Comments Add Comment

स्थानीयको गुनासो : प्रशारण लाइनले सुकुम्बासी बनाउने भयो

२३ असार, पोखरा । पर्वतको मोदी २ देउपुरमा सञ्चालन गरिएको न्यू मोदी–लेखनाथ १३२ केभीए प्रसारण लाइन आयोजनाको सबस्टेसन कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा निर्माणाधीन छ ।

मोदीबाट प्रशारण हुने विद्युत लेखनाथसम्म पुर्‍याउने उद्देश्यसहित ४ वर्षअघिदेखि बनाउन सुरु गरिएको उक्त सबस्टेसन करिब ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

उक्त जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालयले लुम्ले, पुरञ्चौर, लाहाचौक र धिताल गाउँका ६० भन्दा बढी व्यक्तिका नाममा मुआब्जा दाबी गर्न आउने सूचनासमेत प्रकाशित गरेको छ । तर स्थानीयले भने आफूहरुसँग समन्वय नगरेर एकलौटी निर्णय गरेको भन्दै विरोध जनाएका छन् ।

प्रशारण लाइन संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै विकल्प हुँदाहुँदै पनि वस्तीबाटै विद्युत टावर लैजान लागेको बताए ।

‘नयाँ बस्ती भर्खर बस्दै छ । कुनै घर बनिसकेका छन् । कुनै बन्न लागेका छन् । अन्य ठाउँबाट विकल्प छ भन्दा पनि हाम्रो कुरा सुनिएन,’ स्थानीय आनन्दप्रसाद अधिकारीले भने । उनले प्रशारण लाइनका कारण आफूहरु सुकुम्बासी बन्न लागेको बताए ।
बस्तीबीच बाट विद्युत प्रशारण टावर लैजानुको साटो मर्दी खोला तीर, सेती तीर वा नजिकको जंगलबाट लैजान विकल्प दिएको स्थानीयको भनाइ छ । ‘विकल्प दिँदा पनि हाम्रो गुनासो सुनुवाई भएन । टावर राख्ने स्थान मार्किङ गर्दाबाटै हामीले कुरा राख्दै आएका छौं,’ अधिकारीले भने ।

स्थानीय विष्णु पौडेलले टावर निर्माणका लागि आवश्यक जग्गाको सर्भे गर्दासमेत स्थानीयलाई सहभागी नगराइएको बताइन् । ‘विद्युत आयो भने हामीलाई पनि फाइदा हुन्छ । तर, हामी नै सुकुम्बासी भएर कसरी सहयोग गर्न सक्छौं र ? हामीसँग छलफल हुनुपर्दैन ?’ उनले प्रश्न गरिन् ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जनप्रतिनिधि आउनुअघिबाट नै सुरु भएको आयोजना भएकाले आफूलाई यसबारेमा धेरै ज्ञान नभएको बताए ।

कानुनसम्मत अधिग्रहण गर्न लागेका छौं : आयोजना प्रमुख

न्यू मोदी–लेखनाथ प्रशारण लाइनका आयोजना प्रमुख रोशन अग्रवालले कानून अनुसार नै उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गर्न लागेको बताए । उनले भने ‘आफ्नो घरजग्गा परेपछि विरोध गर्नु स्वभाविक हो ।’

अग्रवालले स्थानीयले दिएको सुझाव अनुसार प्रशारण लाइन र सब स्टेशन बन्न नसक्ने बताए । ‘स्थानीयले खोलैखोला लैजा भन्छन् । त्यो सम्भव हुँदैन,’ उनले भने, ‘एउटा टावर गाड्न कम्तीमा ८ देखि १२ आना जग्गा चाहिन्छ । यो टेक्निकल कुरा हो । जुन खोलामा सम्भव छैन ।’

मोदीदेखि लेखनाथसम्म विद्युत प्रशारण लाइन ८२ किलोमिटर लामो छ । कुल १ सय ३८ टावरमध्ये ७ वटा सामुदायिक वनमा पर्ने र बाँकी सार्वजनिक जग्गामा पर्ने अग्रवालले जानकारी दिए ।

पर्वतमा प्रशारण लाइनको १३ वटा टावर र बाँकी कास्की क्षेत्रमा रहनेछन् । नेपाल विद्युत प्राधिकरणले आयोजनाको जिम्मा २ अर्बमा भारतीय कम्पनी एबीबी कन्स्ट्रक्सनलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment