२३ वैशाख, वीरगञ्ज । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समयमा अधिकांशमा मुटु पोल्ने समस्या (ग्यास्ट्रो ईसोफेजियल रिफ्लेक्स डिजिज-जिईआरडी) बढी देखा पर्न थालेको छ ।
वीरगञ्जको विर्तास्थित ग्याष्ट्रो तथा लिभर क्लिनिक ईण्डोस्कोपी सेन्टरले गरेको अध्ययनका क्रममा त्यस्तो देखिएको हो । यो पेटसम्बन्धी जटिल समस्याको रुपमा विकसित हुँदै गइरहेको चिकित्सकले बताएका छन् ।
गत शनिबार सेन्टरले पेट सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । त्यस क्रममा शिविरमा चेकजाँचका लागि नाम लेखाएका १३३ जनाको जीईआरडी स्कोर गर्नुको साथै थुकको पिएच भ्यालु मापन गरिएको थियो ।
थुकमा अम्लीयपना कति छ भनेर जान्नका लागि पिएच भ्यालु मापन गर्ने गरिन्छ । जिईआरडी स्कोरिङका लागि ६ वटा प्रश्नावली सहितको र्फम तयार गरिएको थियो । बिरामीले दिएको उत्तरको आधारमा स्कोरिङ गरियो ।
परीक्षणमा बारा, पर्सा, रौतहटका गरी १३३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ७४ जना पुरुष र ५० जना महिला थिए । ३ जना बालक र ६ जना बालिकाको जाँच गरिएका थियो ।
७४ जना पुरुष मध्ये ६८ प्रतिशत पुरुष र ५० जना मध्ये ४७ प्रतिशत महिलामा जिईआरडीको समस्या देखिएको बरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर राकेश कुमार झाले जानकारी दिए । उनका अनुसार ३ जना बालक नर्मल देखिएको भएपनि ६ जना बालिका मध्ये ५० प्रतिशतमा मुटु पोल्ने समस्या देखिएको थियो ।
यस्तो अध्ययन वीरगञ्जमा आफूले पहिलोपटक गरेको बताउँदै डा झाले चेकजाँच र औषधी निशुल्क वितरण गर्नुको साथै इन्डोस्कोपी गर्नुपर्ने विरामीलाई विशेष छुट दिएको झाले बताए ।
केटा मानिसमा बढी समस्या देखिनुको कारण व्यस्त जीवनशैली, खानाको ठेगान नहुनु, मद्यपान र बाहिरको खाना हुन सक्ने उनले बताए । ‘तराई मधेसको समाजमा पहिला पुरुषले खाएपछि महिलाले खाने संस्कृति छ यसले गर्दा महिला लामो समय खाली पेट बस्छन्, यसले उनीहरुमा समस्या निम्त्याउँछ,’ उनले भने ।
उनका अनुसार जीईआरडी समस्या भएका मानिसमा मुटु पोल्ने, अमिलो पानी आउने, मुख तितो हुने, खाना खान मन नलाग्ने, पेट फुल्ने तथा वाकवाकी लाग्ने आदी लक्षण देखा पर्छ ।
धुम्रपान, मधपान, चिया कफी बढी सेवन गर्ने, एकैपटक पेटभरी खाने, राति ढिलो खाना खाने, खाने वित्तिकै सुत्ने, चिल्लो पिरो घर बाहिरको खाना खाने, दुखाईको औषधी बढी सेवन गर्ने मानिसमा यस्तो समस्या देखिने चिकित्सकको भनाइ छ ।
‘समस्या आउँदा हामी सामान्य रुपमा हेर्ने गर्छौ, मुटु पोल्यो भनेर डाईजीन लगायतका औषधी खाएर बस्छौं, तर त्यसरी हुँदैन,’ डा. झाले भनेे, ‘त्यसैबाट अल्सर र पछि गएर जटिल खानाको नलीको क्यान्सरको रुप लिन्छ ,’
खानपान, रहनसहन र वातावरणको बारेमा ध्यान नदिँदा जिईआरडीको जोखिम बढ्दै जाने उनको तर्क छ ।
अमेरिकामा पनि खानाको नलीमा हुने क्यान्सरलाई जटिल क्यान्सर मानिन्छ । अमेरिकन क्यान्सर सोसाईटीले सन २०१९ सार्वजनिक गरेको एक तथ्याङक अनुसार अमेरिकामा १७ हजार ६ सय ५० जनामा खानाको नलीमा क्यान्सरको संक्रमण देखिएको छ । जसमा १३ हजार ७ सय ५० जना पुरुष र ३ हजार ९ सय जना महिला छन् ।
अमेरिकामा १ सय ३२ जना पुरुष मध्ये १ जना र ४ सय ५५ जना महिला मध्ये १ जनामा खानाको नलीको क्यान्सरको जोखिममा रहेको सोसाईटीको निष्कर्ष छ ।
प्रतिक्रिया 4