Comments Add Comment

बजेट भाषणमा परेको कार्यक्रम रेडबुकमा गायब !

सरकार सच्चिँदैन, भाग्छ : कांग्रेस, रेडबुक नै बुझेनन् : अर्थमन्त्री

८ असार, पोखरा । सिँचाइतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनौट गरिएका १ सय ३० गरी जम्मा २४४ सतह सिँचाइ योजनालाई वजेट वक्तव्यमार्फत सम्बोधन गरिएको छ ।

४० भूमिगत जलसिँचाइ योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्‍चालन घर (अपरेसन रूम) निर्माणका लागि अर्ब ९ करोड विनियोजन गरेको आर्थिक मामिलामन्त्री किरण गुरुङले वजेट वक्तव्यमार्फत सार्वजनिक गरे । तर विकास कार्यक्रम पुस्तिका (रेडबुक) छापिएर आउँदा केही कार्यक्रम गायब भयो ।

बजेट वक्तव्यका २ सय ४४ वटा योजना सञ्चालन गर्ने भनिएकोमा रेडबुकमा जम्मा १ सय ८६ सिँचाइ आयोजनामात्र समावेश छन् । त्यतिमात्रै होइन कास्की, नवलपुर र तनहुँमा सिँचाइका कार्यक्रम नै छैनन् ।

वजेट वक्तव्यमा रहेको कार्यक्रम रेडबुकमा नपरेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रश्न उठाएको छ, ‘त्रुटिपूर्ण पुस्तिका कसरी आयो ?’ कांग्रेसका सांसद कुमार खड्का भन्छन्, ‘३ जिल्लामा सिँचाइका कार्यक्रम नै छैनन् । सरकारले मैले यी जिल्लामा सिँचाइ नै गर्दिन भन्न पाउँदैन ।’

सरकारले बवेट वक्तव्यमा पोखरा महानगरपालिका अन्तर्गत पचभैयामा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान (जुलोजिकल पार्क) स्थापना गर्ने बताएको छ । विस्तृत आयोजना प्रतिवेदन तयार गरी स्थापनाको कार्य प्रारम्भ गर्न ४ करोड र पचभैया बन्यजन्तु उद्दार केन्द्रको लागि १ करोड विनियोजन गरेको अर्थमन्त्रीले वक्तव्यमा बताए । तर, पुस्तिकामा ४ करोड रुपैयाँमात्र देखियो, बन्यजन्तु उद्दार केन्द्रको लागि छुट्याउने भनिएको १ करोड रुपैयाँ नै गायब भयो ।

सरकारले रेडबुकमा सम्भाव्ता अध्ययन भनेर ९ करोड बजेट बिनियोजन गरेको छ । तर, के योजना, के कार्यक्रमको सम्भाव्यता अध्ययन भन्ने उल्लेख छैन । प्रदेश साक्षरता कार्यक्रम भनेर ५ करोड रुपैयाँ छुट्यायएको छ ।

कांग्रेसको प्रश्न छ, ‘साक्षरता अभियान भनेर छुट्याइएको ५ करोड रुपैयाँ कस्तो कार्यक्रममा खर्च गर्ने हो ?’

कांग्रेसले जेट पुस्तिका सच्याउन माग गरेको छ । ‘‘रेडबुक संवैधानिक, कानुनी र व्यवहारिक रुपले त्रुटिपूर्ण छ । यसले सांसदका भावना पनि समेटेको छैन,’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भन्छन्, ‘सुधार्नु पर्ने ठाउँमा सुधार गर भन्ने तयारीमा हुँदा संसद नै स्थगित हुन्छ । सरकार सच्चिनै चाहँदैन ।’

आइतबार पनिसंसद बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै सूचना टाँस गरेर संसद स्थगित भएको छ ।

कांग्रेसले बजेका गम्भीर त्रुटी बाहिर ल्याउने भएकाले सरकारले छलफलबाट मिलाउन चाहेको असन्तुष्ट सांसद बताउँछन् । कांग्रेसलाई छलफलमा बोलाउने र त्रुटि भएका ठाउँमा सच्याएर जाने तर गल्ती बाहिर ल्याउन नदिन सरकारका मन्त्री लागिहेको कांग्रेस सांसद खड्काले बताए ।

‘स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निःशुल्क शिविर चलाउने ४५ हजार छुट्याइएको छ भने अर्को अभिमुखीकरण कार्यक्रमलाई ५५ लाख रुपैयाँ छुट्याइएको छ । निःशुल्क परीक्षण कार्यक्रम एउटै टोलमा गर्दा पनि ४÷५ लाख रुपैयाँ लाग्छ,’ सांसद खड्काले भने, ‘यो त एक उदाहरणमात्र हो । वक्तव्यमा ल्याएका कुरा नै र पुस्तिकामा बाझिएका छन् । त्यसलाई त सच्याउनु पर्‍यो ।’

रेडबुकमा भएका त्रुटी सच्याउन र असहमतिका विषयमा छलफल गर्न भन्दै शनिबार मुख्यमन्त्रीसहित बैठक बसेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मन्त्रालयका सचिवहरु, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायतको सहभागिता रहेको बैठकमा बजेटका विषयमा छलफल गरेको थियो ।

कांग्रेसले रेडबुकमा देखाएका कतिपय त्रुटिलाई सरकार मिलाउने पक्षमा रहेको आशय मुख्यमन्त्री र अर्थमन्त्रीले दिएका थिए ।

अर्थमन्त्री किरण गुरुङले कतिपय विषयमा कांग्रेसले रेडबुकका विषयमा नबुझेको बताए । कांग्रेसले भनेझैं ठूलो त्रुटी नभएको र सबै कुरा विकास कार्यक्रम पुस्तिकामा नआउने अर्थमन्त्री गुरुङको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment