Comments Add Comment

वडाले थाल्यो वरपिपल चौतारी र कुवा संरक्षण अभियान

Photo Credit : प्रतीकात्मक तस्वीर

१९ जेठ, म्याग्दी । जिल्लाको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ ।

ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ । वडाभित्र रहेका वरपिपल, चौतारी, पोखरी र धाराको संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी बनाएर धमाधम मर्मतसम्भार र संरक्षणको काम भइरहेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

‘धार्मिक तथा पर्यावरणमा टेवा पुग्ने सम्पदालाई संरक्षण गर्नका लागि रु दुई लाख ५० हजार बजेट विनियोजन गरेर काम शुरु गरेका छौं’, बानियाँले भने, ‘कतिपय व्यक्तिले वडाको यो अभियानलाई साथ दिँदै व्यक्तिगत खर्चमा चौतारी र बाटो निर्माण गर्नुभएको छ, वरपिपल रोप्नुभएको छ, त्यस्ता व्यक्तिलाई सम्मान गर्ने वडाको कार्यक्रम छ ।’

वरपिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने काम भइरहेको बानियाँले बताए । साविकको अर्थुङ्गो गाविसअन्तर्गत विभिन्न बस्तीमा निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धाराहरु सडक खन्ने क्रममा पुरिएपछि वडा कार्यालयले वातावरण तथा सम्पदा संरक्षण शीर्षकमा बजेट नै विनियोजन गरेर संरक्षणको काम थालेको र यसको जिम्मेवारी समुदायलाई दिइएको छ ।

बानियाँका अनुसार वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वरपिपल र चौतारी छन् । तीमध्ये कतिपय जीर्ण अवस्थामा पुगेका छन् भने कतिपय सामान्य मर्मत गरे हुने खालका छन् । गाउँबाट सदरमुकाम तथा अरु ठाउँमा जाने बटुवालाई लक्षित गरी धार्मिक आस्थाका आधारमा रोपिएका वरपिपल र बनाइएका चौतारीको अभिलेखसमेत राखिएका छन् । त्यसैगरी ५५ पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएका र तीनलाई पुनः पहिलाकै अवस्थामा ल्याउन स्थानीयवासीको श्रमदान र वडाको आर्थिक सहयोगमा काम भइरहेको उनले जानकारी दिए ।

वडामार्फत सञ्चालन गरिएको यस अभियानलाई स्थानीयवासीले समेत स्वतःस्फूर्तरूपमा साथ दिएका छन् । वरपिपल संरक्षणको उचित व्यवस्था मिलाउन नियमित अनुगमनका साथै स्थानीयवासीलाई नै समेटेर सम्पदा संरक्षण समितिसमेत बनाइएको छ । समितिले वरपिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी पाएको छ ।

विसं २०७५ माघ ८ गते गण्डकी प्रदेश सरकारले वरपिपल र चौतारी संरक्षणका लागि कानून नै बनाएर प्रदेशसभाबाट पारित गरिसकेको छ । प्रदेश सरकारले कानून बनाए पनि स्थानीयस्तरमा डोजर नै लगाएर मास्न थालेपछि पछिल्लो समय वरपिपल संरक्षणको विषयमा बहस नै चल्न थालेको छ । वरपिपल र चौतारी पोखरीको संरक्षणप्रति समुदायको चासो पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment