झौत गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment