Comments Add Comment

कम्बोडियाली राजाको जन्मोत्सवमा प्रधानमन्त्री ओली पाहुना

'एक्लिएको' देशमा नेपालका प्रधानमन्त्रीलाई न्यानो स्वागत

३० वैशाख, काठमाडौं । कम्बोडियामा राजा नारोडोम सिहामोनीको ६५ औं जन्मदिन धुमधामले मनाइँदैछ । तीन दिन सार्वजनिक विदा नै दिइएको छ । र, राजतन्त्र फालेर गणतन्त्र बनेको नेपालका कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली पाहुना लाग्न पुगेका छन् ।

दुई दक्षिणपूर्वी एसियाली देश भियतनाम र कम्बोडियाको साताब्यापी भ्रमणका क्रममा प्रधानमन्त्री ओली सोमबार राजधानी नोम पेन्ह पुगेका थिए । बैंककस्थित नेपाली दूतावासकाअनुसार प्रधानमन्त्री ओलीले त्यहाँ पुग्नासाथ दुई स्मारकमा माल्यार्पण गरे ।

पहिले उनले स्वतन्त्रता स्मारकमा माल्यार्पण गरे । यो स्मारक त्यहाँका स्वतन्त्रता सेनानीहरुको सम्झनामा सन् १९५८ मा निर्माण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीले ओलीले स्वर्गीय राजा नरोडोम सिंहानुकको स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाले शिर निहुराए ।

सोमबार दिउँसो नै कओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेका थिए । गत वर्ष नेपालमा एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आउँदा हुन सेनसँग उनको परिचय भएको थियो । सेनले ओलीलाई त्यतिबेलै कम्बोडियाको भ्रमण गर्ने निम्तो दिएका थिए । स्वीट्जरल्यान्डको डाभोसमा पनि दुई समकक्षीको भेट भयो । त्यहाँ पनि सेनले ओलीलाई आफ्नो निम्तो सम्झाए ।

राजाको जन्मदिनका अवसरमा कम्बोडियाले थुप्रै देशका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई निम्त्याएको थियो । तर, नेपालबाहेक अरु देशबाट उच्चस्तरीय सहभागिता भएको छैन । राजाको जन्मदिनको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए-नभएको विषयमा दूतावासले कुनै अपडेट पठाएको छैन । विज्ञप्तिमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ताहरु गर्ने मात्र उल्लेख थियो ।

जे होस्, नेपालका गणतन्त्रवादी प्रधानमन्त्रीलाई कम्बोडियाले त्यहाँका राजाका जन्मोत्सवका अवसरमा भ्रमण गराउन सफल भएको छ ।

नेपाली प्रधानमन्त्रीको भ्रमणलाई कम्बोडियाले यस अर्थमा पनि महत्व दिइरहेको छ कि उसँग पछिल्लो समयमा धेरै देशहरुको सम्वन्ध राम्रो छैन । अन्य देशहरुबाट उच्चस्तरीय भ्रमणहरु कम्बोडियामा कमै हुने गरेका छन् । खासगरी प्रधानमन्त्री हुन सेनको तानाशाही शैलीका कारण कम्बोडिया अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको छ । अमेरिका र युरोपियन युनियनले गत वर्ष त्यहाँ भएको राष्ट्रिय निर्वाचनलाई अहिलेसम्म मान्यता दिएका छैनन् ।

नेपालको कम्बोडियासँग सन् १९६० को दशकदेखि नै दौत्य सम्वन्ध भएपनि अहिलेसम्म कुनै पनि उच्चस्तरीय भ्रमण भएको थिएन । त्यसैले प्रधानमन्त्री ओलीसहितको जम्बो टोलीले न्यानो स्वागत पाइरहेको छ । विद्यार्थीहरुले सडकमा फुलगुच्छासहित लाम लागेर स्वागत गरेका थिए ।

प्रधानमन्त्री सेनले दुई देशबीच आर्थिक, सांस्कृतिक पर्यटकीय र व्यापारिक सम्वन्ध विस्तार गर्ने उद्देश्य राखिएको बताएका छन् । दुई देशबीच अहिलेसम्म व्यापारिक कारोवार न्यून छ । गत वर्ष जम्मा एक लाख ७० हजार डलरको द्विपक्षीय व्यापार भएको थियो । कम्बोडियाले नेपालमा एक लाख २० हजार डलरको तयारी पोशाक निर्यात गरेको थियो । यो भ्रमणले द्विपक्षीय व्यापार प्रबर्द्धनमा योगदान पुग्ने दुवै पक्षको विश्वास छ ।

सोमबार नै दुई सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा व्यापार र लगानी सम्वन्धी फ्रेमवर्क एग्रिमेन्ट र दुई देशका चेम्बर अफ कमर्सबीच द्विपक्षीस साझेदारी सम्बन्धि एमओयु रहेका छन् । यसअघि दुई देशबीच हवाई यातायात, कुटनीतिज्ञ र सरकारी राहदानी बाहकहरुलाई भिसा छुट तथा नेपालमा दूतावास खोल्नेसम्वन्धी एमओयू भएको थियो ।

प्रधानमन्त्री ओली तीन दिनसम्म कम्बोडियामा रहने छन् । उनले मंगलबार राष्ट्रिय संग्रहालय घुम्नुका साथै त्यहाँका व्यापारीहरुलाई सम्वोधन गरे । राष्ट्रिय सभाका अध्यक्ष हेङ समि्रन र सिनेट अध्यक्ष से छुमसँग भेटवार्ता गरे । उक्त भेटमा दुई देशबीच व्यापारिक सम्वन्ध बिस्तारका विषयमा छलफल भएको थियो ।

ओलीले कम्बोडियाले गरिररहेको आर्थिक उन्नतिको प्रशंसा गरेका थिए । ‘कम्बोडियाको अनुभवलाई नेपालले आफ्नो आर्थिक विकासमा मोडलको रुपमा उपयोग गर्नेछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्वृत गर्दै खलिल टाइम्सले लेखेको छ ।

८ दशकभन्दा बढि फ्रान्सको उपनिवेशमा रहेको कम्बोडिया सन् १९५३ मा स्वतन्त्र बनेको हो ।

स्वतन्त्र भएपछि नरोडोम सिंहानुकले धेरैपटक प्रधानमन्त्रीको रुपमा र दुईपटक राजाको रुपमा शासन गरे । कम्बोडियामा सन् १९९३ संविधानसभाले संविधान जारी गर्‍यो । उक्त संविधानले राजालाई राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सरकार प्रमुखका रुपमा स्थापित गरेको छ । कार्यकारी अधिकारहरु प्रधानमन्त्रीमा केन्दि्रत गरिएका छन् । राजाको भूमिका सेरेमोनियल मात्रै छ ।

अन्य राजतन्त्रतात्मक मुलुकको भन्दा कम्बोडियाको प्रणाली अली भिन्न छ । त्यहाँ राजाको छोरा नै राजा हुने अनिवार्यता छैन । राजाले सन्न्यास लिएपछि वा उसको मृत्युपछि प्रधानमन्त्रीको अध्यक्षतामा रहने रोयल काउन्सिलले नयाँ राजाको चयन गर्छ । नयाँ राजा राजपरिवारको सदस्य वा नातेदार हुन सक्ने व्यवस्था छ ।

नरोत्तम सिंहांनुकले सन् २००४ मा सत्ता त्याग गरेपछि उनका छोरा नारोडोम सिहामोनी त्यहाँका राजा बनाइएका हुन् । उनी १४ अक्टोबर २००४ मा त्यहाँका राजा भएका थिए भने २९ अक्टोबरमा उनको राज्यभिषेक भएको थियो ।

बहालबाला प्रधानमन्त्री हुन सेन एक विवादित तानाशाह मानिन्छन्, जसले ३४ वर्षदेखि अनवरत शासन गरिरहेका छन् । ३३ वर्षकै उमेरमा उनी प्रधानमन्त्री बनेका थिए । गत वर्ष भएको राष्ट्रिय निर्वाचनमा उनी फेरि पाँच वर्षका लागि निर्वाचित भए । तर, यो निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । प्रमुख विपक्षी दललाई अदालतमार्फत विघटन गराएर हुन सेनले चुनाव घोषणा गरेका थिए ।

प्रमुख विपक्षी दल विघटन भएपछि चुनावमा उनलाई चुनौती दिने कोही भएनन् र सहज जित हासिल गरे ।

ह्यूमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले उनलाई ‘पूर्ण सैनिक तानाशाह’ को संज्ञा दिएको छ । उनले देशको सेना र प्रहरीलाई पूर्ण नियन्त्रणमा राखेर अधिकारको दुरुपयोग गरिरहेको उक्त संस्थाले बनाएको प्रतिवेदनमा उल्लेख छ । आफ्ना विपक्षी, मिडिया र नागरिकक समाजमाथि दमन गर्दै आएको आरोप सेनमाथि लाग्ने गरेको छ । उनले विपक्षी दलका थुप्रै नेतालाई देश निकाला गरेका छन् भने कतिपयलाई जेलमा कोचेका छन् ।

नेपालले कुनै पनि देशसँग सम्वन्ध विस्तार गर्नु राम्रो कुरा हो तर कम्बोडियासँग सम्वन्ध विस्तार गर्दा नेपाललाई फाइदा धेरै कि नोक्सानी धेरै हुन्छ भन्ने विश्लेषण सरकारी पक्षबाट भएको देखिछैन । नेपालभन्दा साइजमा ठूलो तर जनसंख्यामा सानो कम्बोडियाको कुल गार्हस्थ उत्पादन पनि नेपालको भन्दा थोरै छ । त्यसैले त्यहाँबाठ नेपालमा अनुदान सहयोग वा लगानी भित्र्याउने कुरा खासै वस्तुपरक देखिँदैन । यद्यपि, प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न त्यहाँ लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

साथै यो भ्रमणमार्फत कम्बोडियाको विवादित सत्ताले नेपालबाट मान्यता पाएको छ । यसलाई अन्तर्राष्ट्रिय समुदायले कसरी लिन्छ, अहिल्यै भन्न सकिँदैन । अर्को कुरा, केही समयदेखि नेपालमा पूर्व राजाविरुद्ध आक्रामक बनिरहेका ओली कम्बोडियामा गएर पूर्वराजाको शालिकमा श्रद्धासुमन अर्पण गर्नु विरोधाभाष देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment