Comments Add Comment

नागरिक अगुवाको निष्कर्ष–स्थानीय सरकारको अनुभूति भएन

वीरगञ्जका मेयर भन्छन- दलको असहयोगले काम गर्न सकिएन

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नागरिक अगुवाले स्थानीय सरकार बनेपछि पनि महशुस हुने गरी विकासका काम हुन नसकेको गुनासो गरेका छन् ।

वीरगन्ज महानगरपालिकामा जनप्रतिनिधि आएपछि नगरको विकासले गति लिने आशा गरे पनि त्यस्तो अनुभूति गर्न नपाएको उनीहरुको भनाइ छ ।

सरसफाइ, सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य क्षेत्रमा आशा गरेअनुसारको परिवर्तन नदेखिएको उनीहरु बताउँछन् ।

महानगरपालिकामा पछि थप गरिएका १६ वटा वडामा दुई वर्षमा महानगरपालिकाले सरसफाइका लागि एउटा ट्याक्टरसमेत नपठाएको गुनासो नागरिक अगुवाको छ ।

आर्थिक वर्ष ०७६/७७ को बजेट, नीति तथा कार्यक्रम बारेमा वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनीहरुले बजेट, नीति तथा कार्यक्रम बनाउँदा नगरवासीको सर्वोत्तम हितलाई ध्यानमा राख्न आग्रह गरे ।

करको दर नभई दायरा बढाउँदा नगरबासीमा करको भार पनि नपर्ने र महानगरपालिको आम्दानी समेत बढ्ने उनीहरुको ठहर छ ।

वीरगञ्ज कलेजका निर्देशक डा. दिपेन्द्र चौधरीले करको दर नभइ दायरा बढाउन र भुक्तानिमा सहभागिताका लागि उत्प्रेरित गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए । ‘घर बहाल कर संकलका लागि आन्तरिक राजश्व कार्यालयसँग महानगरले समन्वय गर्नुपर्ने देखिन्छ । नगरको सिफारिस बिना राजश्व कार्यालयले कुनै पनि काम गर्न रोक लगाउनुपर्छ,’ उनले भने ।

धेरै मानिसले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको भन्दै उनले घुम्ती टोली बनाएर व्यवसाय दर्ता र नवीकरण गर्नुपर्ने सुझाव दिए ।
फुटपाथमा पसल तथा व्यवसाय गर्ने र साइकल र ठेलामा व्यापार गर्नेहरुको पनि व्यवसाय दर्ता गर्नु पर्ने लगायत बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नेु पर्ने भन्दै १४ बुँदे सुझाव पत्र नगर प्रमुख विजयकुमार सरावगीलाई पेश गरेका थिए ।

उद्योगी गणेश लाठले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताए । ‘एडीबीको परियोजना चलिरहेको छ, लथालिंग छ, शिक्षामा केही सुधार भएजस्तो देखिएको छ, स्वास्थ्य, र खेलकुदमा केही देखिन्न, ‘ उनले भने ।

सरसफाइको क्षेत्रमा समेत सुधार हुन नसकेको भन्दै उनले नगरवासीले देख्ने र अनुभूति गर्न सक्ने गरी काम हुन नसकेको बताए । उनले कर तिर्न नागरिकहरु उत्साहित नभएको भन्दै त्यसको नगरपानलिकाले विश्लेषण गरी वातावरण बनाउनु पर्ने सुझाव दिए ।

चार्टड एकाउन्टेन्ट अरविन्द खेतानले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका कुरालाई प्राथमिकता अनुसार छोटो र दीर्घकालीन योजना बनाएर काम गर्न नगरपालिकालाई सुझाव दिए  ।

लायन्स क्लबका पूर्वअध्यक्ष (वर्ल्ड) सन्जय खेतानले महानगरपालिका करमैत्री हुन नसकेको बताए । ‘महानगर करमैत्री हुनुपर्छ, नगरपालिकामा सहजै कर सम्बन्धी काम हुन्छ भने उनीहरुले नै प्रचार गर्छन्,’ उनले भने, ‘कर लिने झन्झटिलो प्रक्रियाले नकारात्मक प्रचार हुन्छ ।’ उनले सर्वेक्षण गरी जनअपेक्षाअनुसार काम गर्नु पर्ने बताए ।

इन्जियिनर मुन्ना सर्राफले वीरगञ्जमा जमीनमुनिको पानीको सतह हरेक वर्ष घट्दै गएकोले पानीको रिचार्ज कसरी गर्ने भन्ने तर्फ ध्यान दिन सुझाए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अध्यक्ष वीरेन्ऽराज कँडेलले महानगरमा एउटा शव वहानसमेत नहुनु दुःखद भएको बताए ।

वुमन स्किल सेन्टरकी उपाध्यक्ष चन्चला दासले प्लाष्टिक निषेध अभियानलाई सहयोग पुग्ने कपडाको झोला उत्पादन गरिरहेको भए पनि प्रोत्साहन नपाएको गुनासो गरिन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष केसी लामिछानेले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले वीरगञ्ज महानगरपालिकाले केही गौरवका आयोजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

नगर प्रमुख भन्छन् – दलको असहयोगले काम गर्न सकिएन

नगर प्रमुख विजयकुमार सरावगीले पनि सोचे अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । तर, उनले साधनस्रोत नहुनु, कर्मचारी अभाव र दलहरुको असहयोगलाई कारण भनेका छन् ।

आफू नगरप्रमुख भएर आउँदा ३० करोड ऋण रहेको र आन्तरिक आम्दानी खासै राम्रो नभएको भन्दै उनले साधनस्रोत मात्र नभइ नगरपालिका हुँदाकै कर्मचारीले महानगरपालिकाको काम गर्नु परेको गुनासो गरे । त्यसमा पनि राम्रो काम गर्दा बिरोध गर्ने गरेको भन्दै मेयर सरावगीले भने, ‘अनि कसरी काम गर्ने ?’

दलीय सोचका कारण नगरपालिकाका जनप्रतिनिधिले जनताको काम गर्दा घर नक्सा पास गरेको छ कि छैन ? कर तिरेको छ कि छैन ? व्यवसाय दर्ता छ कि छैन ? भन्नेसमेत नहेरिदिएको उनको गुनासो छ ।

ठूला राजनीतिक दल नै लोकतान्त्रिक मूल्यमान्यता विपरीत गतिविधिमा लागेर दुःख दिने गरेको उनको आरोप छ । ‘केही राजनीतिक दललाई आफ्नै जनप्रतिनिधिमाथि विश्वास छैन, नियमित संवाद गर्न सक्दैनन् । अनि विभिन्न अप्ठ्याराहरु निम्त्याइदिन्छन्,’ उनले भने, ‘अध्ययन नै नगरी विरोधका लागि विरोध गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । १६२ जनप्रतिनिधिलाई विश्वास गर्नुपर्छ, संसदलाई अपमान गरेर विकास पाइँदैन ।’

आर्थिक र मानवीय स्रोत नै नभएपछि मेयरले जतिगरे पनि काम गर्न नसक्ने बताउँदै उनले अबको बजेट शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment