Comments Add Comment

नामसँगै फेरिएको साम्बाको फुटबल

बारीको पाटामा खाली खुट्टा मोजाको बल हान्नु र बुट लगाएर अन्तर्राष्ट्रिय मैदानमा फुटबल हान्नुमा कति अन्तर छ मलाई सोध्नुस् ।

घरधन्दा सकाएर फुटबल खेल्न निस्कनु पर्दा कस्तो हुन्छ ? हरेक दिन फुटबल खेलेकै कारण घर आएर पिटाई खानुपर्दा के सोचिन्छ ? केटाहरुको टिममा मिसिएर केटीले फुटबल खेल्दा के सुन्नुपर्छ ? यो पनि म तपाईलाई सुनाउन सक्छु ।

लमजुङको सिम्पानीबाट फुटबलले डोर्‍याएर काठमाडौं बोलाइएकी सावित्राले फुटबल जगतमा कसरी ‘साम्बा’को परिचय बनाई भनेर खोज्नुभयो भने यस्ता प्रश्नको जवाफ पाउनुहुन्छ ।

सावित्रादेखि साम्बासम्मको कथा एकछिनमा भनौंला । पहिला गत साता भारतमा सकिएको महिला फुटबल लिगको कुरा गरौं । यसले नेपाली महिला फुटबलको स्तरबारे पनि धेरै थाहा लाग्छ ।

****

भारतमा व्यवसायिक लिग खेल्न पहिलोपटक अनिता बस्नेत र म यस वर्ष जान पायौं । सेथु एफसीबाट खेलेका हामीले त्यहाँ लिगको उपाधि नै जित्यौं । लिगमा मैले त १५ गोल पनि गरेँ ।

सेथु एफसीलाई उपाधि जिताउँदा फाइनलमा मणिपुर पुलिस क्लबविरुद्ध मैले २ गोल गरेँ । खेल हामीले ३-१ ले जित्यौं । उपाधि जितेको खुशी त छँदै थियो, नेपाली खेलाडीको स्तर विदेशी भूमिमा देखाउन पाउँदाको खुशी त्यसभन्दा बढी थियो । यसैले राष्ट्रिय झण्डा बोकेर प्लेयर अफ दि म्याचको उपाधि लिन गएँ ।

भारतमा खेल्न पाउनु हाम्रा लागि एउटा राम्रो अवसर बन्यो । पहिले मालदिभ्समा फुटसल प्रतियोगिताका लागि पनि गएको त हो तर फुटबल, त्यो पनि दक्षिण एसियाका राम्रा खेलाडीका बीच अलि भिन्न हुने रहेछ । धेरै कुरा सिकियो । खेलका साथसाथै अन्य ‘स्किल’ पनि सिक्न पाएँ । अन्तर्राष्ट्रिय प्रतियोगिता कस्तो हुनुपर्छ भन्ने अनुभव भयो ।

सुरुमा त तमिलनाडुका खेलाडीहरुसँग कुराकानीमै समस्या भयो । उनीहरु अंग्रेजी र हिन्दी दुवै नबुझ्ने थिए । हामीले भन्न खोजेको कुरा पनि बुझाउन गाह्रो, उनीहरुले भनेको कुरा पनि बुझ्न गाह्रो । भारतको राष्ट्रिय टिममा परिसकेका ग्रेस, रतन, स्वीटी, आशालता, इन्दु, सन्ध्या, सुमीहरुसँग पहिले पनि कुराकानी हुने गरेकाले अलि सजिलो भने भयो । उनीहरुसँग खेलपछि पनि राम्ररी कुराकानी हुन्थ्यो ।

त्यहाँ लागेको अर्को कुरा दर्शक हो । हामी दर्शकको उत्साहमा खेल्ने बानी परेका खेलाडीलाई त्यहाँ खल्लो हुने रहेछ । दर्शक हाम्रोमा भन्दा निकै कम हुने रहेछन् । यहाँ त घरेलु प्रतियोगितामा पनि धेरै दर्शक जम्मा भएका हुन्छन् । त्यहाँ खेल्दा नेपालका दर्शकको साथ सम्झिइरहेको थिएँ ।

अरु खेलाडीहरुबाट पाएको हौसलाले पनि अब मैले जिम्मेवारी अझ राम्ररी लिनुपर्छ भन्ने लागेको छ । आफूप्रतिको अपेक्षा बढिरहेको छ जस्तो लाग्छ ।

हुन पनि फुटबलमा राम्रो खेलेर केही पनि हुँदैन । जित्नका लागि गोल नै चाहिन्छ । हेर्दा नराम्रै खेल लागे पनि गोल गर्न सक्यो र जित्यो भने अब्बल भइहाल्छ । प्राय हामी चुक्ने त्यही हो । हेर्नेहरुलाई पनि लाग्छ, राम्रो खेले, तर गोल गरेनन् ।

दक्षिण एसियाली फुटबलमा हामी राम्रो खेलिरहँदा पनि भारतसँग सधैं हार्नुको पछाडिका कारणहरु पनि यस्तै गोल नै हुन् । हुन त राम्रो खेलेपछि त गोल भइहाल्छ नि भन्ने लाग्न सक्छ, तर त्यस्तो नहुने रहेछ ।

गएको चैतमा विराटनगरमा भएको साफ फुटबलमा पनि हामी फाइनलमा भारतसँग हार्दा राम्रो अवसर बनिरहँदा पनि गोल गर्न नसकेरै चुकेका हौं । फाइनलको पहिलो हाफमा राम्रो हुँदाहुँदै पनि दोस्रो हाफमा कमजोर बन्न पुग्यौं । खेलमा फर्कन सक्छौं भन्ने विश्वास लागिरहँदा पनि गोल भने हुन सकेन । सारा फुटबल समर्थकले जे अपेक्षा राखेका थिए त्यो हाम्रो तालमेल बिग्रिएर चुक्यो ।

ओलम्पिक महिला फुटबलको एसिया छनोटलाई हेर्दा पनि हामीले नराम्रै खेलेको होइन । पहिलो चरणमा भारत, म्यानमार र बंगलादेश तीनै टिमसँग १-१ को बराबरी खेल्यौं । साफ फुटबलपछि भएको दोस्रो चरणमा भने म्यानमारसँग ३-१ ले हार्‍यौं । भारतलाई साफमा भोगेको हारको बदला लिने सोचे पनि ३-१ ले नै खेल गुमाउन पुग्यौं । अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध भने २-१ ले खेल जितेर सान्त्वना जित निकाल्यौं ।

इन्डोनेसियाविरुद्ध खेल चलिरहँदा प्रशिक्षक र बेञ्चमा रहेका खेलाडीहरुको अनुहारमा अन्तिम खेल पनि हार्ने भइयो भनेजस्तो निराशा देखिएको थियो । त्यसले गर्दा मलाई पनि नरमाइलो लाग्यो । १-१ को बराबरी भइरहँदा अन्तिममा पाएको फि्र किकमा गोल गरेर जित दिलाउन पाउँदा खुशी लाग्यो ।

पछिल्लो समय टिमको माहोल फेरिएको छ, विशेष त प्रशिक्षक हरि खड्का आएपछि । पहिले त प्रशिक्षकको अगाडि उभिएर बोल्न सक्ने वातावरण थिएन । अहिले खेलाडीहरु आफ्ना कुरा निर्धक्क भन्न सक्छन् । सञ्चार माध्यमका अगाडि बोल्न सक्छन् ।

मैदानदेखि बाहिरसम्म धेरै कुरा फेरिएको छ । पारिवारिक वातावरण बनेको छ । अब त्यही वातावरण हामीले मैदानमा अझ राम्ररी देखाउनु छ ।

यी त भए, पछिल्ला केही महिनामा नेपाली महिला फुटबलमा देखिएका दृश्य । त्यसमा मैले आफ्नो भूमिकामा सक्दो राम्रो गर्न सकेँ भन्ने नै लाग्छ । यहाँसम्म आइपुग्दाका दिनलाई फर्किएर हेर्दा यी उपलब्धी पक्कै पनि सानो छैन ।

****

लुगा कपडा र कामबाट छोरा मान्छे र छोरी मान्छे छुटि्टनु पर्छ भन्ने कहिल्यै सोचिनँ । छोरा मान्छेले गर्ने भनिएका कामहरु पनि गर्थें । खेत जोत्थेँ, खसी बोका मार हान्थेँ

मेरो गाउँ लमजुङको सिम्पानी । बेंशीशहरबाट कच्ची बाटो एक घण्टा गाडीमा गएपछि आधा घण्टा उकालो हिँडेर हाम्रो घर पुगिन्छ । सानोदेखि नै फुटबलप्रति लगाव थियो । मनमा जतिबेला पनि हुन्थ्यो, फुटबल खेलिरहूँ तर, खेल सामग्री पाउन सजिलो थिएन । गाउँका दाइहरु खेलेको हेरेर बसिरहन्थेँ । उनीहरुको बल कहिले मैदानबाट तल जाला र हानौँला भनेर कुर्नु नै मेरो काम हुन्थ्यो । कि विद्यालयको मैदानमा, कि धान काटेपछिको बाँझो खेतमा नै खेलिन्थ्यो ।

प्रायजसो मोजाको बल खेल्दै बसिरहन्थेँ । त्यही मोजाको बल खेल्न पनि घरको सबै काम सकाएर जानुपर्थ्यो । चार दिदीबहिनी र दुई भाइमा म माहिली भएकाले पनि काम धेरै नै हुन्थ्यो ।

काम नसकी खेल्न जानु त परको कुरा काम सकेरै खेल्न जाँदा पनि घरमा पिटाई खानुपर्थ्यो । स्कूल सकेर घरको काम पनि सकेर खेल्न निस्कदा झमक्क साँझ परिसकेको हुन्थ्यो, त्यही पनि अबेरसम्म खेल्दै बस्थेँ ।

ममीले पिट्दा नै पनि मायाले नै पिट्नुभएको हो भन्ने ठानेर खासै वास्ता गर्दैन थिएँ । मोजाको बल देखेपछि अरु सबै कुरा बिर्सन्थेँ । त्यही भएर पनि जति पिटाइ, जति गाली खाए पनि मोजाको बलले नै पीडा भुलिन्थ्यो ।

गाउँघरमा दाइहरुसँग नै खेल्न हिँड्थेँ । गाह्रो भए पनि विस्तारै-विस्तारै उनीहरुले आफूसँगै खेलाउन थालेका थिए । कतिपय प्रतियोगितामा समेत दाइहरुको टिममा मिसिएर खेलेको याद छ ।

गाउँघरमा फलानीकी छोरी केटाहरुसँग खेलेर बिग्रिइ भन्ने कुरा हुन्थ्यो । त्यसमा मैले कहिल्यै ध्यान दिइनँ । घरमा पनि त्यस्ता कुराहरु सुन्न दिइनँ । दुई कक्षामा पढ्ने बेलासम्म फ्रक, सट नै लगाएपनि त्यसपछि भने पाइन्ट लगाएर हुर्किएँ । कपाल पनि छोटो नै हुन्थ्यो । लुगा कपडा र कामबाट छोरा मान्छे र छोरी मान्छे छुटि्टनु पर्छ भन्ने कहिल्यै सोचिनँ । छोरा मान्छेले गर्ने भनिएका कामहरु पनि गर्थें । खेत जोत्थेँ, खसी बोका मार हान्थेँ ।

खेत जोत्ने बेलामा पनि सुरुसुरुमा त अनेक झमेला आइलाग्यो । पछि त ममीले नै हलगोरु ल्याएर जोत्न लगाउनुहुन्थ्यो । त्यसले खुलेर काम गर्न पाएँ ।

दशैंमा मार हान्ने बेलामा पनि गाली खाइन्थ्यो । कस्तो उर्भौली भएकी भन्थे । म भने दाइहरुलाई भनेर मार हान्थेँ र कुदिहाल्थेँ । हिँजोआज भने मार हान्ने काम छाडेँ । अहिले त पशुको गर्धनमा खुकुरी बजाउन असाध्यै माया लाग्छ । मार हान्ने कुरामा त त्यतिबेला अलि मुर्खै भएँ कि भन्ने लाग्छ ।

नौ कक्षामा पढ्ने बेलातिर हो, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिएँ । त्यसमा सय मिटर दौड, भलिबल र सट पुट खेलेको थिएँ । सबैमा राम्रै नतिजा आयो । त्यतिबेला सय मिटर दौडमा पाएको स्वर्ण पदकले नै खेलकुद राम्रो कुरा हो भन्ने लागेको थियो । पदक जितेर आएपछि विद्यालयमा पनि सम्मान कार्यक्रम भएको थियो । केही पैसा पुरस्कार पनि पाएको थिएँ । त्यसले पनि हौसला मिल्यो ।

****

गाउँतिर सावित्राले फुटबल खेल्छे भन्ने राम्रै फैलिसकेको थियो । घरखेतको सबै काम सकाएर पनि फुटबलमा लागिरहँदा खुशी नै थिएँ ।

०७१ सालमा ११ कक्षामा पनि १० कक्षासम्म पढेकै अमर उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ । ११ मा पुगेपछि अलि बाहिर पनि खेल्न जाने मन भइरहेको थियो । विद्यालयमा साथीहरुलाई मिलाएर घले गाउँमा भएको फुटबल प्रतियोगितामा टिम लिएर गएँ । हाम्रो टिमले उपाधि जित्यो । ९ गोलसहित म सर्वाधिक गोलकर्ता बनेँ ।

त्यही खेल खेलाउने राष्ट्रिय रेफ्री शुक्र लामा दाइले ‘तिम्रो खेल राम्रो छ, काठमाडौंमा ट्रायलको लागि बोलाएँ भने आउँछौ ?’ भनेर सोध्नुभयो । मैले ‘हुन्छ म आउँछु’ भनेर मेरो सम्पर्क नम्बर दिएँ ।

त्यसको दुई महिनापछि नै उहाँको फोन आयो । ०७१ सालको साउन महिनामा काठमाडौं आएर एपीएफमा ट्रायल दिएर अभ्यासमा सहभागी हुन थालेँ । सुरुमा अभ्यासमा जाँदा केके सामान लैजानु पर्छ भन्नेसम्म मलाई थाहा थिएन । पोलिथिन झोलामा जुत्ता हालेर गएको थिएँ ।

हातमा जुत्ता झुण्ड्याउँदै आएको देखेर दिदीहरुले सोध्नुभयो, ‘तिमीसँग अर्को झोला छैन ?’

मैले झोला कोठामा छ भनेँ ।

झोलामा जुत्ता, फेर्ने एकजोर लुगा र पानी बोकेर आउनुपर्छ भनेर दिदीहरुले सिकाउनु भयो । भोलिपल्टबाट त्यसै गरेँ । अभ्यासका बेला पनि नरकुमार राई, रत्न महर्जन सरसँग धेरै कुरा बुझ्न पाएँ ।

पहिलोपटक बुट लगाएर खेलेको पनि त्यतिबेला नै हो । त्यसअघि त खाली खुट्टाले नै बल हानिरहेको हुन्थेँ । गाउँमा खेल्दा पनि चप्पल त हुन्थ्यो, तर चप्पल लगाएर खेल्ने आँट हुँदैनथ्यो । चप्पल चुड्यो भने ममीको पिटाई खानुपर्छ भन्ने डर हुन्थ्यो । काठमाडौं आएर जुत्ता लगाएर खेल्दा सुरुमा त अप्ठ्यारो जस्तो भयो ।

गाउँबाट आउँदा ममीसँग ५ हजार रुपैयाँ लिएर आएको थिएँ । त्यसमध्ये २९ सय रुपैयाँ त बुट किन्दा नै सकियो । बुट कस्तो के भन्ने थाहा थिएन, तर ठीकै होला भन्ने ठानेर सुन्धारा गएर किनेँ । त्यही जुत्ता पनि तीन महिनामा च्यात्तिहाल्यो । त्यसपछि हजार रुपैयाँ पर्ने जुत्ताले नै पहिलोपटक साफ च्याम्पियनसिपमा खेलेको मलाई याद छ ।

सन् २०१४ को साफ च्याम्पियनसिपमा खेलाडी छनोट गर्नका लागि प्रतियोगिता हुन लागेको रहेछ । त्यही लिगमा मैले आफ्नो खेल प्रमाणित गर्न सकेँ र राष्ट्रिय टिमको ढोका खुल्यो । एपीएफदेखि राष्ट्रिय टिमसम्म झण्डै तीन महिना अभ्यास गर्न पाउँदा मेरो खेलमा धेरै सुधार आयो ।

२०१४ को साफ फुटबल पाकिस्तानमा भएको थियो । त्यसको पहिलो खेलमा नै भुटानविरुद्ध ८६ औं मिनेटमा मैदान छिरेँ भने ८८ औँ मिनेटमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेँ । त्यो खेल हामीले ८-० ले जितेका थियौँ । डेब्यू खेलमा थोरै समय पाए पनि गोल गर्न सक्दा खुशी लाग्यो ।

२०१६ मा साग खेलकुद भयो । त्यसमा हामीले राम्रो नतिजा दिन सकेनौं । हामी सेमिफाइनलमा भारतसँग हारेर बाहिरिएका थियौं । यद्यपि व्यक्तिगत रुपमा मैले भुटानविरुद्ध ६ गोल, माल्दिभ्सविरुद्ध ५ गोल र भारतविरुद्ध १ गोल गरेको थिएँ । त्यसपछिका दिनमा गोलका हिसाबले पनि आफ्नो खेल राम्रो हुँदै गए पनि राष्ट्रिय टिममा दक्षिण एसियाली फुटबलको उपाधि दिलाउने सपना भने बाँकी नै छ ।

****

अब सावित्रा कसरी ‘साम्बा’ बनी भन्ने सुनाउँछु । यसमा त्यस्तो ठूलो कथा त छैन, तर फुटबलमा बनेको परिचय साम्बाकै नाममा बढिरहेको छ ।

जतिबेला एपीएफमा आएर अभ्यास गर्न थालेँ, मेरो कपाल छोटो नै थियो । ०७१ साल साउनमा हामीले आर्मी टिमसँग मैत्रीपूर्ण खेल १-० ले जित्दा मैले नै गोल गरेको थिएँ । त्यही खेलपछि कपाल अझै छोटो बनाउन मन लागेर काटेँ । त्यसपछि दिदीहरुले सावित्रा नाम र ‘लुक्स’ अलि मिलेन भनेर छोटो नाम जुराइदिनुभयो- साम्बा । एक-दुई हुँदै अहिले त धेरैले साम्बा नामले नै चिन्नुहुन्छ । जे होस्, दिदीहरुले मायाले राखिदिएको नाम रमाइलो नै लाग्छ ।

नामसँगै मेरा शैली पनि फेरिएका छन् । गोल गरेपछि क्रिष्टियानो रोनाल्डोले जस्तै ‘सेलिब्रेसन’ गर्दा पनि चर्चा हुने गर्छ । रोनाल्डो मन पर्ने भएकाले नै उसले जस्तै गोल सेलिब्रेसन गर्न थालेँ । पहिले त त्यस्तो गर्न केटाहरुले मात्रै मिल्छ होला जस्तो लाग्थ्यो, तर पछि आफूलाई मन पर्ने ‘सेलिब्रेसन’ गर्दा के भयो त भन्ने ठानेर त्यही गर्न थालेँ ।

साथीहरुसँग गोलपछि कस्तो सेलिब्रेसन गर्ने भनेर बेलाबखत कुराकानी हुन्छ । फुर्सदको समयमा पनि विदेशी लिगका खेलहरु हेरिरहेको हुन्छु । महिला फुटबलमा अस्ट्रेलिया, अमेरिका र ब्राजिलको खेल हेर्छु ।

अर्को बेलाबेला चर्चा हुने कुरा मेरो ‘हेयर स्टाइल’ पनि हो । सशस्त्रमा जागिरमा भएको समय कपालहरु रंग्याउने, फरक ढंगले कपाल काट्ने भन्ने हुँदैन । त्यसैले राष्ट्रिय टिमको क्याम्पमा हुँदा भने कपाल मिलाउने रहर हुन्छ । कस्तो कपाल बनाउने भनेर भिडियोहरु हेरिरहेको हुन्छु । आवरणमा परिवर्तन आउँदा पनि रमाइलो लाग्छ ।

सशस्त्र प्रहरीमा जवान पदमा छु । खेलमा राम्रो गर्दै जाँदा पद बढ्ने सम्भावना पनि हुन्छ । त्यसका लागि तीन महिने तालिम भने पूरा गर्नुपर्छ । अहिले तालिमको समय आएको छ । यसले फुटबल अभ्यासका लागि समय हुँदैन कि भन्ने डर छ ।

****

राष्ट्रिय टिमसम्म पुगेर नाम चलेपछि पुराना दिनहरु सबै उल्टिएको छ । गाउँघरतिर सबैले राम्रो गरेकी छस् भन्छन् । घरतिर आफ्ना छोरीहरु पनि फुटबल खेलेर सावित्री जस्तो बनोस् भन्नेहरु भेट्छु । सबैतिर आदरको व्यवहार पाउँछु । छोरी मान्छेले खेल्दा उत्ताउली भइ भन्ने गाउँमा महिला फुटबललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको पाएको छु । गाउँमा महिला फुटबल टिम देखिन्छन् । त्यसका लागि केही सहयोग गर्ने मन पनि छ । केही त अवश्य गर्छु नै । हाम्रो क्लब दिव्यज्योति युवा क्लबले गाउँमै मैदान बनाएको छ ।

फुटबलमा पाएका उपलब्धीले खुशी दिएको छ । त्यसैले लाग्छ, थप मेहनत गरेर अगाडि बढ्नुपर्छ । देशलाई हामीले के दिन सकिन्छ भन्ने सकारात्मक सोच राखेर बढ्दा देशले पनि अवश्य केही दिने छ भन्ने लाग्छ ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा‘ को ३८ औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment