Comments Add Comment

फिल्म कम बन्दा पनि चिन्ता, धेरै बन्दा झनै चिन्ता

गतबर्ष नेपाली चलचित्र सय वटा बनेको रेकर्ड छ । सय वटा चलचित्र बन्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज हुनुपर्छ । यसरी हेर्दा, एक महिनामा ८ वटा चलचित्र रिलिज भएको देखिन्छ । दर्शकले नेपाली चलचित्रका लागि हरेक हप्ता एक हजार छुट्याउनुपर्ने देखिएको छ । तर, यो संभव हुने कुरा नै होइन ।

नेपाली चलचित्र क्षेत्रमा अहिले एउटा चिन्ता रुमल्लिएको छ । त्यो चिन्ता हो, गतबर्ष धेरै चलचित्र नचल्दा अहिले कम चलचित्र बन्न थाले । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बारम्बार यही चिन्ता व्यक्त गरिरहेका हुन्छन् । यस्तो चिन्ता व्यक्त गर्ने संस्था, व्यक्ति अरु पनि थुप्रै छन् । उनका अनुसार, गतबर्षको तुलानामा यो बर्ष चलचित्र निर्माणको संख्या ९० प्रतिशतले कम भएको छ ।

चलचित्र कम बन्दा घाटा कसलाई ? विशेषगरि, कम चलचित्र बन्दा बढी घाटा प्राविधिकलाई भएको पाइन्छ । यसरी हेर्दा चलचित्र कम बन्नु आफैमा सुखद कुरा होइन । तर, धेरै चलचित्र मात्र बनेर अर्थ के छ ? धेरै चलचित्र बन्नेर दर्शक भड्काउनु भन्दा कम चलचित्र तर स्तरिय चलचित्र बन्दा खुशी हुनपर्ने ठाउँ छ ।

गतबर्ष केही कलाकारको कुरा छाड्ने हो भने, नेपाली चलचित्रका अधिकांश कलाकारले हातमा आएका सबै चलचित्र गरे । कलाकार व्यस्त हुनु राम्रो हो । तर, कलाकार बर्षमै आधा दर्जन बढी चलचित्रमा व्यस्त हुँदा घाटा लाग्छ । गतबर्ष निर्माण भएर व्यापारिक रुपमा हिट भएका चलचित्रको संख्या आधा दर्जन पनि छैन । गतबर्ष हिट नभएपनि समिक्षकले गज्जब भनेका चलचित्रको संख्या पनि आधा दर्जन पनि छैन । यसरी हेर्दा, बर्षमा बन्ने एक दर्जन चलचित्र बाहेक अरु सबै चलचित्र झारा टराइमा बनेका छन् । यसैले, कम चलचित्र बन्दा धेरै चिन्ता व्यक्त गर्नुपर्ने कारण के छ ?

सबैले भन्दै आएको कुरा हो, नेपाली चलचित्र बजारले सय वटा चलचित्र धान्दैन । यो सत्य पनि हो कि, धेरै चलचित्र बन्दा राम्रा चलचित्र पनि कहिलेकाही चेपुवामा पर्छन् । नेपाली चलचित्रका निर्माताले कम चलचित्र बन्यो भनेर चिन्ता व्यक्त गर्न भन्दा पनि स्तरिय चलचित्र बनाउनतर्फ आकर्षित हुन आवश्यक छ । लगानी हचुवाको भरमा गरेर संख्या मात्र धेरै बनाएर हुँदैन । कलाकारले पनि ‘झुर’ चलचित्रमा काम गरेर संख्यात्मक रुपमा मात्र चलचित्र बढाएर हुँदैन ।

चलेका, राम्रो अभिनय गर्ने कलाकारलाई निर्माताले ह्यान्डमस पैसा दिएका छन् । ती कलाकारले बर्षमा एउटा चलचित्र मात्र गरेका छन् । नेपाली चलचित्रका मेकरले राम्रो चलचित्र बनाउनतर्फ कहिले ध्यान दिएनन् । कम चलचित्र बनेर नाफाको प्रतिशत बढ्यो भने त्यो सुखद कुरा हो । तर, धेरै चलचित्र बनेर अधिकांश डुबे भने त्यसमा चिन्ता व्यक्त गर्न आवश्यक छ ।

बरु, आशा गरिएका र दर्शकले पत्याएका चलचित्रकर्मी, मेकर, ब्यानर र कलाकारका चलचित्रलाई सही व्यवस्थापन सहित रिलिज गर्ने वातावरण बनाउन आवश्यक छ । चलचित्रमा वुझ्दै नवुझी लगानी गर्ने अनी डुबेपछि चलचित्र क्षेत्रलाई सराप्दै भाग्ने निर्माता, निर्देशक, कलाकार कसैको पनि यो क्षेत्रमा काम छैन ।

नेपाली चलचित्र क्षेत्रले कुनै पनि कुरामा जस लिदैन । धेरै चलचित्र बन्दा पनि धेरै बन्यो भनेर चिन्ता व्यक्त हुन्छ । कम बन्दा पनि थोरै बन्न थाल्यो भनेर चिन्ता व्यक्त भएको पाइन्छ । चलचित्र कम बनेर चिन्ता व्यक्त गर्नुभन्दा पनि स्तरिय बनेन भनेर चिन्ता व्यक्त गर्न आवश्यक छ । कम तर राम्रा चलचित्र बन्न थालेपछि मेकर आफै आकर्षित हुन्छन् ।

हरेक चलचित्रले हप्तैपिच्छे हल छाड्नुपर्ने अवस्था भन्दा एउटै चलचित्र हलमा लामो समय चल्दा फाइदा चलचित्र क्षेत्रलाई हुन्छ । यसैले, चलचित्र कम वा धेरै बनेकोमा चिन्ता व्यक्त गर्न भन्दा पनि स्तरिय चलचित्र बनाउनतर्फ सोच्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment