Comments Add Comment

घरेलु मदिरा पोखिँदै, विदेशी मदिरा पोसिँदै

४५ वर्ष पुरानो ऐनमा टेकेर घरेलु मदिरा घोप्ट्याउँछ प्रहरी

१६ असार, काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा घरेलु मदिरा बिक्री–वितरण तथा ओसारपसार गरेको भन्दै प्रहरीले देशभरबाट ७६ जनालाई पक्राउ गर्यो । पक्राउ परेका उनीहरुबाट ५ लाख ६८ हजार ६३२ लिटर तयारी अवस्थाको मदिरा र २ लाख ३६ हजार २२७ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि जफत गरेर नष्ट गरिएको नेपाल प्रहरीको विवरण उल्लेख छ ।

यसरी घरेलु मदिरा जफत गरेर नष्ट गर्ने सिलसिला वर्षौंदेखि चल्दै आएको छ । विदेशी मदिराहरुले बजार ढाकेको बेला घरेलु मदिरामा किन कडाइ गर्छ त प्रहरी ?

मदिरा व्यवसाय व्यवस्थित बनाउन बनेको मदिरा ऐन २०३१ लाई टेकेर प्रहरीले अवैध रुपमा उत्पादन र बिक्री–वितरण भएका मदिरा र यसका उत्पादकलाई पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरुलाई सरकारी मापदण्डविपरीत मदिरा उत्पादन, बिक्री र वितरण गरेको कसुरमा मुद्दा चलाइन्छ जुन अधिकार उक्त ऐनले दिएको छ ।

ऐनको दफा ४ मा मदिराको बिक्री–वितरणमा कस्तो अवस्थामा नियन्त्रण गर्ने भन्ने उल्लेख छ । उक्त दफाअनुसार कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि त्यसमा तोकिएको शर्तबमोजिम बाहेक मदिरा बिक्री, वितरण गर्न वा मदिरा खुवाउने बार वा रेष्टुरेन्ट वा पसल थाप्न नपाउने भनिएको छ । सरकारी मापदण्डबमोजिम उत्पादन नगरिएको, अखाद्य पदार्थ मिसाइएको भन्दै घरेलु मदिरा प्रहरीले अहिले जफत गर्दै आएको हो ।

३ अर्बको आयात

चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालले ७३ लाख २७ हजार ७ सय ९३ लिटर मदिराजन्य वस्तु र यसको कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार उक्त आयातमा ३ अर्ब ४४ करोड ८० लाख ८२ हजार रुपैयाँ नेपाली रुपैयाँ विदेशिएको छ । जसमध्ये मदिरा उत्पादनका लागि ल्यााइएको कच्चा पदार्थ ५ लाख २६ हजार ६३९ लिटर र रेडिमेट मदिरा २३ लाख १ हजार १५४ लिटर छ ।

अधिवक्ता एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ घरेलु मदिराविरुद्धको कारवाही प्रहरीको काम देखाउने भाँडो बनेको बताउँछन् । घरेलु मदिरालाई व्यवस्थित बनाउन राज्यले कुनै कदम नचालेर हरेक वर्ष विदेशी मदिरा आयात बढ्दै गएको उनको भनाइ छ ।

४५ वर्ष पुरानो मदिरा ऐन संशोधन गरेर घरेलु मदिरालाई सरकारी तवरबाटै व्यवसायिक प्रयोजनमा ल्याउनुपर्ने उनले बताए । अधिकारकर्मी बानियाँले मदिरा आयात गर्ने ठूला व्यापारीको प्रभावमा प्रहरी परेको हुन सक्ने भन्दै घरेलु मदिरा उत्पादकमाथिको धरपकडको प्रचलन नियम बनाएर तोडिनु पर्ने बताए ।

यद्यपि, घरेलु मदिराको गुणस्तरको पनि नियमन हुनुपर्ने उनको जोड छ ।

‘अहिले घरेलु मदिरा पिएर गम्भीर असर गरेका केसहरु पनि आएका छन्, त्यसैले नियमनको पाटो महत्त्वपूर्ण छ,’ उनले भने ।

नियमन कि नियन्त्रण ?

नेपाल प्रहरीका बाहालवाला एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा घरेलु मदिराविरुद्धको प्रहरी कारवाहीको औचित्यमाथि प्रश्न उठ्न थालेको अनलाइनखबरलाई बताए ।
मदिरा आयातमा नेपालले गुमाएको धनराशि हिसाब गर्ने हो भने घरेलु मदिरा उत्पादनविरुद्ध धरपकड छोडेर उनीहरुको क्षमता विस्तार र गुणस्तरतर्फ ध्यान दिनुपर्ने ती अधिकारीको अनुभव छ । खासगरी अन्तशुल्क अधिकारीको निष्क्रियताका कारण प्रहरी परिचालन हुनुपरेको ती अधिकारीले बताए ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी घरेलु मदिराविरुद्धको कारवाहीमा प्रहरीको सक्रियतालाई अन्तशुल्कका अधिकारीको अकर्मण्यता नै प्रमुख कारण मान्छन् । घरेलु मदिरा पूर्ण नियान्त्रण गर्ने वा यसलाई व्यवस्थित बनाउने भन्नेमा सरकार अन्यौलमा रहेको उनको भनाइ छ ।

‘सरकारी अष्पस्टताका कारण जो कसैले पनि मदिरा नियन्त्रण गर्ने बहानामा व्यक्तिगत वा संस्थागत फाइदा लिनसक्ने अवस्था बनेको छ,’ उनले भने ।

खराब गुणस्तरको मदिराले केही मानिस बिरामी भएपछि प्रहरीले मौसमी धरपकड तीव्र बनाउने प्रचलन रहेको भन्दै अधिकारीले मदिराको गुणस्तरमा सम्झौता नहुने गरी सरकारले कानुन बनाउन जरुरी रहेको औंल्याए । उद्योग मन्त्रालयले भने नेपाली घरेलु मदिरा व्यवसायीकरण गर्नका लागि कुनै योजना नबनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment