Comments Add Comment

सगरमाथापछि हेलिकोप्टरको चाप सिमिकोट-हिल्सामा

अहिलेसम्म ३ कम्पनीलाई १००/१०० उडानको अनुमति

८ जेठ, काठमाडौं । यो सिजनको सगरमाथा आरोहण अब अन्तिम चरणमा छ । सम्भवतः शुक्रबार-शनिबारसम्म अधिकांश आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किसक्नेछन् ।

आधार शिविर फर्केपछि अधिकांश आरोही हेलिकोप्टरमा काठमाडौं आउँछन् । त्यसैले यतिबेला नेपालका सबै निजी कम्पनीका हेलिकोप्टर सगरमाथा क्षेत्रमा छन् । आरोहीलाई काठमाडौं फर्काएपछि यी हेलिकोप्टरको व्यस्तता हुम्लाको सिमिकोटमा हुन्छ । किनकी अब नेपालगन्ज-सिमिकोट-हिल्सा हुँदै हजारौं भारतीय तीर्थयात्रु कैलास मानसरोवर यात्रामा निस्कन्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अहिलेसम्म ३ हेलिकोप्टर कम्पनीले मन्त्रालयबाट निषेधित क्षेत्रमा गर्ने उडानका लागि सिफारिस लगिसकेका छन् ।

सरकारले एक महिनामा एउटा कम्पनीले बढीमा १ सय पटकसम्म निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गर्न सक्ने प्रावधान बनाएको छ । मन्त्रालयस्थित हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार अहिलेसम्म सिमिकोट-हिल्सा उडान गर्न सिम्रिक एयर, माउण्टेन हेलिकोप्टर र फिस्टेल एयरले अनुमति लिइसकेका छन् । यी कम्पनीहरुले जेठ महिनाका लागि अनुमति लिएका हुन् ।

सरकारले १३ जिल्लामा निषेधित क्षेत्र तोकेको छ । त्यहाँ हवाई उडान गर्ने समयमा वायुसेवा कम्पनीहरुले विभिन्न निकायबाट अनिवार्य सिफारिस लिनै पर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस लिइसकेपछि तालुक मन्त्रालय र अन्तिममा गृह मन्त्रालयको समेत अनुमति अनिवार्य गरिएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, बझाङ र दार्चुलाको माथिल्लो भेगमा हेलिकोप्टर उडान गर्नुअघि यस्तो अनुमति लिनुपर्ने व्यवस्था छ ।

पर्यटकको सुविधाका लागि बाहेक आकस्मिक उद्दार, प्राकृतिक प्रकोप तथा महामारीका बेला हेलिकोप्टर उडान गर्न पनि इमेलको माध्यमबाट अनुमति लिनुपर्ने अथवा उडान गरेको २४ घण्टाभित्र जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ । हरेक वर्ष मे अन्तिम सातादेखि कैलास मानसरोवर जाने भारतीय पर्यटकलाई ओसार्न हेलिकोप्टर खट्ने गर्छन् । एउटा हेलिकोप्टरले एक पटकमा ६ जना यात्रु बोक्न पाउँछ । मूख्य मानसरोवर सिजनमा सिमिकोट-हिल्सा रुटमा एउटै हेलिकोप्टरले १३ देखि १७ सय वटासम्म उडान गर्ने गरेको कम्पनीहरु बताउँछन् ।

भारतीय तीर्थयात्रु नेपालगन्ज वा सुर्खेतबाट जहाजमा हुम्लाको सिमिकोट आइपुग्छन् । सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरमा पुगेर मानसरोवरतर्फ लाग्ने गर्छन् । हेलिकोप्टर समाज नेपालको तथ्यांक अनुसार नेपालमा १० निजी कम्पनीले हेलिकोप्टर उडाइरहेका छन् । निजी क्षेत्रका कम्पनीसँग ३३ वटा हेलिकोप्टर छन् । नेपालको बाटो हुँदै मानसरोवर जाने अधिकांश भारतीय यात्रुको ठूलो खर्च नेपालभित्रै हुने गर्छ ।

जेठबाट शुरु हुने यात्रुको चहलपहल भदौसम्म चल्ने गर्छ । समुन्द्री सहतबाट ६ हजार ५ सय मिटर उचाईमा रहेको कैलास मानसरोवर हिन्दुसहित बौद्ध र जैन धर्मका तीर्थालुबीच पनि उत्तिकै लोकपि्रय छ । कैलास यात्रामा नेपालको बाटो हुँदै झण्डै २० हजार भारतीय यात्रु जाने अनुमान छ । यस मौसममा काठमाडौं-नेपालगन्ज, नेपालजन्ज-सिमिकोट र सुर्खेत सिमिकोट रुटमा पनि हवाई उडानको चाप उस्तै हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment