
वैशाख २०, काठमाडौं । सरकारले बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत परियोजना यसैवर्ष निमार्ण सुरु गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा पेश गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको आगामी आर्थिक वर्षबाट निर्माण सुरु गरिने उल्लेख गरिएको छ ।
देशभर निर्माणाधीन ८७ जलविद्युत आयोजनाको निर्माण यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसबाट एकहजार मेगावट विद्युत केन्द्रीय प्रणालीमा जोडिने सरकारी विश्वास छ ।
सरकारले नेपालको पानी जनताको लगानी अभियानमार्फत ३५ सय मेगावट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । उक्त आयोजनामा सम्पूर्ण नेपालीको सेयर स्वामित्व रहने बताइएको छ ।
आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्याइने र उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पुर्याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले आगामी पाँच वर्षभित्र ७ सय किलोवाट घण्टा प्रतिव्यक्ति विद्युत् खपत पुर्याउने पनि जनाएको छ ।
निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गरिने कुरा नीति तथा कार्यक्रममा भनिएको छ ।
पूर्वपश्चिम राजमार्ग र रसुवागर्ढी-काठमाडौं-वीरगञ्ज कोरिडोरहरूमा ४ सय केभीए क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया 4