Comments Add Comment

प्रदेश २ मा बाढी: एकको मृत्यु, दुई बेपत्ता, दुई घाइते

२७ असार, जनकपुरधाम । निरन्तरको बर्षापछि आएको बाढीका कारण प्रदेश २ को आठै जिल्ला प्रभावित बनेको छ । धेरै ठाउँको जनजीवन बाढी पसेर कष्टकर बनेको छ ।

बाढीका कारण प्रदेश २ मा एक जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कतिपय ठाउँमा सडक अवरुद्व भएको छ भने रौतहटमा पूर्व-पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा यातायात समेत प्रभावित बनेको छ ।

पर्सामा खोलामा आएको बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ । पर्सागढी नगरपालिका १ बस्ने मेघराज पटेलको १० बर्षीय छोरा निखिल पटेलको सिंग्याही खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी खोलामा दाउरा छान्न गएका थिए । खोलाले बगाएपछि उद्धार गरी उनलाई उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो ।

महोत्तरीमा रातु खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् । घाँस काट्न घरबाट निस्केका महोत्तरीको बलवा नगरपालिका-२, बदिया बस्ने ७० बर्षीय हमिद मियाँलाई खोलाले बगाएको हो । बेपत्ता भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रौतहटको गढीमाई नगरपालिका ६ धरमपुरकी एक महिला बागमती नदीमा डुबेर बेपत्ता भएकी छन् । स्थानीय किसनन्दन रायकी ५० बर्षीया पत्नी आनन्द देवी राय दाउरा टिप्न जाँदा बाग्मती नदीमा आएको बाढीले बगाएर बेपत्ता बनाएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

सिरहामा दुई जना घाइते भएका छन् । लहान नगरपालिका ३ गोधुली बस्ने सय बर्षीय रामविलास यादव र उनकी पत्नी ९० बर्षीया सकुन्तीदेवी घाइते भएका छन् । उनीहरुको फुसको घर बर्षाको कारण भत्किँदा घाइते भएका हुन् । रामबिलासको छातिमा र सकुन्ती देवीको हातमा चोट लागेको छ ।

प्रहरीका अनुसार डुबानमा परेका गाउँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । रौतहटको ईशनाथ नगरपालिका-१, बन्जरहास्थित लाल बकैया खोलाको बाढी बन्हा गाउँ र राजपुर नगरपालिका ९ बैरिया गाउँमा पस्दा २४ घर डुबानमा परी पूर्ण रुपले क्षतिग्रस्त बनेको छ । यी घरका व्यक्तिहरुलाई सुरक्षीत स्थानमा उद्धार गरी राखिएको प्रहरीको भनाई छ ।

रौतहटकै दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित गाउँमा बाग्मती नदी र झाझ खोलाको बाढी पसेपछि १९ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका १५ हरपुर्वामा बर्षातको पानी जमेपछि यहाँका १ सय ५० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

निरन्तरका बर्षाका कारण महोत्तरी कारागारको भुई तलामा पानी जम्दा कैदीबन्दीहरुलाई खाना बनाउन समस्या भएको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको कार्यालयभित्र पानी पस्दा २ वटा कम्प्यूटर, साउण्ड सिस्टम र सोफाहरु तत्काल काम नगर्ने अवस्थामा पुगेको छ ।

लगातारको बर्षाका कारण रौतहटको कटहरिया नगरपालिका ४ स्थित लाल बकैया खोलाको बांध फुटेको र रौतहटकै चपुर-२, पूर्वपश्चिम राजमार्गको पहिलो लच्कामा बाढीका कारण सानो सवारी साधन आवतजावतमा समस्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१४ घण्टादेखि फसेकाको उद्धार 

पछिल्लो १४ घण्टादेखि कमला नदीको बाढीमा फसेका एक व्यक्तिको सकुशल उद्वार गरिएको छ ।

नेपाली सेना तथा माझीहरुको सहयोगमा बिहीबार रातिदेखि बाढीमा फसेका सिरहाको कर्जन्हा नगरपालिका-२ का गुद्रु मुखियाको उद्वार गरिएको प्रहरीले जनाएको छ ।

सिरहाकै बन्दिपुरस्थित कमला नदीमा कुटी बनाएर बस्दै आएका मुखियाको कुटी नदीमा आएको बाढीले बिहीबार राति नै बगाएको थियो । कुटी बगाएपछि उनी नजिकै रहेको रुखमा चढेर ज्यान जोगाएका थिए ।

सिरहाको कल्याणपुर-५कमला खोलाको बिच टापुमा ५ जना मानिस बाढीका कारण घेरिएका छन् । बाढीको बहाब बढी भएका कारण उनीहरुको उद्वार गर्न समस्या भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी ज्ञानकुमार महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment