Comments Add Comment

कपिलवस्तु घटनाका ३ जना अभियुक्त १२ वर्षपछि पक्राउ

अरुलाई पनि छिट्टै पक्राउ गर्छाैं : प्रहरी प्रमुख जबरा

२० असार, बुटवल । कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा १४ जनाको ज्यान जाने गरी १२ वर्षअघि भएको हिंसात्मक घटनाका ३ जना अभियुक्त पक्राउ परेका छन् ।

कपिलवस्तुको साविक साविक विसनपुर-६ कुदरभेटवाका मुस्लिम अगुवा मोइद खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि बिसनपुर, चन्द्रौटा, कृष्णनगरलगायतका क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसामा १४ जनाको मृत्यु भएको थियो ।

खाँको हत्यापछि मुस्लिम र हिन्दु समुदाय विभाजित भएर भड्केको हिंसामा एक हजार ५४ घर र २१६ सवारीसाधनमा आगजनी र तोडफोड भइ करोडौंको क्षति भएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा दोषी ठहर भइ फरार भएकामध्ये पक्राउ पर्नेहरुमा चन्द्रौटा विसनपुरका भदइ यादव, जगदीश गुप्ता र चिन्कु मुसलमान रहेका छन् ।

उनीहरुलाई चन्द्रौटा बजार क्षेत्रबाट दुई दिनअघि पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दीपकशमशेर जबराले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई अदालतमा पठाइएको छ । यसअघि सोही घटनामा संलग्न भएको अभियोगमा फरार २ जना पक्राउ परी कारगार चलान भइसकेका छन् । अझै तीनजना फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रमुख जबराले बताए ।

फरार अभियुक्तहरुलाई पक्राउ नगर्दा पुनः अपराधिक घटना हुन सक्ने भएकाले जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै निगरानी बढाएर पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए ।

जबरा जिल्ला प्रहरी प्रमुख भए आएको एक महिना मात्रै भएको छ । जबराले राष्ट्रियस्तरमै चर्चित उक्त हिंसात्मक घटनाका सबै अभियुक्तलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्यायको अनुभूति दिलाउने आफ्नो प्राथमिकतामा रहेको अनलाइनखबरसँग बताए ।

‘६ महिनायता मात्रै एक सय ४७ जना अभियुक्तहरु पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख जबराले भने, ‘चन्द्रौटा घटनाकै फरार बाँकी अभियुक्तलाई पनि छिट्टै पक्राउ गर्ने कुरालाई प्राथमिकतामा राखेका छौं ।’

घटनापछि सरकारले लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । तर, समितिको १२ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रतिवेदन सार्वजनिक नहुँदा पीडितहरुले न्याय पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment