Comments Add Comment

फाइनलमा को ? बार्सिलोना कि लिभरपुल ?

काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोनाबीच मंगलबार राति पौने १ बजे खेल हुँदै छ । पहिलो लेगमा ३–० ले अघि रहेको बार्सिलोनालाई लिभरपुलको मैदानमा अग्रता जोगाउने चुनौती हुनेछ ।

मोहम्मद सलाह र रोबर्टो फर्मिनो घाइते रहेकाले लिभरपुल समस्यामा देखिएको छ । लिभरपुलका युवा स्ट्राइकर रियान ब्रेस्टर खेलका लागि तयार रहेको प्रशिक्षक जर्गेन क्लोपले बताएका छन् । ‘उनी तयार छन् । यो ठूलो मौकामा उनले राम्रो गर्ने छन् भन्ने विश्वास लिएको छु’ १८ वर्षका ब्रेस्टरबारे क्लोपले भने ।

३–० ले पछि रहेको अवस्थामा पनि खेलमा फर्किएर आफूहरु च्याम्पियन्स लिग फाइनलमा पुग्ने विश्वास क्लोपमा देखिए पनि सहज भने छैन । बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि आफूहरुले अग्रता बनाएका छौँ भन्ने नसोची जित्नकै लागि खेल्ने बताउँछन् ।

शनिबार ला लिगामा सेल्टाभिगोसँग हारेको खेलमा महत्वपूर्ण ११ खेलाडीलाई आराम दिएका भालभर्देले लिभरपुलकै मैदानमा आफूहरुलाई कठिन हुने बुझेका छन् । किनभने च्याम्पियन्स लिगको पछिल्लो १३ खेलमा घरेलु मैदानमा लिभरपुल हारेको छैन ।

अन्तिम १६ को खेलमा लिभरपुलले बायर्न म्युनिखलाई र क्वाटरफाइनलमा पोर्टोलाई हराउँदा पनि देखिएको टिम गेम बार्सिलोनासँगको खेलमा पनि निरन्तर गर्नेमा प्रशिक्षक क्लोप विश्वस्त छन् । पहिलो लेगमा लिभरपुल पराजित हुँदा पनि सम्हालिएको खेल नै देखाएको थियो ।

अन्तिम १६ मा लियोनलाई हराएको बार्सिलोनाले क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । पहिलो लेगमा लियोनल मेस्सीको दुई र लुइस स्वारेजको एक गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।

मेस्सीमा बढी निर्भर हुने आरोप खेपिरहेको बार्सिलोना यो सिजन नै उत्कृष्ट लयमा छ । हुन पनि मेस्सीले इंग्लिस विपक्षी टिमविरुद्धको ३३ च्याम्पियन्स लिग खेलमा २६ गोल गरिसकेका छन् ।

के भन्छन् प्रशिक्षक ?

जर्गेन क्लोप (लिभरपुल) – दोस्रो लेग सुरु हुनुअघि नै ३–० ले पछाडि पर्नु हामीले सोचेजस्तो अवस्था होइन । बार्सिलोनाविरुद्धको खेलमा विश्वका उत्कृष्ट दुई स्ट्राइकर हामीसँग हुने छैनन् र पनि ४ गोल गर्नुपर्ने छ । सजिलो त पक्कै छैन तर मैदानमा हामीसँग ११ खेलाडी नै हुने छन् । उनीहरुलाई हराउन हामी सबै रुपमा उत्कृष्ट हुनुपर्छ ।

एर्नेस्टो भालभर्दे (बार्सिलोना) – यदि हामीले गएको हप्ताको नतिजामा धेरै ध्यान दियौँ भने त्यो गल्ती हुनेछ । हामीले यो फाइनल खेल हो भन्ने ठानेर खेल्नुपर्छ । हामीले सहज हुने छैन किनभने उनीहरुसँग उनीहरुका समर्थक पनि हुने छन् । हामीले खेलमा नियन्त्रण बनाउन सक्छौं भन्ने विश्वास छ । उनीहरुले आक्रामक खेल्ने छन्, त्यसमा कुनै शंका छैन । त्यसैले हामीले आफैमा संयमता अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment