+
+
Shares

सरकारले १ करोड खर्च गर्ने स्मार्ट स्कुलमा डिजिटल कक्षा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते २०:५४

४ असार, पोखरा । देशमै पहिलो कक्षा कोठा र शिक्षालाई प्रविधियुक्त बनाई स्मार्ट विद्यालय बनाउने अभियान घोषणा भएको विद्यालय हो, रुपा गाउँपालिकाको विश्व शान्ति मावि ।

७ प्रदेशका ७ विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउने अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १९ गते रिमोर्ट कन्ट्रोलको माध्यमबाट काठमाडौंबाटै विश्व शान्तिको उद्घाटन गरेका थिए ।

स्मार्ट विद्यालय बनाउन चाहिने सबै उपकरण जडान र त्यसको प्रयोग गर्ने तालिमपछि बुधबारदेखि डिजिटल प्रविधिबाट पढाइ सुरु भएको छ । नेपाल टेलिकमले विद्यालयका प्रत्येक कक्षा कोठामा डिजिटल प्रविधिको जडान सम्पन्न गरेपछि पढाइ थालिएको छ ।

विद्यालयमा १ सय २० भन्दा बढी स्मार्ट डिजिटल डिभाइस, स्मार्ट बोर्ड, कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टर, मल्टिमिडिया स्पिकर, नेटवर्क प्रिन्टर, स्क्यानर, फोटोकपियर, सर्भिलेन्स सिस्टम, स्विच, डिजिटल मार्करको प्रयोग गरी डिजिटल कक्षा सञ्चालन सुरु भएको छ । कक्षा कोठाका लागि आवश्यक सबै डिजिटल प्रविधिको जडान गरी टेलिकमले बुधबार नै हस्तान्तरण गरेको छ ।

विद्यालयमा कम्युटर, प्रोजेक्टर प्रयोग गरी इन्टरनेटका माध्यमबाट पढाउने भनिए पनि शिक्षक अभ्यस्थ भइसकेका थिएनन् । शिक्षकलाई सूचना प्रविधिमैत्री तालिम सञ्चालन गरेर डिजिटल कक्षाको अभ्यास गराइएको छ ।

विद्यालयमा अध्यापनरत २७ जना शिक्षक तथा कर्मचारीले कक्षा कोठामा प्रयोग गरिने डिजिटल प्रविधिको तालिम लिएका छन् । नेपाल टेलिकमका इन्जिनियर राजु राना र रविन कासुला लगायतले विद्यालयका शिक्षकलाई तालिम दिएका छन् ।

शैक्षिक क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिलाई प्रयोगलाई आत्मसात गर्दै डिजिटल कक्षा सुरु गरिएको र यो देशकै नमूना विद्यालय बन्ने रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङको विश्वास छ ।

नेपाल टेलिकम पोखरा शाखाका प्रवन्धक शैलेसबहादुर अमात्यले नेपाल सरकारले सात वटै प्रदेशमा एक एक स्मार्ट विद्यालय बनाउने योजना अनुरुप पहिलो स्मार्ट विद्यालय बनाउने अभियान विश्व शान्तिबाट भएको बताए ।

नेपाल टेलिकमले स्मार्ट विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ बमोजिमका विभिन्न उपकरण जडान गरी सम्पूर्ण सामग्री बुधबार नै विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले स्मार्ट विद्यालय बनाउन र विद्यालयका स्मार्ट सामग्रीलाई टिकाइ राख्ने काममा शिक्षक, अभिभावक, स्थानीय निकाय सबैको सहयोग चाहिने बताए ।

विश्वशान्तिमा दुई कक्षामा ६० वटा कम्प्युटर राखिनेछ । यसअघि २५ वटा कम्प्युटरसहित ल्याब विद्यालयमा छ । अब विद्यालयमा झण्डै ९० वटा कम्प्युटर पुगेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘देशकै पहिलो घोषणा भएको र गण्डकी प्रदेशको एकमात्र विद्यालय विश्वशान्तिालाई हामीले नमूना विद्यालय बनाउने छौं,’ अध्यक्ष ओझाले भने, ‘सरकारको अभियानमात्रै सफल हुने छैन, विद्यालयमार्फत गाउँपालिकाका लागि आवश्यक प्राविधिक उत्पादनसमेत गर्ने हाम्रो लक्ष्य हो ।’

विश्वशान्तिमा अहिले ३ सय ३० जना विद्यार्थी छन् । विश्वशान्तिमा ३ वटा वटा पक्की भवन छन्, जसमा १६ वटाभन्दा बढी स्मार्ट कक्षा कोठा छन् । ३० जनाभन्दा बढी शिक्षक, कर्मचारी छन् ।

विसं २०२२ स्थापित विश्वशान्ति माविमा एक दशकदेखि ऐच्छिक कम्प्युटरको पढाई हुँदै आएको अध्यक्ष ओझाले बताए । विश्व शान्तिमा यसैवर्षदेखि डिप्लोमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भएको छ । बिजुलीको सुविधा पुगिसेको विद्युत सर्ट भएका बेला पढाइमा अवरोध नहोस भनेर २ किलोवाट क्षमताको सोलार समेत जडान गरिएको अध्यक्ष ओझाले बताए ।

प्रविधिमैत्री विद्यालय बनाउन विश्वशान्तिमा मात्र सरकारले झन्डै १ करोड रुपैयाँ खर्च गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?