Comments Add Comment

पर्यटकको पर्खाइमा गुल्मीको भवने डाँडा

२८ जेठ, गुल्मी । एक वर्ष अघिसम्म वनमाराले घेरेको गुल्मीको भवने डाँडा अहिले पर्यटकीय स्थलको रुपमा परिचित भएको छ ।

रेसुङ्गा नगरपालिका-१३ भँगारीमा पर्ने यो भवने डाँडालाई दारढुङ्गा भनेर पनि चिनिन्छ । संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको दारेढुङ्गा यसअघि वनभोजस्थलका रुपमा परिचित थियो ।

८ वर्षअघि केही संरचना तयार भएका थिए । तर, कसैले ध्यान नदिदा ओझेमा परेको थियो । यसको अहिले पुनः संरक्षण र प्रचारको प्रयास भएको छ ।

नगरपालिकाले बजेट छुट्ट्याएर आन्तरिक तथा बाहृय पर्यटक भित्राउन नजिकै होटेल तथा अन्य संरचना निर्माण गर्ने सोच बनाएको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताए ।

नगरपालिकाले नजिकै होमस्टेसहित पर्यटकीय गनतव्य क्षेत्रलाई अगाडि बढाउन सुरुआत भएको उनको भनाइ छ । यसअघि नगरपालिकाबाट कुनै पनि बजेट नछुट्ट्याएको र वडाबाट संरक्षण मात्रै भएकोले ओझेलमा परेको अध्यक्ष खत्रीको दावी छ ।

दारे ढुङ्गा क्षेत्रलाई तारबार गरेर संरक्षण गर्न लागिएको छ । यसअघि नगरपालिकालाई समेत त्यस क्षेत्रको बारेमा जानकारी नहुँदा संरक्षण र प्रचारप्रसार गर्न नसकिएको भन्दै उनले अहिले मेयरले समेत चासो देखाएको बताए ।

हाल शनिवार र बिदाको समय पारेर छिटफुटरुपमा पर्यटकहरु पुग्ने भए पनि धेरैलाई जानकारी नै नभएको घुम्न आएका इस्मा गाउँपालिका गुल्मीका नवीन अर्यालले बताए ।

भँगारी भवने डाँडाको पिकिनिक स्थलको अवलोक गर्न पुगेका रेसुङ्गा नगरपालिका भाँडगाउँका सुरज कुँवरले यसक्षेत्र निकै मनमोहक रहेकाले प्रचारप्रसार र सुबिधासम्पन्न बनाउनु पर्ने सुझाव दिए ।

उनले यहाँको बारेमा धेरैलाई जानकारीसमेत नभएकाले प्रचारप्रसारमा ध्यान दिन आग्रह गरे । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने दारेढुङ्गाको संरक्षण र रेखदेखको अभाव खडकिएको उनको भनाइ छ ।

तम्घासबाट टाढा छैन दारेढुङ्गा

यसलाई पर्यटकीयस्थलका रुपमा स्थापित गर्नका लागि तत्कालीन पर्यटन मन्त्रालयका लोकबहादुर खत्रीले धेरै पहल गरेको स्थानीयवासी बताउँछन् ।

०६८ सालमा पर्यटन मन्त्रालयको १५ लाख रकमबाट निर्माण गरिएका बिभिन्न संरचनाहरुले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ । दारेढुङ्गासम्म ०६९ सालमा मोटरबाटो समेत पुर्‍याइएको थियो ।

सदरमुकाम तम्घासबाट पूर्वतर्फ झण्डै १० किलो मिटर पक्की सडक र केही कच्ची सडकको यात्रापछि पर्यटकीय स्थलसम्म पुग्न सकिन्छ ।
पछिल्लो समय दारेढुङ्गाबाट रेसुङ्गासम्म पुग्नको लागि सडकलाई स्तरोन्नती समेत गरिएको छ । तर, त्यसको पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन ।

भँगारी भवने डाँडा (दारेढुङ्गा)मा बस्नको लागि बिभिन्न प्रकारका बिश्राम स्थलसहितका छाताहरु, वनभोज जानेहरुको लागि खानेकुरा पकाउने स्थलहरुसँगै अरु मनमोहक दृश्यसहितका स्थलहरु छन् ।

दारेढङ्गाबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पालगायत बिभिन्न ठाउँहरु देख्न सकिन्छ ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment