Comments Add Comment

न्युरोडमा सुरु भो स्मार्ट पार्किङ, चार पांग्रेको शुल्क ८०

१ असार, काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए ।

मेयर शाक्यले यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको उक्त अवसरमा जानकारी दिए । पहिलोपटक यस्तो प्रोजेक्ट सुरु गरिएकाले यसलाई परिस्कृत गर्दै लगिने उनको भनाइ छ ।

सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले यो सेवाबाट सडकमा पार्किङ गर्ने निरत्साहित हुने विश्वास व्यक्त गरे ।

‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ’, मेयर शाक्यले उद्घाटन कार्यक्रममा भने ।

मेयर शाक्यले महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको र त्यो लोकप्रिय बन्दै गएको दाबी पनि उक्त अवसरमा गरे । पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ । स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।

स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्त्रिmन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment