Comments Add Comment

नेपालमा कोरियादेखि फ्रान्ससम्मका सियो, एक वर्षमा साढे २२ हजार किलो आयात

किन बन्दैन नेपालमा सियो ?

१८ असार, काठमाडौं । नेपालको स्वदेशी उत्पादन कति कमजोर छ भन्ने उदाहरण पेश गर्दा सधैं भन्ने गरिन्छ, ‘सियोसमेत विदेशबाट आयात गर्नुपर्छ ।’

हो, वर्षौंदेखिको यो भनाइ अहिले पनि उत्तिकै सत्य छ । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको वर्तमान सरकारले पनि सियो जस्तो ‘मामुली’ चिजलाई ध्यान दिएको छैन ।

केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा उनले ०७४ पुष २ गते नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिसँगको छलफलमा भनेका थिए, ‘सियो-धागोदेखि तरकारी फलफूलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिने छ ।’ ओली अहिले दुईतिहाई बहुमतप्राप्त सरकारका शक्तिशाली प्रधानमन्त्री भएको डेढ वर्ष भयो तर देश सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन ।

नेपालमा आजसम्म सियो उत्पादन गर्ने उद्योग स्थापना भएको कुनै रेकर्ड उद्योग विभाग तथा मन्त्रालयसँग छैन । चालू आर्थिक वर्षको एघार महिनामा नेपालले २२ हजार ५ सय ७८ केजी सियो विश्वका विभिन्न सात देशबाट आयात गरेको छ । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

चालू आर्थिक वर्षमा ७७ लाख रुपैयाँको सियो नेपालले आयात गरेको छ । भारत चीन, दक्षिण कोरिया, फ्रान्स, इटाली, थाइल्याण्ड र स्वीट्जरल्याण्डबाट समेत नेपालमा सियो आयात हुन्छ । नेपालमा सबैभन्दा धेरै सियो निर्यात गर्ने मुलुक भारत हो । यो आर्थिक वर्षको एघार महिनामा सबैभन्दा बढी भारतबाट र सबैभन्दा कम स्वीट्जरल्याण्डबाट नेपालमा सियो भित्रिएको छ ।

यसबाहेक चीनबाट १४ लाख ७७ हजार, दक्षिण कोरियाबाट ११ लाख ३७ हजार, फ्रान्सबाट ७ लाख ९९ हजार, इटालीबाट १ लाख ५८ हजार, थाईल्याण्डबाट ३० हजार र स्वीट्जरल्याण्बाट ५ हजार रुपैयाँ बराबरको सियो नेपालले आयात गरेको छ ।

क्र.सं. मुलुक रकम
भारत ४१ लाख १५ हजार
चीन १४ लाख ७७ हजार
दक्षिण कोरिया ११ लाख ३७ हजार
फ्रान्स ७ लाख ९९ हजार
ईटाली १ लाख ५८ हजार
थाईल्याण्ड ३० हजार
स्वीट्जरल्याण्ड ५ हजार

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सियो आयात १० लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्ष नेपालले १७ हजार ७२१ केजी सियो आयात गरेको थियो । कुल ६७ लाख ६९ हजार रुपैयाँ सियो आयातका लागि बाहिरिएको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष पनि सबैभन्दा धेरै सियो भारतबाट नै भित्रिएको थियो भने अमेरिका र जर्मनीबाट समेत सियो आयात भएको थियो ।

किन बन्दैन नेपालमा ?

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका अध्यक्ष अञ्जान श्रेष्ठ सियो उत्पादन गर्ने मेसिनमा पर्ने लगानी अनुसार बजार नभएका कारण व्यवसायीले यस उद्योगमा हात नहालेको बताउँछन् ।

गार्मेन्ट सिलाइ व्यवसायमा लामो समय काम गरेका व्यावसायी यज्ञराज न्यौपानेले दश वर्षअघि नेपालमा जर्मन प्रविधिको सियोको एजेन्सी लिन खोजेका थिए । जर्मन प्रविधिद्वारा भारतमा निर्माण हुने सियो कम्पनीका एकजना ईन्जिनियर त्यसबेला नेपाल आएका थिए । नेपालको बजार बुझ्न एक वर्ष नेपाल बसेका उनले नेपालमा सियोको बजार निकै साँघुरो रहेको बताएको न्यौपाने सम्झन्छन् ।

ती ईन्जिनियरले बताएअनुसार एउटा कारखानामा सिलाइका लागि बनाइने एउटा सियो तयार हुन १३४ वटा प्रक्रिया पुरा गर्नुपर्छ । गुणस्तरयुक्त कार्बन रडबाट सियो तयार गरिन्छ । कम्प्युटराइज्ड प्रविधिको महंगो मेशिनबाट उत्पादन गरिने त्यस्ता सियोको मूल्य न्यूनतम १५० रुपैयाँ पर्छ ।

नेपालको औद्योगिक बजार सानो भएको र अन्य प्रकारका सियोमा फाइदा कम हुने भएपछि नेपालमा सियो उत्पादन गर्ने कारखाना खुल्नै नसक्ने ती इन्जिनियरले बताएको न्यौपाने सम्झन्छन् । पछिल्ला दिनमा सियो उत्पादनमा आक्रामक भएको चीनले जर्मन कम्पनीको १५० पर्ने उस्तै गुणस्तरको सियो २० रुपैयाँमै बजारमा पठाउने उनले बताए ।

‘करोडौ खर्चेर नेपालमा उत्पादन गर्ने सियो भन्दा आयातित सियो सस्तो पर्ने बुझेका कारण यो व्यवसायमा कोही अग्रसर भएनन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment