Comments Add Comment

‘योगमाया उपन्यासलाई चुनौती दिन चाहन्नँ’

पारिजातको सहायक हुनु मेरो जीवनको कायापलट हो : उत्तमप्रसाद पन्त, योगमायाका अध्येता

नयाँ पुस्ताका लागि उत्तमप्रसाद पन्तको नाम नौलो लाग्न सक्छ । ०३६ सालको सडक कविता क्रान्तिमा संलग्न हुनेहरुका लागि भने उत्तम जुझारु नाम हो । अझ चर्चित साहित्यकार पारिजातका निकटहरुका लागि उत्तमप्रसाद चिर परिचित नाम हो ।

पारिजातका पछिल्ला कृतिहरुमा उत्तमप्रसादको नाम महत्वका साथ उल्लेख भएको देखिन्छ । नेपाली वाङ्मयको क्षेत्रमा उत्तमप्रसादको काम चाहिँ इतिहासकी क्रान्तिकारी महिला ‘योगमाया’ का विषयमा खोज अनुसन्धान गर्ने पहिलो व्यक्तिका रुपमा चिनिएको छ ।

विसं. ०४१ देखि ०५२ सम्म ‘योगमाया’ सँग सम्बिन्धित क्षेत्रको भ्रमण तथा भेटिएका महत्वपूर्ण  पात्रहरुको संकलन गर्ने काम पन्तले गरे । योगमायाको जन्मस्थान, उनका आश्रमहरु र योगमायाको अभियानमा निकट रहेर काम गरेका व्यक्तिका विभिन्न तस्वीरहरु, तीमध्ये केही महत्वपूर्ण पात्रका रेकर्डहरु उनीसँग सुरक्षित छन् ।

योगमायालाई सञ्चार माध्यमहरुमा ल्याउने र प्रचार गर्ने व्यक्ति पनि पन्त नै हुन् । अहिले उनले आफूले ३५ वर्ष लगाएर अनुसन्धान गरेको पुस्तक ‘योगमायाधाम’ प्रकाशनमा ल्याएका छन् । यो पुस्तक गत वर्ष मदन पुरस्कार प्राप्त नीलम कार्की निहारिकाको कृति ‘योगमाया’ का कतिपय प्रसङ्गसँग मेल खाँदैन ।

यिनै कुराहरुका सन्दर्भमा योगमायाका अध्येता उत्तमप्रसाद पन्तसँग अनलाइनबखरले गरेको कुराकानीको मुख्य अंश ।

‘योगमायाधाम’ पुस्तक निकाल्नुको कारण नीलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त कृति ‘योगमाया’ लाई काउन्टर दिने प्रयास त होइन कतै ?

उत्तमप्रसाद पन्त

होइन, पटक्कै होइन । नीलमजीको कृतिले योगमायाको जीवनकथा भन्छ । मैलेचाहिँ योगमायाका प्रथम शिष्य पण्डित प्रेमनारायणको जीवन प्रस्तुत गरेको छु । योगमाया उपन्यास हो, तर योगमायाधाम अनुसन्धानमूलक कृति हो । उपन्यासमा सबै कुरा सत्य नहुन सक्छन्, तर अनुसन्धानमूलक कृतिमा सत्य कुरा मात्र होइन, सत्यलाई प्रमाणित गर्ने तथ्यहरु पनि हुनुपर्छ । यस अर्थमा हामी दुईको बाटो निकै फरक छ ।

तपाईंले योगमायाका विषयमा लामो अनुसन्धान गर्नुभयो । तर, पुस्तक प्रेमनारायणका विषयमा लेख्नुभयो । यसको कारणचाहिँ के होला ?

नेपालमा सत्तामा भएका शक्तिशाली व्यक्तिका मात्र इतिहास लेखिएका छन् । त्योबेला योगमाया सामान्य व्यक्ति थिइन् र सत्ताद्वारा सताइएकी पात्र थिइन् । त्यसैले उनका बारेमा कसैले अभिलेख राखिदिएनन् । मेरो ३५ वर्षे अनुसन्धानमा पनि योगमायाका सबै पाटाहरु फेला पार्न सकेको छैन । अपूरा कुराले अनुसन्धानमूलक पुस्तक तयार हुनै सक्दैन ।

प्रेमनारायण योगमायाभन्दा २० वर्ष कान्छा भएकाले उनका कुरा खोज्न मलाई केही सजिलो भयो । तर, योगमायाका सबै कुरा खोज्न सकिएन । यद्यपि प्रेमनारायणको जीवन लेख्दा आधाभन्दा बढी कुरा योगमायाकै छन् ।

योगमायाका कुन कुन पक्ष अनुसन्धान गर्न बाँकी छन् ?

योगमाया विक्रम सम्बत १९४२ देखि १९७२ सम्म ३० वर्ष भारतको आसाममा रहिन् । उनी बसेको स्थानको नाम फूलबारी हो । तर, आसाममा फूलबारी नामका धेरै स्थानहरु रहेछन् । त्यो कुन स्थान थियो र उनी त्यत्रो समय के गरेर बसिन् भन्ने कुरा अहिलेसम्म पत्तो लगाउन सकेको छैन । प्रारम्भिक जीवनका ३० वर्ष कस्ता थिए भन्ने कुरा थाहा नपाई जीवनी लेख्न सकिँदैन ।

मैले थाहा नपाएको अर्को कुरा चाहिँ योगमायाको तपस्याको पाटो हो । उनी एक वर्ष ताप्लेजुङको स्याम्पालुङ्मा तपस्या गरेर बसिन् । यो ठाउँ हिमालको फेद भए पनि म त्यहाँ पुग्न सकेको छैन । उनले यो तपस्यामा सिद्धि प्राप्त गरेको देखिन्छ । तर, त्यसको विधि के थियो त्यो पनि थाहा छैन । यो पनि उनको महत्वपूर्ण पाटो हो ।

योगमायाको महत्वपूर्ण पक्ष भनेको उनले राणा सरकारसँग २६ वटा मागहरु राखेर त्यो माग पूरा नभएको भन्दै धर्मराज्यका लागि सामूहिक आत्मदाह गर्नु हो । ती माग के के थिए, मैले पत्तो लगाएँ । तर, त्यसको शिलसिलेवर रुप अझै थाहा पाउन सकेको छैन ।

पहिला केही बुँदा सधैं महत्वपूर्ण हुन्छन् । तीमध्ये पहिलो बुँदा के थियो भन्ने कुरामा पनि अझै निष्कर्ष निकाल्न सकेको छैन । पहिला १० बुँदाहरुको क्रमसङ्ख्या पत्तो लाग्नेवित्तिकै उनको सामाजिक आन्दोलनको स्तर पत्ता लाग्नेथियो भन्ने मलाई  लाग्छ । यो पाटोको अनुसन्धान गर्न पनि बाँकी नै छ ।

मैले पत्तो लगाउन नसकेको अर्को पाटो योगमायाको चित्र पनि हो । अहिले योगमायाका ५ थरिका चित्रहरु उपलब्ध छन् । तीमध्ये कुन चित्र चाहिँ उनको आधिकारिक मुहार हो भन्ने कुरामा पनि म प्रस्ट छैन । अझ म के निष्कर्षमा पुगेको छु भने ती पाँचमध्ये कुनै पनि चित्र योगमायाका आधिकारिक चित्र होइनन् ।

जबसम्म योगमायाको मुहार भावभङ्गिमा बाहिर ल्याउन सकिँदैन, उनको अनुसन्धान पूरा हुँदैन भन्ने लाग्छ ।

लामो समयदेखि तपाईंले योगमायाका विषयमा अनुसन्धान गरिरहनुभएको रहेछ । तर, आम पाठकलाई जानकारी नै छैन । किन चुपचाप बस्नुभएको ?

विसं. ०४१ सालदेखि ०४२ सालको अन्त्यसम्म मैले योगमायाका विषयमा लगातार लेखेँ । मेरा लेखहरु प्ाढेर र रेडियोमा मैले दिएको अन्तरवार्ता सुनेर केही लेखकहरु मलाई भेट्न आएको अहिले जस्तो लाग्छ । तर, म त्योबेला निकै फुच्चे नै रहेछु । परिपक्वताको कमी छ भन्ने चाँडै महसुस गरेँ । म त पारिजातको सङ्गतका कारण मात्रै ठूला-ठूला कुरा सोच्ने भएको रहेछु ।

त्यसपछि अलिकति पाको उमेर नहुन्जेल विभिन्न विषयको अध्ययन गर्ने र कपाल पाकेपछि पुस्तक निकाल्ने सोच आयो । त्योबेला पुस्तक लेख्नु भनेको गहन अध्ययन गर्नु र त्यसलाई बाहिर ल्याउनु मानिन्थ्यो । आजको जस्तो एक्सपोजरको समय पनि थिएन । पारिवारिक बोझ र करियरका कारण म अंग्रेजीको अध्ययन र अध्यापनमा लागेँ । अब लेख्ने बेला भयो भन्ने महसुस भएकाले लेख्न थालेको हुँ ।

कतिपयले त ‘योगमाया’ले मदन पुरस्कार पाएपछि आफूले थन्काएर राखेका अनुसन्धानलाई पुस्तकको रुप दिएको आरोप पनि लगाएका छन् नि ? के भन्नुहुन्छ ?

नीलमजी भाग्यमानी लेखक हुनुहुन्छ । अहिलेलाई यत्ति नै भनौं ।

मेरो कुरा चाहिँ के भने पुस्तक अलि पकाएर निकालौं भन्ने नै हो । म आख्यानकार नभएका कारण तथ्यहरु धेरै नै खोज्नुपर्ने कुरा मैले माथि नै भनिसकेँ । मसँग उपन्यासकारको जस्तो लेखनकला नभएका कारण तथ्यभन्दा एक अक्षर पनि यताउता गर्न सक्दिनँ, जान्दिनँ ।

एकपल्ट नीलमजीसँग भेट हुँदा उहाँले पनि भन्नुभएको थियो, ‘म धेरै पाठकसम्म पुग्न योगमायालाई उपन्यासमा उतार्न चाहन्छु ।’ उहाँले जति अनुसन्धान गर्नुभएको थियो, त्यस आधारमा उहाँले उपन्यास लेख्नु नै ठीक थियो । त्यो उहाँको विधा पनि हो ।

म ‘योगमायाधाम’ पछि योगमायाको तथ्यपरक जीवनी निकाल्दैछु । त्यसपछि पारिजातका बाहिर नआएका पाटालाई पनि पुस्तकको रुप दिदैँछु । आफ्नै आत्मकथा लेख्ने योजना छ । यस अर्थमा ‘योगमाया’ पुस्तकले निकाल्ने प्रेरणा दिएको वा योगमायाको अनुसन्धान गरेको जस लिन खोजेको भन्ने कुरा होइन । यो पुस्तक मैले नीलम निहारिकाजीलाई काउन्टर दिन होइन, योगमायाप्रतिको श्रद्धाका कारण निकालेको हुँ । यो पुस्तक विक्री भएको पैसालाई मैले योगमायाकै अभियानमा लगाउने घोषणा गरेको छु । यसअर्थमा हाम्रा बाटा फरक छन्  ।

योगमायाका विषयमा अनुसन्धान गर्दा सबैभन्दा आश्चर्य लागेका पाटाहरु के-के हुन् ?

राणाविरोधी आन्दोलनमा लाग्दा धर्मभक्तलाई सरकारले ज्यान लियो । उनी सहिद घोषित भए । आज उनी उच्चकोटिका सहिदका रुपमा इतिहासमा स्वर्ण अक्षरमा लेखिएका छन् । योगमायाको आन्दोलन नेपालको पहिलो सामन्तवादविरोधी आन्दोलन थियो ।

योगमायाको नेतृत्वमा दर्जनौंले आत्मदाह गर्दा देश नै हल्लिएको थियो । तर, उनीहरुलाई न त सहिद घोषणा गरियो, न त योगमाया राष्ट्रिय सपूत नै घोषित भइन् । धर्मभक्त काठमाडौंमा थिए र उनी एउटा राजनीतिक दलका सदस्य थिए । यता योगमाया समाज सुधारक मात्र थिइन् । यदि उनी कुनै दलको सदस्य हुन्थिन् भने उनको स्थान कहाँ हुन्थ्यो भन्ने कल्पना गरेर म आश्चर्यमा पर्छु ।

उनीसँग नेतृत्व गर्ने क्षमता थियो भन्ने कुरा जुद्ध शमशेरलाई दिएको मागपत्र र त्यसलाई मनाउन सङ्खुवासभादेखि एक हुल मानिसलाई कााठमाडौं उतारेर दरबार छिराएबाट पनि थाहा हुन्छ । त्योबेला यो शाहस राणाविरोधी आन्दोलनमा लागेका नेताहरुमा समेत देखिनँ । खासमा ‘थर्ड क्लास’ मा झारिएका राणाहरुले प्रजातान्त्रिक आन्दोलनलाई सहयोग नगरेको भए प्रजातन्त्र आउने थिएन । आज गमेर हेर्दा योगमाया जस्ती नेतृलाई हामीले हामीले उचित सम्मान गर्न नसकेको, उनका कुरा अझै रहस्यमै रहेको अनभूति हुन्छ ।

‘योगमायाधाम’ पुस्तकमा पारिजातका विषयमा पनि धेरै कुरा परेका रहेछन् । पारिजातसँग तपाईंको भेट कसरी भयो ? कसरी लामो समय तपाईं उहाँको निकट सहयोगी रहनुभयो ?

सडक कविता क्रान्तिमा समयमा पारिजात दिदीसँग भेट भएको हो । उहाँ नयाँ पुस्तालाई अघि बढाउन, हौसला दिन निकै अघि हुनुहुन्थ्यो । दिदीको यो बानीबाट म प्रभावित भएँ । संयोग कस्तो पर्‍यो भने म गाउँबाट काठमाडौं आएर बस्ने म्हैपीको घर र पारिजात बस्ने घर नजिकै थियो । सुरुमा म उहाँको कथामा थेसिस गर्ने क्रममा नजिकिएँ । पछि उहाँको सहयोगी भएँ ।

खासमा उहाँ पूर्णकालीक लेखक हुनुहुन्थ्यो । नलेखी उहाँको घर नै चल्दैनथ्यो । उहाँका दुई औंला बाहेक अरु औंला चल्दैनथे । कुँजी अवस्थामा हुनुहुन्थ्यो । यस्तो अवस्थामा उहाँका कथाको सम्पादन गर्ने, लेखेका कुरा साफी गरिदिने, पत्र-पत्रिकामा उहाँको पारिश्रमिक लिन जाने काम गरेँ । उहाँको घरमा लेखक-कविको बाक्लै उठबस हुन थालेछि चिया पकाइदिने र अन्य घरेलु काममा पनि सहयोगी भएँ । यसरी मैले पारिजात दिदीलाई जसरी सकिन्छ, त्यसरी सहयोग गरेँ ।

पारिजातसँगको भेटले तपाईंको जीवनमा कस्तो प्रभाव पर्‍यो भन्ने ठान्नुहुन्छ ?

मानिस भएपछि समाजका लागि सोच्नुपर्छ, समाजको नेतृत्व लिनुपर्छ भन्ने उहाँको मान्यता थियो । उहाँबाट विदेशीहरुसमेत प्रभावित थिए भने म प्रभावित नहुने कुरै थिएन ।

पारिजातले योगमायाका बारेमा चाहिँ लेख्नुभएन ?

उहाँले योगमायाको विषयमा कहिल्यै लेख्नुभएन, तर मलाई योगमायाका विषयमा अध्ययन गर्न र लेख्न हौसला दिनुभयो । योगमायाका विषयमा जानकारी दिने बारबरा अजिजसँग मैले पारिजातकै घरमा भेटेको हुँ ।

म भाग्मानी यस अर्थमै हुँ कि मैले योगमायाको समाधिलाई असफल बनाउने धनकुटाका तत्कालीन मुख्तियार माधव शमशेरसँग त्यस विषयमा कुराकानी गर्ने मौका पाएँ । मैले भेटेर तस्वीर खिचेको  केही दिनमै उहाँको देहान्त हुन पुग्यो ।

त्यसैगरी योगमायालाई धोका दिने व्यक्तिहरु लप्टन नरेन्द्रबहादुर बस्नेत, डम्बरबहादुर बस्नेत, लोचननिधि तिवारी, ज्योतिप्रसाद गौतमहरुलाई समेत भेट्ने अवसर पाएँ । यदि पारिजातसँग संगत नभएको भए यो सम्भव थिएन ।

सबैभन्दा ठूलो कूरा, त्योबेला म योगमायाका विषयमा अध्ययन गर्न सङ्खुवासभा पुगेको थिएँ । त्यहाँका भक्तिनीहरुसँगै लामो समय बसेर योगमायाका विषयमा धेरै कुरा थाहा पाउने मौका पाएको थिएँ । केही ढिला मात्रै गएको भए पनि धेरै व्यक्तिलाई जीवित फेला पार्न सम्भव थिएन ।

साहित्यमा लागेर योगमाया त पाउनुभयो, तर गुमाएका कुरा पनि केही छन् कि ?

साहित्यमै लागेर केही गुमाएको त छैन । तर, साहित्यमा जोडिँदा म बहुदलको पक्षपाती भएँ । सडक कविता क्रान्तिमा संलग्न भएँ । जब कि मेरा बुवा घननाथ पन्त सर्वोच्च अदालतका न्यायधीश हुनुहुन्थ्यो । त्योबेला सरकारी जागिरे हुनुको अर्थ पूर्णरुपमा पञ्चायतको समर्थक बन्नु थियो । मेरा बुवा राजा र पञ्चायतविनाको देश कल्पना पनि गर्न सक्नुहुन्नथ्यो भन्ने आजभोलि महसुस  हुन्छ ।

देशमा जनमत सङ्ग्रह घोषणा भएपछि एक दिन मलाई बाले सोध्नुभयो, ‘बहुदलले जित्छ कि निर्दलले ?’ उहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाका पनि निकट हुनुहुन्थ्यो । यो थाहा पाए पनि युवा जोशमा मैले सहजै भनेँ, निर्दलले जित्ने कुनै सम्भावना नै छैन, बहुदलले जित्छ ।’

मेरो जवाफपछि उहाँ चुपचाप घरभित्र छिर्नुभयो । त्यही राति उहाँलाई हृदयाघात भयो । उहाँले संसार त्याग गर्नुभयो । उहाँलाई सरकारले राजकीय सम्मान दियो । तर, मेरो मनमा आज पनि लाग्छ, बुवाको आस्था कतापटि्ट छ भनेर थाहा हुँदाहुँदै पनि मैले उहाँको आस्थाविरुद्ध त्यस्तो नभनेको भए सायद उहाँलाई हृदयघात हुन्न थियो कि ? उहाँले निर्दलले जितेको थाहा पाउनुभएको भए कम्तिमा पनि अरु १० वर्ष बाँच्नुहुन्थ्यो कि भन्ने लागिरहन्छ ।

अहिले देशमा गणतन्त्र आएको छ । पुरानो कुरा सम्झँदा कस्तो लाग्छ ?

त्यतिखेरका नेतामा इमान थियो, जमान थियो । जसको आस्था जहाँ हो, उनीहरु पूर्णरुपमा समर्पित थिए । वीपी कोइराला, पुष्पलाल, मनमोहन जस्ताको आस्थामा कसैले पनि अविश्वास गर्न सक्दैनथ्यो । उनीहरु शिक्षित र परिवर्तन चाहनेहरुका लागि रोलमोडल थिए । आजका नेतालाई मानिसले त्यो रुपमा लिँदैनन् । उनीहरुमा त्यो उच्च नैतिकता पनि छैन । प्रजातान्त्रिक मूल्य मान्यताका लागि यो खतरनाक कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment