Comments Add Comment

प्रदेश २ मा बाढीले १४ को मृत्यु, सञ्चार र बिजुली विच्छेद

३० असार, जनकपुरधाम । लगातार तीन दिनको वर्षा आइतबार बिहानदेखि थामिए पनि प्रदेश २ का जिल्लाहरुको अवस्था सामान्यतर्फ उन्मुख हुन सकेको छैन । निरन्तरको वर्षाले बिभिन्न नदी, खोलाबाट आएको बाढीका कारण प्रदेश २ का जिल्लाबासी अहिले पनि आक्रान्त छन् ।

बाढीका कारण प्रदेश २ मा १३ हजार ४४ परिवार विस्थापित भएका छन् भने १ लाख १८ हजार १ सय ४ घर र ६ लाख ७९ हजार ३ सय १५ व्यक्ति प्रभावित भएका छन् । ३ हजार ५ सय ३० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

१४ को मृत्यु, ५ वेपत्ता 

लगातारको वर्षापछि आएको बाढीका कारण प्रदेश २ का आठ जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् ।

रौतहटमा ५, धनुषा, महोत्तरी, बारा र पर्सामा २-२ तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र डुबान तथा सर्पदंशका कारण ज्यान गएको प्रहरीको भनाइ छ ।

धनुषाको चारनाथ नगरपालिकास्थित चारनाथ नदीमा डुबेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । ५५ वर्षको जस्तो देखिने उनको सनाखत हुन सकेको छैन ।

जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । अन्दाजी ६७ वर्षीय उनको पनि पहिचान खुल्न सकेको छैन ।

रौतहट सदरमुकाम गौर नगरपालिका ३ निवासी शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर ज्यान गएको छ । सोही ठाउँका उमेश राउतको पनि डुबेर ज्यान गएको छ ।

यस्तै इशानाथ नगरपालिका १ मा डेरा गरी बस्ने भारतीय नागरिकको अत्यधिक वर्षाकाबीच छतमाथि शौच गर्न जाँदा त्यहीँबाट लडेर मृत्यु भएको छ । यमुनामाई गाउँपालिका १ मा २५ वर्षीया गायत्रीदेवी साहको भने सर्पदंशबाट मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय कल्भर्टमा डुबेर वेपत्ता भएका रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का वीरेन्द्र मिश्रको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महतोले बताए ।

बारामा दुई जना बालकको डुबेर मृत्यु भएको छ । परवानीपुर गाउँपालिका १ निवासी अरबिन्द यादवको १८ महिने छोरा बिकी यादवको घर नजिकै जमेको पानीमा तथा कलैया १३ निवासी १३ वर्षीय बालक अजित साहको बाटो बनाउन खनिएको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिका १३ निवासी १४ वर्षीय बालक अनुप पटेलको सबैठा खोलामा डुबेर मृत्यु भएको छ । पर्साकै पर्सागढी नगरपालिका १ का १० वर्षीय निखिल पटेलको सिंयाही खोलामा बगेर ज्यान गएको छ ।

महोत्तरीमा एक किशोरको शव रातु खोलामा फेला परेको छ । भंगहा नगरपालिका ४ स्थित रातु खोलामा सनाखत हुन नसकेका १५ वर्षीय किशोरको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बलवा नगरपालिका २ का ७० वर्षीय हमिद मियाँको रातु खोलामै बगेर ज्यान गएको छ ।

सिरहामा बाख्रा चराउन गएकी बालिकाको पनि जमेको पानीमा डुबेर मृत्यु भएको छ । मिर्चैया नगरपालिका ४ निवासी १० वर्षीया रागनी कुमारी महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ४ निवासी ५५ वर्षीय कामेश्वर यादव कमला नदीमा, सिरहाकै कर्जन्हा नगरपालिका १ का ७५ वर्षीय भोला साहको धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला नदीमा र महोत्तरीको पिप्रा गाउँपालिकाका १३ वर्षीय युवराज ठाकुर जलेश्वर नगरपालिका ८ स्थित कल्भर्टमा डुबेर वेपत्ता भएका छन् ।

सञ्चार सम्पर्क र बिजुली ठप्प

बाढीका कारण कतिपय जिल्लामा सञ्चार सम्पर्क र विजुली ठप्प भएको छ । रौतहट सदरमुकाम गौरमा दुई दिनयता विजुली छैन । सञ्चार सम्पर्क पनि पूर्णतया ठीक हुन सकेको छैन ।

सर्लाही जिल्लाको अवस्था पनि यस्तै छ । धेरै ठाउँमा अहिले पनि सञ्चार सम्पर्क अवरुद्ध छ । कतिपय ठाउँमा लामो समयदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयबासी झन् समस्यामा परेका छन् ।

बाढीले प्रदेश २ का आठैवटा जिल्ला प्रभावित भएको छ । यद्यपि रौतहट, सर्लाही र सिरहा जिल्लामा बाढीले बढी क्षति पुर्‍याएको देखिन्छ ।

रौतहटमा ७० हजार प्रभावित

रौतहटको प्रायः सबै स्थानीय तहमा बाढी पसेको छ । धेरै गाउँ अहिले पनि जलमग्न छन् । बाढीका कारण यहाँका ७० हजार व्यक्ति प्रभावित भएका छन् । सदरमुकाम गौरसहित बिभिन्न स्थानीय तहका ७० हजार व्यक्ति बाढीबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । यद्यपि एकिन तथ्यांक आउन समय लाग्ने बताउँदै उनले गाउँपालिका र नगरपालिकाले तथ्यांक संकलन गरिरहेको जनाए ।

‘पानी थामिए पनि हामीलाई नर्मल अवस्थामा आउन समय लाग्छ,’ उनले भने, ‘धेरै ठाउँका पोलहरु ढलेका छन्, घरहरु भत्किएका छन्, पानी धेरै ठाउँमा जमेको अवस्था छ ।’

गौरस्थित विद्युतको शव स्टेशनमा पानी पसेर समस्या भएपछि दुई दिनदेखि गौरमा विद्युत नभएको प्रमुख जिल्ला अधिकारी थापाले सुनाए । उनले भने, ‘खानेपानीको समस्या जेनरेटर चलाएर समाधान गरिएको छ ।’

बाढीलगत्तै गौरमा सर्पको विगविगी ह्वात्तै बढेको छ । प्रजिअ थापाले शनिबारदेखि आइतबारसम्म गौरकै सात जना सर्पदंशको शिकार भइसकेको सुनाए ।

सर्लाहीका १६ सय परिवार विस्थापित

बाढीका कारण सर्लाहीका १६ सय १ परिवार विस्थापित भएका छन् । बाढीमा घर भत्किएपछि परिवारका सदस्यदलाई सुरक्षित ठाउँमा लगेर राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

झीम, लखनदेही, अनुसमारा र बागमती नदीको बाँध बिभिन्न ठाउँमा भत्केर जिल्लाका अधिकांस ठाउँमा बाढी पसेको छ । धेरै ठाउँमा जमेको पानी हालसम्म यथावतै छ । धेरै ठाउँका सञ्चार सम्पर्क विच्छेद रहेको र जिल्लाको पश्चिमी क्षेत्रका बाटाहरु अवरुद्ध रहेको उनले बताए ।

पानी थामिएपछि सर्लाही प्रशासन र स्थानीय तह पीडितहरुको तथ्यांक संकलन गर्न लागिपरेका छन् । प्रमुख जिल्ला अधिकारी राउतले वडा अध्यक्षहरुको नेतृत्वमा बाढीको लेखाजोखा थालिएको बताए ।

उनले भत्काइएका नदीहरुको बाँध निर्माणका लागि सिंचाइ डिभिजन कार्यालयसँग कुरा भइरहेको सुनाए ।

सिरहाका एक हजारभन्दा बढी विस्थापित

लगातारको बाढीले सिरहा पनि आक्रान्त बनेको छ । कमला नदीको बाँध बिभिन्न ठाउँमा भत्किँदा गाउँहरु डुबानमा परेका छन् । सिरहा नगरपालिका-१२ स्थित सारस्वर, वडा नं. ६ स्थित बसबिट्टा र कल्याणपुर-१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबान भएको छ ।

कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि प्रायः सबै सरकारी कार्यालय डुबानमा परे । लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार १ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिबिर बनाएर राखिएको छ ।

जिल्लामा ६० भन्दा बढी व्यक्तिको घर बाढीका कारण भत्किएको र थप तथ्यांक संकलनको काम जारी राखिएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment