Comments Add Comment

राराको सौन्दर्य र यात्रा वर्णन

१४ असार, काठमाडौं । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।

रारा ताल जानका लागि बर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि मानिसहरु जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदुरपश्चिमका ६ वटा जिल्लासमेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्छ ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरुको व्यवस्था छ ।

सवारी साधन छोडेपछि करीब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । तालको छेउ पुगेपछि हिडाइँको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारी साधनमा यात्रा पश्चात पुग्न सकिन्छ । अथवा नेपालगञ्जदेखि ४० मिनेटको हवाइ यात्रा पश्चात मुगुको ताल्चा विमानस्थल अनि २ घण्टा पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ ।

रारा जाने टिकट नै पाइँदैन भन्ने हल्ला मात्रै हो

धनबहादुर बुढा, पर्यटन राज्यमन्त्री

राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार बन्न सक्छ रारा राष्ट्रिय निकुञ्ज ।

रारा ताल मात्रै नभएर समग्र कर्णाली प्रदेश नै पर्यटनको हब बन्न सक्छ । तर, कर्णाली प्रदेशमा जति पर्यटक पुग्नु पर्ने हो, त्यति पुग्न सकेका छैनन । यसो हुनुको प्रमुख कारण भनेको कर्णालीको सुन्दरताको प्रचार जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

रारा जानलाई हवाइजहाजको टिकट पाइँदैन भन्ने गुनासो आउने गरेको छ । तर, त्यो गुनासो सही होइन । किनभने टिकटका लागि पहिल्यै योजना बनाएर जाने भए समस्या आउँदैन । तर, बाहिर प्रचार–प्रसार भएजस्तो टिकट नै पाइँदैन भन्ने हल्ला मात्रै हो ।

अहिले राराको जानकारी दिनका लागि रारा प्रवेश गर्ने मुख्य नाकाहरुमा राराका विषयमा जानकारी दिने सूचनामूलक बोर्डहरु राखिएका छन् । राराका विषयमा जानकारी दिन सूचना डेस्क पनि तयारी हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment