Comments Add Comment

‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कोरियन नागरिकलाई पनि

१७ असार, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोही सम्मानित हुने भएका छन् । कार्यक्रमको नाम नै ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ राखिएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड प्रमुख अतिथि रहने सम्मान कार्यक्रम मंगलबार १२ बजेपछि राष्ट्रिय सभागृहमा हुँदैछ । कार्यक्रममा पाँच जनालाई साहसिक सगरमाथा सम्मान र जनयुद्ध र जनआन्दोलनका केही घाइतेहरुलाई आर्थिक सहयोग गरिने आयोजक प्रकाश दाहाल फाउन्डेसनले जनाएको छ ।

प्रकाश दाहाल फाउन्डेसन सोमबार मात्रै विधिवत दर्ता गरिएको छ । यसको संयोजक प्रकाश दाहालकी पत्नी एवम् खानेपानी मन्त्री विना मगर आफैं छन् । प्रकाश दाहाल र विना मगरले सँगै सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणलगत्तै उनीहरुले प्रेम विवाह गरेका थिए ।

कोरियन नागरिकलाई पनि सम्मान

साहसिक सगरमाथा सम्मान पाउनेहरुको सूचीमा सगरमाथा आरोहीका लागि बाटो बनाइदिनेदेखि सरकारी कर्मचारी र कोरियन नागरिकसमेत छन् । सगरमाथा चढ्ने बाटो बनाउने (आइसफल डाक्टर) आङसार्की शेर्पा, अर्का आरोही छिरिङ थुन्दु शेर्पा, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि दोस्रो अग्लो चुचुरो माउन्ट केटु चढ्ने पहिलो नेपाली महिला माया शेर्पा, नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ र कोरियन नागरिक युम होङ गिललाई सम्मान गरिने फाउन्डेसनले जनाएको छ ।

कोरियन नागरिक गिलले विश्वका ८ हजारभन्दा माथिका १४ वटा हिमाल आरोहण गरिसकेका छन् । उनले २० करोडको लगानीमा नेपालमा आरोहणसम्बन्धी पढाइ हुने माउन्टेन स्कुल सञ्चालन गर्दैछन् । त्यसका लागि नेपाल सरकारसँग एमओयू समेत भइसकेको प्रकाश दाहाल प्रतिष्ठानका एक सदस्यले जानकारी दिए ।

यसैगरी शाखा अधिकृत श्रेष्ठले सगरमाथा बेस क्याम्पमा स्थापना गरिएको सहायता कक्षमा १२ वर्षसम्म सेवा गरेका छन् ।

सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपाका नेता माधव नेपाल र कांग्रेस नेता रमेश लेखकलाई बोलाइएको छ ।

०३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते असामयिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment