
२७ जेठ, बाग्लुङ । बुर्तिवाङ बजार तीनवटा अग्ला डाँडाको खोँचमा छ । छेउमा सुतेको बढीगाढ खोला अविरल छ । खोलो यति निश्चल छ कि पीँधमा भएका पत्थरहरु छर्लङ्गै छन् । ढोरपाटन शिकार आरक्षणलाई शीरमा बोकेको बुर्तिवाङ, नयाँ शहर बन्ने दौडमा छ ।
नयाँ शहरको दौडसँगै यहाँ पक्की भवनहरु धमाधम ठडिएका छन् । शानदार होटेल बन्दैछन् । खच्चडको घण्टी सुनिन छाडेको छ । बरु सवारी साधनको ध्वनीमा बढीगाढ खोलाको सुसाइ बिलाउन थालेको महसुस हुन्छ ।
बुर्तिवाङ बजारको परिचय ढोरपाटन नगरपालिका– १ हो । नौ वटा वडाले यसलाई नगरपालिका बनाएको छ । यो बागलुङ जिल्लाको क्षेत्र नं – २ मा पर्छ । तर, सदरमुकामसँग बुर्तिवाङको त्यति गहिरो नाता छैन ।
कुनै समय यहाँबाट नागरिकता लिन दुई/तीन दिन खर्चिएर सदरमुकाम धाउनुपर्थ्यो । एउटा छेउमा सदरमुका बागलुङ बजार र अर्को छेउँमा बुर्तिवाङ । त्यसैले बुर्तिवाङ सदरमुकामदेखि रिसाएको छ । सब हेडक्वार्टरका रुपमा विकास भएको छ । अहिले त प्रशासनिक काम पनि यहीँबाट हुन्छ । व्यापारिक सामाग्री बुटवलबाट गुल्मी हुँदै आउँछ ।
दुई वर्षअघि बुर्तिवाङबाट सदरमुकाम जोड्ने ९१ किलोमिटर सडक कालोपत्रे भएको छ । अहिले बुर्तिवाङसँग एउटा खर्बको खबर छ । मध्यपहाडी लोकमार्ग अन्तरगत सरकारले निर्माण गर्ने १० शहरमध्ये बुर्तिवाङ पनि एक हो ।
जेठ २१ गते बुर्तिबाङको मौसम राम्रोसँग खुलेको थियो । विहानको घामलाई छेक्ने बादल आकाशमा थिएन । एउटा गीत बुर्तिवाङ बजार थर्काउँदै कानमा ठोक्किन आइपुग्यो । यो गीतले आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस हो भन्ने छनक दिइरहेको थियो । यतिबेला काठमाडौंको शहरमा यस्ता गीत शायदै बजे होलान् ।
‘नयाँ जमाना, काटे रगत मान्छेको रातै हो सबै समान …।’
०००
हामी कुविर बिकसँग कफीसँगै ढोरपाटन नगरपालिकाको स्वाद लिइरहेका छौं । निसीखोला–२ को वडा अध्यक्ष रहेका उनीसँगको हाम्रो गफ, मिनेट– मिनेटमा ब्रेक लाग्छ । किनकि मिनेट मिनेटमा उहाँलाई नमस्ते गर्न आइरहन्छन् मानिसहरु । कुविरले उनीहरुको परिचय दिन्छन् ‘फलानो, फलाना गाउँको एक्टिभ अभियन्ता । माहौल हेर्दा यस्तो लाग्छ, ढोरपाटन नगरपालिकाका घरघरमा अभियन्ता जन्मिरहेका छन् ।
कुविरले हामीलाई जानकारी दिए, ‘बाग्लुङको क्षेत्र नं. २ मा करिव ५० प्रतिशत दलितको जनसंख्या छ । ढोर, चोलनजस्ता गाउँहरुमा अहिले पनि बिजुली, बाटो पुगिसकेको छैन । सबै स्थानीय तहमा स्वास्थ्य चौकीको संरचना बनेको छैन ।’
घडीले १२ बजाइसकेको छ । हामी यो रेष्टुरेन्टबाट उठ्नु छ । हामी जुन होटेलमा बसिरहेका थियौँ । त्यसको ठीक पछाडि मेयरको घर छ । घरभन्दा पनि यसलाई महल भनौँ । ८ तले सानदार महल ।
हामी गेटमा पुग्यौँ । साथीले माथि फर्किएर चिहाउनुभयो । उहाँको टोपी खस्यो । यस घरमा मेयरसावले ‘दरबार होटेल’ बनाउँदै रहेछन् ।
मेयरको कहानी
मेयर देवकुमार नेपालीलाई भेट्न सात तला माथि उक्लनुपर्ने । मेयरका सुरक्षा गार्डले हामीलाई उकाल्नुभयो । हामी सात तलामा पुग्यौँ । सास फुलेर बढीगाड खोलाजस्तै बगिरह्यो, स्या..स्या..स्या..स्या….
मेयर देवकुमार एउटा ठूलो सिंगल सोफामा बसिरहेका छन् । छेउमा अग्लो नेपाली झण्डा ठडिएको छ । सिसाको फ्रेमिङभित्रको यो बैठक कोठाबाट हेर्दा बुर्तिबाङ बजार गज्जव देखिन्छ ।
देवकुमार जति व्यस्त छन्, त्योभन्दा बढी व्यस्त उनको मोवाइल छ । अनिवार्य फोनमात्र रिसिभ गर्छन् र निर्देशन दिन्छन्, ‘त्यो काम अहिल्यै गर्नु त ।’ भंगिमा हेर्दा लाग्छ, ‘मेयर साप कडा छन् ।’
देवकुमारले योजना सुनाए, ‘सम्पूर्ण बजार कालोपत्रे गर्दैछौँ । सार्वजनिक गाडी फ्री गरिदिएका छौँ । सायद कुनै पनि स्थानीय तहमा हाम्रोजस्तो सुशासन छैन होला । मैले पार्टीको ह्वीप मान्दिनँ, जनताका लागि काम गर्छु ।’
मेयरमा विजय भैसकेपछि देवकुमारले सरकारको कुनै पनि तलवभत्ता नलिने घोषणा गरेका थिए । त्यो घोषणासँगै दलित मेयरको केन्द्रमै चर्चा चुलिएको थियो । उनी थप्छन्, ‘मैले सरकारको गाडी चढ्दिनँ बरु त्यो पैसाले नगरपालिकाको फोहोर फाल्ने ट्याक्टर थपेको छु । बाटो खन्ने जेसीबी किनेको छु ।’
उनका दुःख पनि छन् । दमाईको छोरो मेयर भयो भनेर कतिले नमस्ते गर्न हिच्किच्याउँछन् । उनको मुख्य योजना हो, आफ्नो कार्यकालमा नगरपालिकालाई छुवाछुत मुक्त बनाउने । हाम्रो देशमा भौतिक विकासको कुरा उघ्र गरिन्छ । तर, मान्छेकै कुरा गर्न छुटाइन्छ । सरकारले नै १३.६ प्रतिशत दलितको मुद्दालाई गौण ठानिरहेका बेला–बेला दुरदराजको एउटा मेयरले छुवाछुतमुक्त नगरपालिका बनाउने अठोट लिइरहेको छ । यस्तो अठोट हरेक स्थानीय तह लिनुपर्छ । किनकि समानता विकासको प्रमुख आधार हो ।
स्वतन्त्र ढंगले काम गर्न पाउनुभएको छ ? हामीलाई अन्तरसम्बाद गर्नुछ, देवकुमारसँग ।
‘मलाई केहीले घेराबन्दी गरेका छन्’, देवकुमार भन्छन्, ‘मैले नै भ्रष्ट्राचार नगरेपछि तलका मानिसहरुलाई सकस परेको छ । कतिपय फाइलमा म साइन गर्दिनँ, खान नपाउँदा उहाँहरु रिसाउनुहुन्छ ।’
हामीलाई देवकुमारको व्यक्तिगत जीवनमा पनि उत्तिकै चासो छ । सार्वजनिक ओहोदाका मानिसको व्यक्तिगत जीवनबारे जनता चासो हुनु स्वाभाविकै हो ।
सात तलामाथि महलमा बसेर देवकुमार भनिरहेका छन्, ‘हाम्रो घर सानो खरको झुपडी थियो । पानी चुहिएर कहिले वल्लो कुनामा कहिले पल्लो कुनामा बिरालाको पाठा सारेजसरी सर्दै सुत्नपथ्र्यो । बुवाले ज्यालादारीमा कपडा सिलाउनुहुन्थ्यो । पछि मेसिन बनाउने सानो व्यवसाय गर्न थाल्नुभयो ।’
देवकुमारले झुपडीको कथालाई निरन्तरता दिन थाले ।
‘म स्कुल त जान्थें तर खुट्टामा चप्पल हुन्थेन । बाहिरै बसेर पढ्नुपथ्र्यो, गैरदलितसँग छुन पाइन्थेन । र, पनि म प्रथम एकबाट सिधै तीन कक्षा पुगेँ । जुत्ता त मैले १६ वर्षमा लगाएको हुँ ।’
काठमाडौंबाट आएका हामी मञ्जित ताम्राकार, होमराज आचार्य, अशोक दर्नाल यो कहानी सुनिरहेका छौं ।
पछि देवकुमारले व्यवसाय थाले । होलसेल पसल सुरु गरे । अरुले २४ रुपैयाँ प्रतिकिलो चिनी बेच्दा उनले २० रुपैयाँमै दिए । उनको व्यवसाय फस्टाउँदै गयो । पोखरा पुगे । माउन्टेन बाइक साइकलको सोरूम खोले र यहाँसम्म आइपुगे ।
देवकुमार पछाडि फर्कंदै भन्छन्, ‘उ त्यहाँ मेरो पुरानो खरको झुपडी, अहिले पनि जस्ताको त्यस्तै राखेको छु ।’
विभेदविरुद्ध प्रदर्शन
बाहिर माइक घन्किरहेको छ । अब केही समयमै कार्यक्रम शुरु हुँदैछ । जुलसले बाजगाजा र झाँकीसहित बजार परिक्रमा गर्दैछ । बजारबाट बाजाका आवाजहरु पनि आइरहेकै छन् ।
अकस्मात हेलिकोप्टरको आवाज आयो । त्यो हेलिकोप्टर देवकुमारकै छतमा ल्याण्ड गर्यो । हेलिकप्टरभित्र देवकुमारकी पत्नी छेला र छोरी कर्मा थिए । देवकुमारले भने, ‘मेरो काममा श्रीमतीको ठूलो हात छ ।’
तल खचाखच मानिस थिए । मेयरकै अगाडि झाँक्री नाच सुरु भयो । शरीरमा प्वाँख, पात, छाला र हातमा ढ्यांग्रो ।
नौमति बाजा घन्किरहेको थियो । मेयरका गला फूलमालाले भरिए । जनलहरले बजार परिक्रमा गर्न थाल्यो । कतै सोरठी नाचिरहेका थिए, कतै सनाहा र कर्नाल फुकिरहेका थिए त कतै ट्याम्को र दमाहा पिटिरहेका थिए । जसरी उनीहरु सदिऔँदेखि विभेदले पिटिइरहेका छन् ।
सडकमा खुट्टा टेक्ने ठाउँ थिएन । हातमा प्लेकार्ड र मुखमा नारा बोकेर बुर्तिवाङ बजार परिक्रमा गर्दै थिए, समाजले दलित भन्नेहरु । जनलहर कराउँदै थियो, ‘छुवाछुत अन्त्य गर, हामी पनि सिंहदरबार छिर्न पाउनुपर्छ ।’ कोही काखमा बच्चा समाएर त कोही सेतै कपाल र चाउरी परेको गालासँगै लौरो टेकेर नारा लगाइरहेका थिए ।
हामीले कार्यक्रम संयोजक दलित सञ्जालका क्षेत्र नं. २ का अध्यक्ष अशोक विकलाई सोध्यौं ‘मान्छे चाहीँ कति छन् ?’ होहल्लाले उनको आवाज कानमा मधुरो गरी आयो, ‘सात हजारभन्दा बढी छन् । गाउँगाउँदेखि आउनुभएको छ । २७ टोली त बजागाजा र झाँकी नै छन् ।’ विभेदविरुद्धको यो जनसागर पछिल्लो १० वर्षयताकैै सबैभन्दा ठूलो हो ।
हामी एउटा छेउमा उभियौं । हामीले देशको केन्द्रलाई सम्झियौं ।
काठमाडौंमा जेठ २१ गते फरक–फरक एनजीओले केही दर्जन मानिस भेला गरेर फरक–फरक होटेलमा कार्यक्रम आयोजना गरेका छन् । पदका पछाडि लागेर आन्दोलनको मुख्य एजे ण्डालाई कुल्चदै हिँडेका छन् । सरकारलाई दवाब दिनका लागि संगठित बल छैन । एउटा सानो संस्थामा पनि गुटबन्दी गरेर १० तिर फर्किएका छन् । सम्मानित भनिनेहरु पनि दमाईवाद र कामीवाद भन्दै हिँडेका छन् ।
फेरि जुलसतर्फ हेर्यौं। उनीहरुका आँखामा विभेदविरुद्धको आगो छ । सांकेतिक टोलीहरुले त्यही आगो ओकेलिरहेका छन्, हरमा गतिलो लुगा नभएकाले आफूमाथि सदिऔँदेखिको अत्याचारको पीडा पोखिरहेका छन् ।
चेतना सुगम ठाउँबाट मात्रै जन्मन्छ भन्ने छैन । जुनसुकै कुनाबाट पनि परिवर्तनका निम्ति ज्वारभाटा उम्लन सक्छ ।
बजार परिक्रमा गरेर जुलुस बसपार्कको प्राङ्गणमा आइपुग्यो । यतिबेला मेयर देवकुमारलाई फूलमाला र अवीर लगाएर कसैले काँधमा बोकेको थियो ।
माला लगाएरै आइरहेका थिए राष्ट्रिय दलित अयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जित ताम्राकार । छुवाछुतको व्यवहारिक अन्त्यका लागि मेची महाकाली पदयात्रा गरेका होमराज आचार्य र अशोक दर्नाल, गायक प्रकाश सपुत, गायिका सीता परियार र स्थानीय नेताहरु ।
सिंहदरबारलाई हुँकार
आमसभामा पदयात्री होमराज आचार्य बोले, ‘अब दलित आन्दोलनमा गैरदलित समुदाय होमिन आवश्यक छ । र, गैरदलितले आम माफी मागी दलितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
त्यसपछि अशोक दर्नालको पालो आयो । उनले भने, ‘पदयात्रापछि थाहा भयो कि दलित कति दयनीय छन् भन्ने । अब सम्पूर्ण दलितले सिंहदरबार कब्जा गर्ने गरी आन्दोलन गर्नुपर्छ ।’
आमसभामा तालीका फोहोरा उठिरहेका थिए । प्रांगण पुरै भरिलो थियो, तिहारको फूलले भरिएको फुलबारीजस्तो ।
मञ्जित ताम्राकारले अहिले दलित आन्दोलन निकै कमजोर अवस्थामा रहेको बताए । उनको स्वर अलि ठूलो भयो, ‘अब हामी एकजुट भएर आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुको विकल्प छैन ।’
त्यसपछि पालो आयो मेयर देवकुमारको ।
उनले घोषणा गरे कि अब ढोरपाटन नगरपालिकामा खरको छानो रहने छैन । एउटा दमाईको छोरा नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन् । हाम्रो नगरपालिकामाजति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला । मैले भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, झुण्डिएर मर्न तयार छु ।
देवकुमारले मञ्चबाटै बिजुलीविहीन एक गाउँलाई सोलार उपलब्ध गराउने घोषणा गरे ।
उनले पाँच सय दलित/गरीबको घरमा आफ्नै लगानीमा टीनको छाना हालिदिएको सुनाए । ५८ जना शिक्षकलाई तलव दिएर राखेको, क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षयकोष निर्माण गरेको, प्रत्येक दलित बस्तीमा मोटरबाटो पुर्याएको पनि सुनाए ।
मेयरले बजार थर्काउने गरी बोले, ‘अब उत्तरगंगा जलविद्युत अयोजनाबाट बिजुली बलेपछि ढोरपाटन नगरवासीको मुहार फेरिनेछ । प्रधानमन्त्रीसँगै लविङ गरेर जलविद्युत आयोजना चाँडो सक्ने गरी काम हुँदैछ । देवकुमारले जनतालाई खुशी बनाउने भो भनेर उता केन्द्रमा बाहुनहरु लड्दैछन् रे ।’
उनले आफूहरुमा केही कुरामा कमी नभएको भन्दै दलितहरुलाई उत्प्रेरणा जगाए । उनले अझ चर्को स्वरमा भने, ‘मजहाँ छु तपाईहरु पनि यो ठाउँमा पुग्न सक्नुहुन्छ । मेरो सम्पत्ति पनि सम्पूर्ण दलित हो ।’
प्रकाश सपुतको पालो
कलारका प्रकाश सपुतको वहुचर्चित गीत गलबन्दी अहिले जनजनको मुखमा झुण्डिएको छ । उनले गलबन्दी नै बोकेर मञ्च उक्लिएका थिए । गीत गाउनुअघि उनले नोस्टाल्जिक बन्दै विभेदका भोगाइहरु सम्झिए । आफ्नो घरमा चिया पाक्ने हैसियत नभएको र अर्काको घरमा चिया खाएर भाँडा माझेको सम्झिए ।
आफ्नो हजुरवासँग आरनमा बसेर तातो हसिँयामाथि पानी हाल्न सघाएको गरेको सम्झिए । घरभित्र पस्न नपाएर बाहिरै खाएको सम्झिए, दोहोरी गाउँन जादा साथीहरुभित्र सुत्दा आफू बाहिरै सुतेको सम्झिए । र, भावुक बन्दै देवकुमार तर्फ हेरे, ‘देव दाइ तपाई सबै जनताको मेयर हो । तर, अरुलाई एउटा मिठाई दिँदा दलितलाई दुईवटा दिनुहोला । अरुलाई एउटा टिसर्ट बाँड्दा दलितलाई दुईवटा टिसर्ट दिनुहोला ।’
जनसागर देखेर प्रकाश पनि दंग छ । भने, ‘अहिले समयमा पनि छुवाछुत कायम रहनु दुःखद हो । तपाई हामी नै मिलेर उन्मूलन गर्नुपर्छ ।’ सायद प्रकाशलाई यतिबेला दलितसम्बन्धी गीतबाटै आफ्नो प्रस्तुति दिने मन थियो होला । तर, उनीसँग दलितसम्बन्धी गीत छैन । भलै उनले एउटा अन्तरवार्तामा भनेका छन्, ‘अबको मेरो ड्रिम प्रोजेक्ट दलितसम्बन्धिको गीत हो ।’
सपुतले चरर, बरर, धररबाट आफ्नो प्रस्तुति शुरु गरे । उनले दर्शकलाई उतिखेरै रुवाए, उतिखेरै हँसाए । सपुतले वैदेशिक पीडाको कथादेखि ब्याटल टुसम्म गाउँदा दर्शकलाई आफूबाहेक अरु सोच्ने मौकै दिएनन् । सपुत यति लोकप्रिय थिए कि गीत गाउनेबेलामा समेत अटोग्राफ र सेल्फी खिच्न भ्याइनभ्याइ थियो । उनले बोल माया गउाँदा दर्शकसँगै आफू पनि रोए, व्याटल वान र टु गाउँदा दर्शकभन्दा बढी उफ्रिए ।
प्रतिक्रिया 4