Comments Add Comment

यूएईमा ६ वटा नेपाली कृति एकसाथ लोकार्पण

युएई । युएईमा रहेका नेपालीहरु माझ आजभोलि साप्ताहिक रुपमा कला तथा संगीतिक कार्यक्रम टुट्दैन । अघिल्लो सातासम्म संगीतको सरगर्मी थियो ।

गायक बाबु बोगटी, शिव हमाल ,सुरेश लामालगायतले तताएको संगीतको माहोल सेलाउन नपाउँदै यो साता साहित्य मिसियो ।

शुक्रबारको दिन । बरदुबईको नशा दोहोरी क्लबको हल भरिभराउ भयो । भित्र साहित्यिक माहोल बन्दै गर्दा अरबको आकाशमा बादल देखिदै थियो ।

अरबको आकाशमा बादल मात्र लाग्दा पनि शीतल महसुस हुने । हलमा प्रवेश गर्नुअघि चर्को गर्मी खेपेकाहरुलाई झनै ठूलो राहत मिल्यो, जब स्थानीय संचारमाध्यमले दुबईको आकाशमा सिमसिम पानी परेको खबर सार्वजनिक गरे । साहित्य सिर्जना गर्नेहरु त यस्तो मौसममा रमाउने भइहाले ।

साहित्यकारहरुलाई एकैठाँउमा जुटाउने अवसर सिर्जना वाचन डबली युएईको अक्षरहरुको आवाजको १७ औँ श्रृंखलाले गरेको थियो ।

त्यहीँ अवसरमा युएईको विभिन्न राज्यमा छरिएका सर्जकहरु आफ्ना सिर्जना सुनाउन शुक्रबार बरदुबईमा भेला भए ।

खगेन्द्र समरसले कवितामार्फत अध्यारो घरमा अरबको कमाइले ल्याएको उज्यालोको प्रसंग उठाए ।

माया प्रेमले अरबसम्म ल्याएको वेदना डिजी शर्माको कवितामा सुनिन्थ्यो । शाश्वत ढुङ्गाना ,ओमकुमारी खाँड, टसी शेर्पा बिनोद शेन पालपाली लगायत ४० बढी श्रष्टाले कविता , गजल र मुक्तकमार्फत देश सम्झाए, देशको वर्तमान परिवेशको चित्रण गरे ।

कसैले मायाप्रेममा डुबाए त त्यहीँ मायाप्रेममा भावुक पनि बनाए । कसैको प्रस्तुतिमा विदेशिनुको बाध्यता झल्किन्थ्यो भने कसैले देश र्फकन आहृवान गरे । प्रस्तुतिमा झुमिरहेका दर्शकले भने ताली र हुटिङले उर्जा थपे ।

६ कृति एकसाथ लोकार्पण

विभिन्न सर्जकद्धारा लिखित ६ वटा कृतिको युएईमा एकसाथ लोकार्पण तथा चर्चा गरिएको छ । डिल्लीप्रसाद आचार्यको स्मृति संगालो ‘झझल्काहरु’, १०७ जना गजलकारको संयुक्त गजल संग्रह ‘अक्षरहरुको सगरमाथा’, १७ जना कविको संयुक्त कविता संग्रह ‘अनुहारको भीड’, मीनराज बसन्तको उपन्यास ‘पिपिरी’, एल बी क्षेत्रीको ‘ब्रतभङग’ र जीवन खत्रीको ‘आगोको वर्णमाला’ को लोकार्पण गरिएको हो ।

बांगलुङमा जन्मिएर पत्रकारिता समेत गरेका आचार्यकोे झझल्काहरुमा नेपालको शभ्यता र नेपाली जिवनलाई चित्रण गरिएको छ । उक्त कृतिका बारेमा साहित्यकार कृष्ण विश्वकर्मा र पत्रकार उमाकान्त पाण्डेले चर्चा गरेका थिए ।

यस्तै अक्षरहरुको सगरमाथाका विषयमा सर्जक टक गुरुङले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा नेपालबाट आएका चर्चित रेडियो कार्यक्रम प्रस्तोता अच्युत घिमिरे ‘बुलबुलले’ प्रवासी साहित्यकारहरुले नेपाली साहित्यलाई अझै उचाइमा पुर्याएको चर्चा गरे ।

युएईमा रहेर कलम चलाउनेहरुलाई साहित्य बाहेक आफ्ना अनुभव र यहाँको विकासका बारेमा समेत लेख्न आग्रह गरे । त्यस्ता विषयलाई बुलबुल पब्लिकेसनले आफ्नै खर्चमा युएई संस्करणका रुपमा प्रकाशन गर्ने उनले जनाए ।

कार्यक्रममा सिर्जना बाचन डबलीका तर्फबाट डा. दिनेश आचार्यलाई मानार्थ संरक्षकका रुपमा सम्मान गरिएको छ । उक्त सम्मान युएईको नेपाली समुदायमा डा.आचार्यको योगदान र सदासयता प्रतिको रहेको डबलीका संयोजक जे सागरले बताए ।

कार्यक्रममा युएईमा रहेका विभिन्न समाज र राजनीतिक दलका प्रतिनिधि तथा नेपाली भाषी भुटानी नागरिकको समेत सहभागिता थियो ।

कार्यक्रमको संचालन जे सागर र भुपेन्द्र आचार्य कान्छोले गरेका थिए । सिर्जना वाचन डबली युएईको नेपाली साहित्यमा सकृय संस्था हो ।

हरेक दुई महिनामा एकपटक वाचन डबलीमा भेला भइ सर्जकहरुले विभिन्न विधाका सिर्जनाहरु प्रस्तुत गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment