Comments Add Comment

रामकाजी गुरुङ : पैसा कमाएर गाँठो पारेर राख्नेले सिकुन्

२५ जेठ, बुटवल । पर्वत जिल्लाको फलामखानी घण्टेगाउँका रामकाजी गुरुङको पृष्ठभूमि ब्यापार हो । एक पैसा उधारो नदिने तर अन्तभन्दा सस्तोमा सामान बेच्ने उनले गाउँमा एकैपटक ५ वटासम्म कपडा पसल चलाए । पछि उनी ब्रिटिस लाहुरे पनि भए । तर क्षयरोग लागेपछि ४ वर्षमै घर फर्केर ब्यापारलाई निरन्तरता दिए ।

ब्यापारबाट राम्रै कमाई गरेका उनी २०१८ सालमा गाउँमा प्रधानपञ्च पनि बने । प्रशस्त पैसा कमाए पनि आफ्नो पालामा गाउँमा विद्यालय नहुँदा स्कूल पढ्न नपाएको कुराले उनलाई सधैं पिरोलिरहन्थ्यो । मनमा यही कुरा गडेका रामकाजीले नयाँ पिंढीले पढ्न पाउन् भनेर साविक पर्वत फलामखानी घण्टे देउराली -हाल आरुचौर-७ स्याङजा) मा आफ्नै जग्गामा विद्यालय बनाए । ५ जना विद्यार्थीबाट शुरु भएको विद्यालय अहिले १२ कक्षासम्म पढाई हुने माध्यमिक तहको भएको छ ।

घण्टे देउराली उच्च मावि बनाउन उनले करिब ४० लाख रुपैयाँ व्यक्तिगत रुपमा लगानी गरे । पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा उनले पछि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिदिए । रामकाजीले आफूले स्थापना गरेको घण्टे देउराली माविको अक्षयकोषको रकम ५ लाखबाट बढाएर अर्को वर्ष १२ लाख रुपैयाँ पुर्‍याउने निधो गरिसकेको बताउँछन् ।

विद्यालय स्थापना र छात्रवृत्ति अक्षयकोषले रामकाजीको परिचय ब्यापारीबाट फेरिएर समाजसेवी-शिक्षासेवी हुन थाल्यो । ‘ब्यापारीभन्दा समाजसेवी-शिक्षासेवी भनेर समाजले सम्बोधन गर्दा भित्रैदेखि खुशी र गौरव महसुस हुन्छ,’ उनले भने ।

‘आफूले पढ्न नपाएपछि अरुले पढ्न पाउन् भनेर स्कूल बनाइदिएँ, गरिबका छोराछोरीलाई पढाइमा सहयोग र हौसला होस् भनेर आफ्ना छोरालाई नसोधी छात्रवृत्ति अक्षयकोष पनि बनाएँ ।’

२०३५ सालमा पर्वतबाट बुटवल झरेका रामकाजीको समाजसेवाप्रतिको लगाव झनै बढ्न थाल्यो । यद्यपि उनले ब्यापारलाई भने छाडेका थिएनन् । रामकाजीले बुटवलको हिलपार्कमा सडक, चौतारो, बुटवलकै गुरुङडाँडामा पनि पर्खाल र चौतारो अनि बुटवलको बेसक्याम्पमा बौद्ध बिहार बनाउन लाखौं आर्थिक सहयोग गरेको स्मरण गर्छन् ।

दुई छोरा र पाँच छोरीका पिता रामकाजी अहिले श्रीमती मिनकुमारीँंग धेरैजसो बुटवल र कहिलेकाहीँ काठमाडौं बस्दै आएका छन् । जीवनको उत्तरार्द्धमा आइपुगेका रामकाजीको परोपकारी भावना भने झनै बढ्दो छ । उनले हालै मात्र बुटवलको कालिका मानव ज्ञान माविमा २० लाख रुपैयाँको ‘रामकाजी-मिनकुमारी कल्याणकारी अक्षयकोष’ स्थापना गरेका छन् ।

नेपालमै सबैभन्दा धेरै करिब ६ हजार विद्यार्थीले पढ्ने र देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएकाले अक्षयकोष स्थापना गरेको रामकाजी बताउँछन् । यो अक्षयकोषको ब्याजबाट हुने आम्दानीबाट ११ र १२ कक्षामा विद्यालय प्रथम हुने विद्यार्थीले हरेक वर्ष ९० हजार, दोस्रो हुनेले १० हजार, एसईईमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै माध्यमिक तहका गरिब तथा जेहेन्दार १० विद्यार्थीलाई हरेक वर्ष जनही एक हजार रुपैयाँका दरले १० हजार रुपैयाँ प्रदान गरिने छ ।

कालिका मानव ज्ञान माविमा ३९ वटा अक्षयकोष छन् । तर, ‘रामकाजी-मिनकुमारी कल्याणकारी अक्षयकोष’ नै सबैभन्दा धेरै राशीको हो । रामकाजीको यो सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर अझै माथि उठ्ने कालिका मानव ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकको विश्वास छ । ‘विद्यालयमा ६० लाख रुपैयाँका ३९ वटा अक्षयकोष थिए, अब रामकाजीको अक्षयकोष सबैभन्दा ठूलो भयो,’ पाठकले भन, ‘यो अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर थप राम्रो बन्ने छ ।’

औपचारिक शिक्षा पनि लिन नपाएका रामकाजीको सोंच र विचार भने डिग्री हासिल गरेका विद्वानको भन्दा कम्ती छैन । ‘मान्छेको जीवनमा शिक्षा (पढाइ) सबैभन्दा ठूलो रहेछ,’ गुरुङले भने, ‘आफूले पढ्न नपाएपछि अरुले पढ्न पाउन् भनेर स्कूल बनाइदिएँ, गरिबका छोराछोरीलाई पढाइमा सहयोग र हौसला होस् भनेर आफ्ना छोरालाई नसोधी छात्रवृत्ति अक्षयकोष पनि बनाएँ ।’

परिवारका सदस्यहरुबाट विरोध हुनसक्छ र आफ्नो इच्छा पूरा नहुन सक्छ भन्ने ठानेर कसैलाई नसोधी २० लाखको अक्षयकोष स्थापना गरेको रामकाजीले खुलाए ।

‘छोराहरुले त अब यति ठूलो रकम खर्च नगरे पनि हुन्थ्यो भन्छन्, तर करोडौं पैसा कमाएर गाँठो पारेर राख्नेले सिकुन् भनेर यो काम गरेको हुँ,’ रामकाजीले भने, ‘पैसा भन्ने चिज जीवन, व्यवहार चलाउन चाहिने हो, तर सबैथोक होइन । मान्छेले पैसामात्र हैन, मलामी पनि कमाउन सिक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment